+
+

‘लण्डन टु पेरिस’को टिजर : रोमान्स, नोकझोक र ब्रेकअपको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:३८

काठमाडौं । साम्राज्ञी शाह स्टारर ब्रेकअप फिल्म ‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक भएको छ । २ मिनेट लामो टिजर फ्रान्सको प्रसिद्ध आइफिल टावरदेखि सुरु हुन्छ । त्यसपछि कथावस्तु अघि बढ्छ ।

प्रेमको प्रतीक मानिने आइफिल टावरलाई सुरुमै देखाउनुको पनि यसको अर्थ छ । टिजर हेर्दा लाग्छ, यो फिल्म एक ट्राभल-रोमान्टिक ड्रामा हो जसको नियति ब्रेकअपमा पुगेर टुंगिन्छ ।

लण्डनबाट घुम्दै पेरिस पुगेका दुई युवायुवतीको रोमान्स, नोकझोक र विछोडको कथा यसमा समेटिएको छ । टिजरको केन्द्रमा साम्राज्ञीसहित डेब्यु एक्टर निश्चल खड्का फिचर्ड छन् । फिल्मको कथा यी दुईको सम्बन्ध वरपर फन्को मार्छ ।

टिजरका अनुसार साम्राज्ञीको पात्र सम्बन्धमा गम्भीर छ । निश्चलको पात्र प्रेमलाई हल्का रुपमा लिन्छ । सम्बन्धको आधारभूत दृष्टिकोणमै भिन्नता आएपछि कथावस्तुअघि बढ्छ । के उक्त युवकले गुमिसकेको प्रेमलाई फिर्ता पाउला ? यो केन्द्रीय द्वन्द्वमा निर्देशक घनश्याम लामिछानेले कथा भन्ने प्रयास गरेका छन् ।

गरिमा शर्मा, कविर खड्का लगायतका सहायक कलाकार पनि यसमा छन् । विदेशमा छायांकन गरिएकाले यसमा आकर्षक लोकेसन कैद छन् । शीर्षकले नै दर्शाउँछ– यो फिल्म लण्डनदेखि पेरिससम्मको यात्राको कथामा आधारित छ । टिजर हेर्दा पनि त्यो देखिन्छ ।

‘धौली’ डेब्यु निर्देशकको यो चौंथो निर्देशकीय प्रोजेक्ट हो । यसअघि उनले पञ्चेबाजा र चित्राजस्ता सामाजिक यथार्थवादी फिल्म निर्देशन गरेका छन् । ‘अग्निदहन’ उनको आगामी फिल्म हो जसले महिला हिंसाको कथा भन्छ । ‘लण्डन टु पेरिस’ लामिछानेको निर्देशकीय क्राफ्टको हिसाबले भिन्न फिल्म हो ।

गौतम प्रोडक्सन र अर्किड भेस फिल्म्स प्रालिसँगको सहकार्यमा यो फिल्मलाई एबी इन्टरनेसनलले निर्माण गरेको हो । कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।

सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् ।

यो फिल्म जेठ २५ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?