+
+
खुलापत्र :

गृहमन्त्रीज्‍यू, यो राजनीतिक धोका भएन र ?

रास्वपा किन सरकारमा जान्छ किन बाहिरिन्छ तपाइँले जनतालाई भन्न आवश्यक ठान्नुहुन्न। यो पुराना राजनीतिक दलले गरेको निम्छरो शासकीय अभ्यासको निरन्तरता हो।

भरत हमाल भरत हमाल
२०८१ वैशाख २८ गते १५:१७

माननीय गृहमन्त्रीज्यू,

इलाममा भएको उपनिर्वाचन पश्चात् यहाँ र यहाँको दललाई बधाई दिएर केही लेख्न मन थियो। तर नयाँ राजनीतिक दलका लागि दु:खद् कुरा त्यहाँ जमानत जफत सहित पराजय हुनपर्‍यो। दैनिकजसो यहाँलाई सोध्न पर्ने विषय थपिंदै गएका छन्। लोकतान्त्रिक व्यवस्थालाई भद्दा मजाक बनाउने पछिल्लो पटक दुइटा घटना भए।

एक, महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरी यहाँलाई दिएको पत्र। अर्को, राजनीतिक दल विभाजनको उथलपुथलपूर्ण छलफलमा यहाँको बलियो उपस्थिति। नवीन राजनीतिक अभ्यास गर्छु भन्ने यहाँले यस्ता सत्ता दुरुपयोगका घटनालाई निकृष्ट शासकीय क्रियाकलाप भनी बलियो प्रतिवाद गर्नुपर्थ्यो।

उसो त यहाँका शासकीय क्रियाकलापले रवीन्द्र मिश्र जस्तै नयाँ राजनीतिक चेतना, आशा, अभियान र समूहलाई सिध्याउन खडा भएको एक पात्र हो कि भन्ने कुरामा जनता सशंकित भएका छन्।

यस पत्रमा उल्लेख गरिएका कुरालाई यहाँका समर्थकहरूले विकास र सुशासन विरुद्धको आवाज मान्न सक्छन्। यो पुरानो संसदीय राजनीतिको एक अभ्यस्त आरोप पनि हो। अचम्म त के छ भने पुराना राजनीतिक दलका कार्यकर्तालाई समेत माथ दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता छद्म भेषमा असहिष्णु र अराजनीतिक छन्। यसको मूल्य रास्वपाले समयसँगै चुकाउने नै छ।

यहाँले पत्रकारिताबाट राजनीतिक यात्रा सुरु गरेपछि जनता, स्वतन्त्र बौद्धिक तप्का र युवा पंक्ति आशावादी थियो। नेताहरूले राजनीतिलाई दलाली, कमाउ पेशा बनाइरहेको जनताले अनुभव सहित बुझेका थिए। विदेशिएर दुःख पाएकाहरूलाई सहजीकरण गर्न यहाँले गर्नुभएको टेलिभिजन रिपोर्टिङबाट लोभलाग्दो लोकप्रियता निर्माण भयो। यसले सार्वजनिक पदाधिकारी र अपराधीलाई त्रसित बनायो र जनतालाई भरोसाको केन्द्र। पत्रकारिताबाट आर्जन गरेको सामाजिक पूँजी र अस्तित्वमा रहेका दलको क्रियाकलापबाट पीडित भएका जनताले यहाँलाई नेता बनाए।

माननीय गृहमन्त्रीको व्यक्तिगत जीवन नैतिकताको कसीबाट मतदाताले नियाल्न चाहेनन्। जनताले दुई-दुई पटक निर्वाचित गरी कसैको व्यक्तिगत जीवनले उसको देश बनाउँछु भन्ने सार्वजनिक उद्घोषलाई अस्वीकृत गर्नुहुँदैन भनेर अनुमोदन गरिदिए। यत्रो सहकारी काण्ड जस्तो भीमकाय भारको राजनीतिक र कानुनी प्रश्न समेत झेलिदिन सक्ने यहाँले व्यक्तिगत नैतिकताको विषयलाई व्यक्तिगत आक्षेपको रूपमा बुझ्नु सामान्य कुरा नै भयो। म यस पत्रमा यहाँको बिर्सनलायक व्यक्तिगत जीवनमा प्रवेश गर्दिनँ।

