+

उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ ? (भिडियो)

२०८० चैत  ३ गते ७:३० २०८० चैत ३ गते ७:३०
उच्च रक्तचापको औषधि नखाँदा के हुन्छ ? (भिडियो)

उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ । रक्तचाप नियन्त्रण नहुँदा यसले शरीरको अन्य अंगलाई असर गर्न थाल्छ । त्यसैले उच्च रक्तचाप पुष्टि भएपछि चिकित्सकको सल्लाहमा औषधि खान सुरु गर्नुपर्छ ।

तर आम बुझाइ के छ भने उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ । यही कारण उनीहरू हत्तपत्त औषधि सुरु गर्न नै चाहँदैनन् । औषधिले विभिन्न साइड-इफेक्ट हुन्छ भनेर पनि मान्छेहरू औषधि खान डराउँछन् ।

उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई औषधि किन दिइएको हो भन्ने कुरा जान्न जरुरी छ । उच्च रक्तचाप भन्नाले शरीरलाई चाहिने रक्तचापभन्दा बढी रक्तचाप लामो समयसम्म भइरह्यो भने त्यसलाई नियन्त्रणमा ल्याएर शरीरलाई चाहिने जति मात्र रक्तचाप कायम राख्न औषधि खानुपर्छ ।

उच्च रक्तचापको औषधिले नै रक्तचापलाई नियन्त्रणमा राख्ने भएकाले औषधि निरन्तर खाइरहनुपर्छ, झट्ट छोड्न मिल्दैन । उच्च रक्तचापको औषधि बाँचुन्जेलको लागि भन्दा पनि बच्नलाई खाने हो भनेर बुझ्नुपर्छ ।

कुनै अवस्थामा भने औषधि छोड्न पनि मिल्छ । अन्य स्वास्थ्य समस्याको कारण पनि रक्तचाप बढेको हुन सक्छ । जस्तो कसैको रक्तचाप बढ्नुको कारण मिर्गौलाको समस्या हो भने त्यसको उपचार गरेपछि रक्तचाप नियन्त्रण भएर औषधि छोड्न मिल्दैन ।

कसैमा रक्तनली साँघुरिएर रक्तचाप बढेको छ भने साँघुरिएको नलीलाई खोलेपछि रक्तचाप नियन्त्रण भएर औषधि छोड्न मिल्छ । कुनै औषधिको सेवन गरिरहँदा रक्तचाप बढेको छ भने त्यस्तो औषधिलाई बन्द गरियो भने रक्तचापको औषधि नचाहिन सक्छ ।

औषधिको साइडइफेक्ट हेरेर खान छोड्दा समस्या हुनसक्छ

रक्तचाप नियन्त्रणमा नहुँदा शरीरका प्रमुख अंगहरु जस्तो मुटु, मिर्गौला, मस्तिष्क, आँखा, रक्तनलीमा  आदिमा असर गर्ने भएकाले रक्तचापलाई नियन्त्रणमा राख्न औषधि खानुपर्छ । यदि औषधिको सामान्य साइड-इफेक्ट हेरेर नखाने हो भने यसले मुटु, मस्तिष्कलाई पुर्‍याउने क्षति अझ भयानक हुन्छ । त्यसैले औषधि खानु भन्दा नखानुको साइड-इफेक्ट धेरै छ ।

उच्च रक्तचापको औषधिका केही सामान्य साइड-इफेक्टहरु छन् । तैपनि यस्तो केही प्रतिशत मानिसलाई मात्र हुने हो । साधारण सुक्खा खोकी लाग्ने, खुट्टा अलिअलि सुन्निने लगायत समस्या भने देखिन सक्छन् । तर उच्च रक्तचापको कारण हुने जति पनि नराम्रा असर छन्, त्यसको तुलनामा औषधिको साइड-इफेक्ट न्यून हो । र, औषधिको यी सामान्य साइड-इफेक्टलाई पनि चिकित्सकको सल्लाह लिएर व्यवस्थापन पनि गर्न सकिन्छ ।

