+
+

चुनाव जितें भने बलिउड छाड्छु : कंगना रनौत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १६:५३

काठमाडौं । बलिउड क्वीन कंगना रनौत यतिबेला सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)बाट लोकसभाको चुनाव लडिरहेकी छन् । उनलाई हिमाञ्चलको मन्डी निर्वाचन क्षेत्रबाट टिकट मिलेको छ ।

आफूले जित्ने आशा उनको छ । सामाजिक सञ्जालका फोटो र भिडियो हेर्दा उनको चुनावी व्यस्तता तीव्र देखिन्छ । यही मेसोमा उनले आफ्नो फिल्मी करिअरलाई लिएर केही अर्थपूर्ण अभिव्यक्ति दिएकी छिन् ।

आफूले लोकसभाको चुनाव जिते फिल्म करिअरको अन्त्य गर्नेतर्फ उनको इशारा छ । किनभने उनी एउटै क्षेत्रमा केन्द्रित हुन चाहिन्छन् । तपाईं फिल्म वा राजनीति कुन क्षेत्रमा बढी केन्द्रित हुन चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो ।

यसबारे कंगनाले भनिन्, ‘मैले फिल्ममा अभिनय र निर्देशन दुवै गर्छु । यदि मैले राजनीतिमै सम्भावना देखें भने र मानिस मसँग जोडिए भने अवश्य पनि राजनीति नै गर्छु । निश्चय नै म एउटा काममा फोकस हुन चाहन्छु ।’

‘यदि जनतालाई मेरो आवश्यकता छ भन्ने लाग्छ भने म त्यसतर्फ लाग्नेछु । मण्डीबाट जितें भने राजनीति मात्र गर्छु । धेरै फिल्मकर्मीले मलाई राजनीतिमा नजानु भन्छन् । जनताको अपेक्षा पूरा गर्नैपर्छ,’ उनले भनिन्, ‘मेरो व्यक्तिगत महत्वाकांक्षाका कारण मानिसलाई पीडा भइरहेको छ भने त्यो राम्रो होइन । मैले एउटा सम्पन्न जीवन जिएँ । यदि अब मलाई जनतासँग जोडिने मौका मिल्यो भने लाग्छ कि सबैभन्दा पहिले जनताले तपाईंबाट गरेको अपेक्षालाई न्याय गर्नुपर्छ ।’

उनले फिल्मभन्दा राजनीतिक जीवन एकदमै भिन्न हुने बताइन् । के अब यो कुरा सही हुन गइरहेको छ ? उनी भन्छिन्, ‘राजनीति झुटको दुनियाँ हो । त्यहाँ एक अलग वातावरण बनाइन्छ । मान्छेलाई आकर्षित गर्न भ्रमित वातावरण बनाइन्छ । तर राजनीति एक वास्तविकता हो । जनताको अपेक्षा पूरा हुनैपर्छ । म जनताको सेवामा छु । धेरै नयाँ कुरा सिक्न बाँकी छ ।’

कामको कुरा गर्दा कंगनाले क्वीन, थलाइवा, तनु वेड्स मनु, फेसन, मणिकर्णिका, ग्याङ्स्टर जस्ता फिल्ममा आफ्नो दमदार अभिनयमार्फत दर्शकको मन जितेकी छन् । उनको आगामी फिल्म ‘इमर्जेन्सी’ हो, जसमा उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका गरेकी छन् । यो फिल्म यसै वर्षको जुन १४ मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?