यहाँले चुनावताका भनेको नो नट अगेन र अहिले गरेको सत्तालिप्साको राजनीतिले यहाँ द्वैध राजनीतिक चरित्रलाई उदाङ्गो बनाइदिएको छ।

यहाँलाई पछ्याउने एउटा समूह जबर्जस्त छ। यो समूहले यहाँलाई प्रश्न सोध्नेलाई गुरिल्ला मोडेलमा खेद्छ। विगतमा प्रचण्डको समेत यो स्तरको देवत्वकरण हुने गर्थेन। अब यहाँले सोच्नोस् त लोकतन्त्रमा विश्वास गर्ने रास्वपा र यसको सभापतिको यसप्रकारले हुने देवत्वकरण शोभनीय हो?

‘रास्वपा नै रवि लामिछाने हो’ भन्ने गरी यहाँको सत्ता आगमन र बहिर्गमनको सिलसिला सुरु भएको छ। यसरी रास्वपा किन सरकारमा जान्छ किन बाहिरिन्छ तपाइँले जनतालाई भन्न आवश्यक ठान्नुहुन्न। यो पुराना राजनीतिक दलले गरेको निम्छरो शासकीय अभ्यासको निरन्तरता हो।

यहाँ संविधानले संकल्प गरे बमोजिम सुशासन, विकास र समृद्धि प्राप्त गर्न या आफ्ना आपराधिक कर्मबाट बच्न सरकारमा सहभागी भएको भन्ने कुरामा जनताले खरो प्रश्न गरिरहेका छन्। यहाँ प्रश्नबाट भागिरहनु मात्र भएको छैन– स्वतन्त्र नागरिक, मिडिया र प्रतिपक्ष जसले प्रश्न गर्छन् उनीहरूलाई गम्भीर आक्रमण गरिरहनुभएको छ।

यति छोटो समयमा जो आए पनि यस्तै हो भन्ने राजनीतिक भाष्य निर्माणमा यहाँले जुन योगदान दिंदै हुनुहुन्छ, यसका लागि यहाँप्रति पुराना राजनीतिक दल र तिनका नेता अनुगृहीत भएकै होलान्। यसै सन्दर्भमा अहिले भैरहेको यहाँको सामयिक राजनीतिक गतिविधिलाई केन्द्रविन्दुमा राखी केही सार्वजनिक सवाल गर्दैछु। यहाँ र यहाँका कार्यकर्ताले यहाँ उठाइएका सवाललाई सार्वजनिक विषयका रूपमा नै बुझ्ने कुरामा विश्वास लिन्छु।

एउटा सामान्य जनताको बुझाइबाट कुराको सुरुवात गरौं:

सुन तस्करीमा नेपालको मिडिया, राजनीतिक दल, बुद्धिजीवी सबैले जमेर आफ्नो धारणा राखे। तत्कालीन प्रतिपक्षको सडक र संसद्को जुझारु आवाजले छानबिन समिति गठन भई अनुसन्धान भयो। यहाँले पनि यो कुरामा संलग्नलाई ठूलो माछाको संज्ञा दिनुभयो। यो कुरालाई साधारण मान्छेले केही बुझेन। सुन प्रकरणले म कहाँ प्रभावित भएँ भन्ने कुरा साधारण जनताले बुझेन। पीडित को थियो भन्ने मेसो नै पाएन। थोरै मान्छेले मात्र बुझे र आवाज उठाए सुन तस्करीले मुलुकको समग्र अर्थतन्त्रमा र मुलकुको प्रतिष्ठामा असर पार्छ। तसर्थ, यसको निष्पक्ष छानबिन हुनुपर्छ। त्यसै अनुसार छानबिन पनि भयो।

