+
+

कोशीमा एमालेले भन्यो : मुख्यमन्त्री कामचलाउ भइसके, प्रदेश प्रमुखले आजै सरकार गठन आह्वान गर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १५:२२
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी ।

२६ वैशाख, विराटनगर । नेकपा एमालेले कोशीका मुख्यमन्त्री केदार कार्की मंगलबार रातिदेखि पदमुक्त भएर हाल कामचलाउ अवस्थामा रहेको दाबी गरेको छ ।

मुख्यमन्त्री कार्कीले २५ वैशाखभित्र विश्वासको मत लिनुपर्नेमा नलिएका कारण २५ वैशाखको राति १२ बजे स्वतः पदमुक्त भएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

‘उहाँ अल्पमतमा परेको कुरा त गएको वैशाख ७ गते प्रदेशसभाको अधिवेशनमा संकल्प प्रस्तावको पक्ष र विपक्षमा भएको मतदानबाट उहाँकै अगाडि प्रमाणित भइसकेको छ । संसदीय प्रणालीमा नेपालको संविधान र सर्वोच्च अदालतको व्याख्या अनुसार उहाँ गएराति १२ बजेदेखि पदमुक्त हुनुभयो । उहाँ कामचलाउ मुख्यमन्त्री हुनुहुन्छ’, उनले पत्रकारहरुसँग भने ।

अहिले कोशीमा सरकार रिक्तताको अवस्था रहेको भन्दै भण्डारीले प्रदेश प्रमुख परशुराम खापुङले आजै नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने बताए । ‘उहाँले समय सीमा तोकेर संविधानको कुन धारा टेकेर नयाँ सरकार गठन आह्वान गर्ने हो, गर्नुपर्छ’ उनले भने ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकारको मुख्यमन्त्री दाबी गर्न वा १६८ (५) अनुसार प्रदेशसभामा बहुमत पुर्‍याउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दाबी गर्न आह्वान गर्नुपर्ने भण्डारीले बताए ।

प्रदेश प्रमुखले सरकार गठनको आह्वान नगर्ने हो भने अहिलेकै सरकार ठीक छ भनेर भन्नुपर्ने उनले बताए ।

‘आज प्रदेश प्रमुखज्यूले म सरकार गठनको अर्को प्रक्रियामा जान्न, यही सरकार ठीक छ भन्नुपर्‍यो, होइन भने सूचना निकाल्नुपर्छ’, उनले भने ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले २६ चैतमा मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । सत्ता साझेदारले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै एमाले र माओवादीले मुख्यमन्त्री कार्की मंगलबार राति १२ बजेदेखि पदमुक्त भएको दाबी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?