+

औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

२०८१ वैशाख  २५ गते ११:३९ २०८१ वैशाख २५ गते ११:३९
औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ ।

यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह चिकित्सकले दिने गर्छन् । तर के औषधिबिना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

सामान्य अवस्थामा माथिको सिस्टोलिक ब्लड प्रेसर १२०  र तलको डायस्टोनिक ब्लडप्रेसर ८० हुनुपर्छ । तर माथिको प्रेसर १३० वा १४० र तलको प्रेसर ९० पुगेको छ भने त्यो प्रेसर बढेको भयो । यस्तो अवस्थामा उच्च रक्तचापले कुनै अंगलाई असर गरेको छ कि छैन भनेर हेरिन्छ । मुख्यतया मुटु, मिर्गौला र आँखामा असर गरेको छ कि छैन भनेर हेरिन्छ ।

उच्च रक्तचापले कुनै अंगलाई असर गरेको छैन र खराब जीवनशैली तथा मोटोपनको कारण समस्या देखा परेको छ भने औषधिबिना पनि नियन्त्रण गर्न सकिन्छ ।

षधिबिना पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ

सबैभन्दा पहिले त प्रेसर बढ्नुको कारण पत्ता लगाएर त्यसको उपचार गरेपछि यो नियन्त्रण हुनसक्छ । जस्तो मोटोपनको कारण रक्तचाप बढेको छ भने त्यसलाई नियन्त्रण गर्नुपर्‍यो । कुनै पेन किलर वा अन्य औषधिको कारण प्रेसर बढेको हो भने त्यसलाई परिवर्तन गरेर प्रेसर नियन्त्रण गर्न सकिन्छ ।

कसैलाई घुर्ने समस्याका कारण प्रेसर बढेको छ भने त्यसको उपचार गर्नुपर्‍यो । तनावले प्रेसर बढेको हो भने तनावलाई नियन्त्रण गर्नुपर्छ । कुनै महिलालाई पीसीओडीको कारण रक्तचाप बढेको हो भने त्यसको उपचार गरेर पनि नियन्त्रण हुनसक्छ ।

यदि उच्च रक्तचापका कारण मुटु, मिर्गौला, आँखा लगायत अंगहरुमा असर पुगेको छ र माथिको प्रेसर १५० वा १६० भन्दा माथि छ, तलको १०० भन्दा माथि छ भने त्यस्तो अवस्थामा भने औषधिबिना नियन्त्रण नहुन पनि सक्छ । यस्तो अवस्थामा औषधि खानैपर्छ ।

प्राकृतिक तरिकाबाट नियन्त्रणमा राख्न सकिन्छ उच्च रक्तचाप

उच्च रक्तचापको औषधि सेवन गरिरहेका व्यक्तिको केही कुरामा ध्यान दिएर प्रेसरलाई नियन्त्रणमा राख्ने र औषधिको डोज कम गर्न र छोड्न पनि सक्छन् ।

रक्तचाप नियन्त्रणमा राख्न आफ्नो तौललाई नियन्त्रणमा राख्नुपर्छ । जति जति तौल बढ्छ, उत्ति नै मुटुलाई रगत पम्प गर्न गाह्रो हुन्छ । यसको सोझो नतिजा रक्तचापको रुपमा देखापर्छ । आफ्नो उचाईअनुसार सही तौल हुनुपर्छ । त्यस्तोमा केही मात्रामा प्रेसर बढ्दैमा प्रेसरको औषधि सुरु गरिहाल्नुपर्दैन ।

रक्तचाप नियन्त्रण गर्न खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जंकफुड, फास्टफुडको सेवन कम गर्नुपर्छ । धेरै गुलियो खानाबाट बच्नुपर्छ र खानामा नुनको मात्रा कम हुनुपर्छ । घरमै बनाइएको स्वस्थकर खानेकुरा खानुपर्छ । खानामा सम्पूर्ण अन्न, फलफूल, सागसब्जी, कम बोसोयुक्त दुग्धजन्य पदार्थ, मासु, माछा र नट समावेश गर्नुपर्छ ।

हरेक दिन आधादेखि एक घण्टासम्म व्यायामले उच्च रक्तचाप कम गर्न मद्दत गर्छ । शारीरिक गतिविधि मुटुको स्वास्थ्यका लागि राम्रो मानिन्छ । व्यायामले समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याएर गम्भीर रोगको जोखिम कम गर्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्न रक्सी र चुरोटको सेवन पनि गर्नु हुँदैन । चुरोटले उच्च रक्तचापबाट पीडित व्यक्तिमा हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ ।  धुम्रपान र मद्यपान त्याग्दा रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।

समय-समयमा रक्तचाप जाँच गर्नु पनि धेरै महत्त्वपूर्ण छ । यसले औषधि र जीवनशैली परिवर्तनले सही प्रभाव पारिरहेको छ कि छैन भनी देखाउँछ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले छोड्न मिल्छ ?

उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुले जीवनभर औषधि खानैपर्छ ? भन्ने प्रश्न धेरैको मनमा हुन्छ । यदि उच्च रक्तचापको कारण मुटु, मिर्गौला र आँखा लगायतका अंगमा असर गरेको छैन, औषधि सेवन गरिरहँदा प्रेसर माथि १२० र तल ८० भन्दा कम भइरहेको छ भने बिस्तारै औषधिको डोज कम गर्दै चिकित्सकको निगरानीमा औषधि छोड्न पनि सकिन्छ ।

औषधि छोडपछि पनि बेलाबेलामा प्रेसर जाँच गर्नुपर्छ र चिकित्सकको निगरानीमा बस्नुपर्छ । औषधि बन्द गरेर चिकित्सकको निगरानीमा नबस्दा समस्या फेरि बढ्न सक्छ ।

डा. अभिषेक ठाकुर
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

गर्भावस्थामा योनीस्राव भयो, कारण के होला ?

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

७ सर्वोत्तम पेय, जुन घरमै बनाउन सकिन्छ

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

मुटुलाई स्वस्थ राख्ने अनस्याचुरेटेड फ्याट कुन खानेकुराबाट पाइन्छ ?

मुटु कसरी स्वस्थ राख्‍ने ?

मुटु कसरी स्वस्थ राख्‍ने ?

गाईबाट पनि मानिसमा बर्ड फ्लु सर्छ ?

गाईबाट पनि मानिसमा बर्ड फ्लु सर्छ ?