तर सहकारीमा जनताले आफूले कमाएको स-सानो रकम बचत गरे। समयसँगै त्यो बचत ठगी भएको थाहा भयो। जनता पीडित भए। कैयन्‌को पारिवारिक बिचल्ली भएको छ। यसमा जनता प्रत्यक्ष प्रताडित छन् र पीडक यिनीहरू हुन् भनेर जाहेरी दिएको अवस्था छ। त्यसमा एक पीडक माननीयज्यू समेत रहेको भनेर जाहेरी परेको छ। एउटा वाक्यमा भन्दा सहकारीको रकम अपचलनले प्रत्यक्ष रूपमा जनता पीडित भएका छन्।

त्यस्तै, सुन काण्ड जस्तै सहकारी काण्डले पनि मुलुकको अर्थतन्त्र र प्रतिष्ठामा असर पर्ने नै भयो। यसरी सुन काण्ड भन्दा सहकारी काण्ड कति गम्भीर हो भन्ने बुझ्न सकिन्छ। यो यहाँले नबुझ्ने कुरै भएन।

तर विडम्बना भनौं तपाइँ त सहकारी सम्बन्धमा छानबिनमा समेत सहमत हुनुभएन। यो छानबिन रवि लामिछानेका लागि मात्र नभएर समग्र पीडक पहिचानका लागि आवश्यक छ। सहकारीको दिगो मार्गनिर्देशनका लागि आवश्यक छ। भ्रष्टाचार काण्डमध्ये जनता प्रत्यक्ष पीडित भएको, रोएको एवं जनताको रगत–पसिना खेर गएको सबैभन्दा ठूलो काण्ड हो सहकारी काण्ड। सुशासन दिन्छौं भनेको रवि लामिछानेले यो कुरालाई कसरी नजरअन्दाज गर्न सक्नुभयो ?

नयाँ शासकीय अभ्यास गर्छौं भनेर निर्वाचित गरेका जनताका लागि योभन्दा ठूलो राजनीतिक धोका र पाखण्डपन अर्को के हुनसक्छ? बरु पुराना राजनीतिक दलका नेताले आरोप लागेसँगै निष्पक्ष छानबिनका लागि पद त्यागेर मार्गप्रशस्त गरिदिएका कैयन् उदाहरण छन् । तपाइँ त प्रत्यक्ष रूपमा जनता पीडित भएको काण्डमा समेत छानबिन मात्र गर्न तयार हुनुभएन। यसबाट जनताले रवि लामिछानेलाई कसरी बुझ्ने ? तपाईं अझै पनि दाबी गर्न सक्नुहुन्छ नेपाली जनतालाई विकास र सुशासन दिन्छौं भनेर?

प्रश्न सोधेर नै लोकप्रिय भएको यहाँलाई स्वतन्त्र व्यक्ति, मिडिया र प्रतिपक्षले सोधेका प्रश्नहरू किन ‘प्रिन्सिपल अफ क्रिएटिङ कन्फ्लिक्ट अफ इन्टरेस्ट’ लाग्छन्? अब हामीले सोध्न मिल्छ नि यहाँको जीवनको लामो समय लोकतन्त्र, सामाजिक न्याय र सुशासनका लागि भनेर गरेका प्रश्नलाई स्तरहीन राजनीतिको उपज हुन् कि होइनन् भनेर?

तपाइँका एक जना विद्वान् उपसभापति संसद्‌मै भन्नुहुन्छ, ‘आरोप लाग्यो, जाहेरी पर्‍यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजिर हामीले स्थापना गर्न तयार हो ?’ हेर्नोस् त कति लज्जास्पद भनाइ। यसमा तपाइँ किन भन्न सक्नुहुन्न कि संघीय संसद्मा कुनै पनि राजनीतिक दलले संस्थागत रूपमा छानबिनको माग गर्छ भने हजारौं विषयमा पनि हामी छानबिन समिति गठन गर्न तयार हुनुपर्छ।

भ्रष्टाचार र अपराधका लागि मिलेमतोको राजनीति विरुद्धमा हामी स्थापित भएका हौं। तसर्थ हामीलाई जतिसुकै विषयमा छानबिन गर्न कुनै गाह्रो छैन। यसरी अराजनीतिक कुरा गर्नु थियो भने पुराना राजनीतिक दल छँदैछन्। अब उप्रान्त यस किसिमको राजनीतिको भ्रष्टीकरण गर्ने गरी राजनीतिक प्रतिक्रिया नदिनुहोला भनी यहाँले निर्देशन गर्न सभापतिका हैसियतले मिल्छ कि मिल्दैन सभापतिज्यू?

यस्तै, अर्का उपसभापति एवं नेपाल सरकारका मन्त्री धम्कीपूर्ण शैलीमा भन्छन्, ‘रास्वपाका नेताहरूलाई सहकारी ठगीको आरोप लगाउनेहरूलाई उनीहरूको अनियमितता खोज्न बाध्य नबनाइयोस्।’ यस्तो लज्जास्पद राजनीतिक दृश्य देख्न नेपाली जनताले यहाँहरूलाई सरकारमा पुर्‍याएका हुन् ? तपाईं गृहमन्त्री हुनुहुन्छ। तपाइँका उपसभापतिले खोज्ने भनेको अनियमितता कसको बारेमा हो? र केसँग सम्बन्धित हो? अनि तपाईं दुईपटक गृहमन्त्री भइसक्नुभयो। त्यो प्रकारको अनियमितता नखोजेर कुन पक्षलाई रिझाउन खोजिएको हो?

उनै उपसभापति थप भन्नुहुन्छ, ‘हाम्रा साथीहरूले त्यसै खोज्छन्, तपाईंहरू कुन कुन सहकारीमा हुनुहुन्छ, कुनकुन सहकारितामा अनियमितता गर्नुभयो, कुनकुन सहकारीको पैसा निकालेर जग्गा, गाडी किन्नुभयो, चुनाव जित्नुभयो, त्यो विषयमा हेर्न नपरोस्।’

माननीयज्यूलाई यो भनाइ पढ्दै गर्दा आक्रोश उत्पन्न हुँदैन? यहाँलाई सहकारीको पैसा अपचलन गरी चुनाव जित्ने मानिस को हो भनेर अनुसन्धान गर्न कसले रोकेको छ? यो लोकतन्त्रप्रतिकै मजाक हैन। आर्थिक र राजनीतिक अपराध हैन र यो? तपाइँको उपसभापतिसँगै त्यसको प्रमाण भएको उहाँको भनाइबाट स्पष्ट बुझिन्छ। उसो भए तपाईं आफैं गृहमन्त्री हुनुहुन्छ। ती अपराधीलाई कानुनी दायरामा ल्याउन कसले रोकेको छ?

संवैधानिक नियुक्तिका सम्बन्धमा यहाँले त्यो बेलाको सरकार र त्यसको नेतृत्व केपी शर्मा ओलीको कर्मलाई ओलीतन्त्र र छापामार शासन शैली जस्तो कडा प्रतिक्रिया दिनुभएको थियो। अब त्यसको जवाफ राजनीतिमा आएपछि खोज्नु नपर्ने हो? कि तपाईं पनि ‌ओलीतन्त्र र छापामार शासन शैलीको एक पात्र बन्नुभएको हो?

यो प्रकारको मिलेमतोमा पुराना दलबाट भएकै थियो। यहाँको अस्तित्वको आवश्यकता उसो भए किन ? यसरी पुराना दललाई समेत मात खुवाउने गरी यहाँले सत्ताका लागि पुराना राजनीतिक दल र तिनका नेतासँग सन्निकटताको सम्बन्ध देखाउनुभएको छ। यो त अत्यन्तै लज्जास्पद राजनीतिक अभ्यास होइन र ?