रक्तचाप नियन्त्रणमा नहुँदा मृत्युको समेत जोखिम

रक्तचाप नियन्त्रण भएन भने मुख्यतया पाँच अंग मुटु, मिर्गौला, मस्तिष्क, आँखा र रक्तनलीलाई असर गर्छ । उच्च रक्तचाप भएका र नियन्त्रण नभएका व्यक्तिमा हृदयघात, मस्तिष्कघात, मिर्गौला बिग्रिने र आँखामा क्षति हुने सम्भावना अत्यधिक हुन्छ ।

औषधि सुरु गर्नुपर्ने अवस्था

माथिल्लो सिस्टोलिक रक्तचाप ९० देखि १२० भित्र र तल्लो डाएस्टोलिक रक्तचाप ६०-८० लाई सामान्य मानिन्छ । कसैमा सिस्टोलिक १२० भन्दा माथि भयो र डाएस्टोलिक पनि ८० भन्दा माथि भयो । तर माथिल्लो १४० भन्दा माथि पुगेको छैन, तल्लो पनि ९० भन्दा माथि गएको छैन भने औषधि खानु पर्दैन । जीवनशैली र खानपानमा सुधार ल्याएर नियन्त्रण गर्न सकिन्छ । तर सामान्यतया रक्तचाप माथिल्लो १४० भन्दा माथि  र तल्लो ९० भन्दा पुग्यो भने औषधि खानुपर्ने हुन्छ ।

उच्च रक्तचापको औषधि खाइरहेकाले ध्यान दिनुपर्ने कुरा

रक्तचापको औषधि सेवन गरिरहेको व्यक्तिले सबैभन्दा महत्त्वपूर्ण कुरा त समय-समयमा रक्तचाप जँचाइरहनुपर्छ । जीवनशैलीमा पनि ध्यान दिनुपर्‍यो । नियमित व्यायाम गर्ने, बढेको तौललाई नियन्त्रण गर्ने, धुम्रपान त्याग्नुपर्छ ।

औषधिको केही साइड-इफेक्ट भयो भने औषधि पनि फेर्नुपर्ने हुनसक्छ । औषधिको साइड-इफेक्टले पनि औषधि सेवन नगर्दा जस्तै समस्या देखिन सक्छ । त्यसैले मुटु र मिर्गौलामा असर परेको छ कि छैन भनेर जँचाइराख्नुपर्छ । सबैभन्दा धेरै त चिन्ता कम गर्नुपर्छ । यस्तो गर्दा कहिलेकाहीं औषधिको मात्रा घटाउन पनि सकिन्छ ।

प्रेसर नाप्ने सही तरिका

कुनै काम गरेर,  हिंडेर, दौडेर आउने बित्तिकै रक्तचाप नाप्नु हुँदैन । १० मिनेट आराम गरेर मात्र नाप्नुपर्छ । प्रेसर नाप्न बस्दा खुट्टा झुण्ड्याएर बस्नु हुँदैन, भुईंमा टेकेको हुनुपर्छ । यसरी नाप्दा नतिजा सही आउँछ ।

एकदमै पिसाब लागेको बेला, चिया कफी खाने बित्तिकै, चुरोट खाने बित्तिकै र धेरै चिन्ता तनाव भएको बेला प्रेसर नाप्दा पनि सही नतिजा आउँदैन । चिन्तामुक्त भएको बेला नाप्नुपर्छ ।

बाक्लो कपडा लगाएर भन्दा पातलो कपडा लगाएर प्रेसर नाप्नुपर्छ । प्रेसर नाप्ने डिजिटल यन्त्रले पनि राम्ररी नै प्रेसर नाप्छ । तर नाप्दा आत्तिने, हात चलाउने गरियो भने सही नतिजा नआउन सक्छ ।

तस्वीर, भिडियो : आर्यन धिमाल/अनलाइनखबर

उच्च रक्तचाप प्रा. डा. राजेन्द्र कोजु स्वास्थ्य
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय