+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नारायणगढ-बुटवल सडक कालोपत्र गर्न ‘हटमिक्स प्लान्ट’ जडान

रासस रासस
२०८१ वैशाख २५ गते १३:५१

२५ वैशाख, नवलपरासी । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ ।

सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो ।

कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ-बुटवल सडकको कालोपत्र गर्ने काम चाँडो सम्पन्न गर्न प्रतिघण्टा चार सय मेट्रिक टन क्षमताको ‘हटमिक्स प्लान्ट’ जडान गरिएको बताए ।

प्लान्टमा बालुवा, ढुङ्गा, गिट्टी र अलकत्र हालेपछि मेसिनले आफैँ अलकत्रलाई पगालेर अस्फाल्ट (कालोपत्र गर्ने तयारी कच्चा पदार्थ) बनाएर पठाउने उनले बताए ।

यस प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको खण्डमा जडित क्षमताको ८० प्रतिशतसम्म कार्य क्षमता हुने भन्दै उनले दैनिक दुई किलोमिटरसम्म कालोपत्र गर्न सकिने बताए ।

प्लान्ट कावासोती-१६ स्थित सुक्खा खोलाको किनारमा जडान गरिएको छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक तीन/चार स्थानमा कालोपत्र गर्न सक्ने अवस्था रहेको झाको भनाइ छ ।

‘अहिले सडकमा सब बेस र बेस तयार भएको ठाउँमा कालोपत्र गरिरहेका छौँ’, उनले भने, ‘विभिन्न कारणले गर्दा हाम्रो हटमिक्स प्लान्ट पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।’

दैनिक आठ घण्टामात्र प्लान्ट सञ्चालन हुने हो भने पनि १० दशमलव ५० मिटर चौडाइ र ६० मिलिमिटर मोटाइमा दैनिक दुई किलोमिटर कालोपत्रको कार्य सजिलै गर्न सकिने उनले बताए ।

नारायणगढ-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले यस सडक विस्तारका लागि जडान गरिएको प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउन नसक्दा आयोजनालाई केही फाइदा नभएको बताए ।

‘सडक विस्तारका लागि आवश्यक पर्ने जनशक्ति तथा उपकरण पनि न्यून परिचालन भएको छ’, उनले भने, ‘यो लामो दिनमा पनि दैनिक ८/९ घण्टाभन्दा बढी काम हुन सकेको छैन, जसले गर्दा काममा ढिलाइ भएको छ ।’

बाटो सम्याउने ग्रेडर आवश्यकताभन्दा आधा कम भएको भन्दै उनले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रको काम ढिला हुने बताए ।

‘प्लान्टलाई पूर्ण क्षमतामा चलाउन सकेको खण्डमा प्रतिघण्टा करिब १६ वटा गाडीमा अस्फाल्ट भरेर कालोपत्र गर्ने ठाउँमा पठाउँदै कामलाई तीव्रता दिन सकिन्थ्यो’, उनले भने, ‘निर्माण कम्पनीलाई जनशक्ति र उपकरण बढाउन पत्राचार गर्दा पैसाको अभाव भएको सुनाउँछ ।’

निर्माण कम्पनीले एक प्रतिशत काम गरेपछि भुक्तानी पाउने गरी सम्झौता भएको र सोही अनुसार भुक्तानी भइरहेको खनालले बताए ।

‘यो पूर्वीखण्डको ठेक्का रकम रु नौ अर्ब ३८ करोड रहेको छ, यसको एक प्रतिशत काम भएपछि निर्माण कम्पनीले भुक्तानी दाबी गर्ने र योजनाले भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएको छ’, उनले भने, ‘निर्माण कम्पनीले यहाँबाट पाएको पैसाले त्रै काम गरिरहेको छ, उसले थप पैसा लगानी गरेर काम गर्ने चासो नदेखाउँदा काममा ढिलासुस्ती भएको हो ।’

निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्नेगरी विसं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेर काम सुरु गरेको थियो ।

दुई पटकसम्म म्याद थप भइसकेको योजनाको हालसम्म भौतिक प्रगति ५० दशमलव ६२ प्रतिशत मात्रै पुगेको इन्जिनियर खनालले बताए ।

दोस्रो पटक थप भएको म्याद आगामी साउन ८ गते सकिने यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ३७ किलोमिटर कालोपत्र, २१ साना पुल निर्माण, एक सय ६३ कल्भर्ट निर्माण भएको तथा आठ ठूला पुलको निर्माण अन्तिम चरणमा रहेको खनालले बताए ।

विस्तार सुरु भएको पाँच वर्ष नाघ्दासमेत आधा मात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीय र यात्रुहरुले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्र नभएको ठाउँमा उड्ने धुलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?