एउटा अनौठो दृश्य रास्वपामा देख्न सकिन्छ। विद्वान् उपसभापति स्वर्णिम वाग्ले जब नेपाली काङ्ग्रेसमा आबद्ध थिए, त्यतिबेला नेपाली काङ्ग्रेसको सभापति र अन्य नेताको कडा आलोचना हरेक मञ्चमा गर्थे। तर रास्वपामा उनी पार्टी नेतृत्व अघि यति निरीह देखिन्छन् कि उनी एउटा भगवानको अगाडि आशीर्वाद मागिरहेको भक्त हुन्!

उनी मात्र हैन रास्वपाको हरेक नेता आफ्नो विवेक, अभिव्यक्ति स्वतन्त्रता र विद्वत्तालाई बन्धक बनाएर बसेको अवस्था छ। यहाँलाई बधाई छ हरेक सदस्यलाई आफ्नो मुठ्ठीमा राख्न सकेकोमा। तर यसले रास्वपाभित्रको आन्तरिक लोकतन्त्रका सम्बन्धमा सबैलाई छर्लङ्ग पारेको छ।

जब एउटा राजनीतिक दल आन्तरिक लोकतन्त्रको अभ्यास खुला रूपमा गर्न सक्दैन उसले मुलुकमा लोकतान्त्रिक शासन सञ्चालन कसरी गर्न सक्छ?

भारतीय कवि डा. कुमार विश्वास एउटा कार्यक्रममा भन्छन्— ‘भारतमा एउटा साधुको विरुद्धमा माननीय न्यायाधीशले सामान्य भन्दा बढ्ता सजाय तोक्छन्। यस सम्बन्धमा न्यायाधीशले प्रष्टीकरण दिंदै तपाईं सदाचार र नैतिकवान् समाज बनाउने उद्घोष गर्नुहुन्थ्यो। मार्गदर्शक हुनुहुन्थ्यो। तसर्थ अपेक्षा र विश्वासमाथि घात हुँदा यसको भागीदार हुनुभयो।

यसरी तपाईं पनि पुरानो भ्रष्ट राजनीतिक अभियान र नेतृत्वलाई प्रतिस्थापन गर्नुपर्छ भन्दै राजनीतिमा उदय हुनुभयो। मुलुकमा जवाफदेही सहितको राजनीतिक प्रणालीको विकास गर्छौं, सुशासन सहितको समृद्धि र विकास दिन्छौं। यस्तै जार्गनबाट राजनीतिक मूलप्रवाहमा स्थापित हुनुभयो। तर यहाँका शासकीय क्रियाकलाप यसको विपरीत दिशामा छन्। यसैले यहाँ सचेत भई राजनीतिक यात्रा कायम होस् भन्ने जनताको अपेक्षा र मुलुकको आवश्यकता हो।

अन्त्यमा, माननीय गृहमन्त्रीज्यू तपाईं राजनीतिमा आउनुभन्दा अगाडि गरेका कार्यको राजनीतिक र कानुनी प्रश्न उठ्छ भने त्यसको छानबिन र अनुसन्धानका लागि खुला रूपमा सघाउन तयार हुनुपर्छ। यसबाट यहाँको राजनीतिक उचाइ इतिहासमा गर्विलो रूपमा दर्ज हुनेछ। यहाँको कार्यले लाखौं युवाले सपना देखेको नवीन राजनीतिक संस्कारमा योगदान पुग्नेछ।

नयाँ पनि पुराना भन्दा के फरक रहेछन् र भन्ने राजनीतिक भाष्य जुन निर्माण हुँदैछ यसलाई तपाइँले मात्र रोक्न सक्नुहुन्छ। यसका लागि तपाइँ पुराना राजनीतिक दल र नेताको चक्रव्यूहबाट बाहिर निस्किनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?