
३० वैशाख, काठमाडौं । शहरी विकास मन्त्रालयले काठमाडौंमा प्रस्तावित चार स्मार्ट शहरमध्ये इशान शहर निर्माणको प्रस्ताव पुनः क्याबिनेटमा लैजान गृहकार्य सुरु गरेको छ ।
३ वर्षअघि मन्त्रिपरिषद्मा पेस भएको इशान नयाँ शहर निर्माणसम्बन्धी प्रस्ताव अघि नबढेपछि प्रस्तावित योजनाको पुनरावलोकन गरेर नयाँ प्रस्ताव अघि बढाउन मन्त्रालयले तयारी थालेको हो ।
आयोजनालाई अघि बढाउने विषयमा आइतबार भएको बैठकमा शहरी विकास मन्त्री धनबहादुर बुढाले इशान नयाँ शहरसम्बन्धी प्रस्तावलाई एक महिनाभित्र भौतिक पूर्वाधार समितिमा पेस गर्न निर्देशन दिएका छन् ।
गत साता इशान नयाँ शहर आयोजनाको प्रगति अनुगमन गर्न गएका मन्त्री बुढालाई स्थानीयबासी र जनप्रतिनिधिले लामो समयदेखि स्मार्ट शहरको लागि जग्गा रोक्का भएका कारण निकै कष्ट व्यहार्नुपरेको बताएका थिए । उनीहरूले जतिसक्दो छिटो आयोजना निर्माणको कामलाई अघि बढाइदिन आग्रह गरेका थिए ।
२०७८ सालमा मन्त्रालयले पेस गरेको उक्त आयोजना निर्माण सम्बन्धी प्रस्ताव अर्थको सहमति नहुँदा मन्त्रिपरिषद्बाट अघि बढ्न सकेको छैन ।
मन्त्री बुढाले आयोजनामा भएको ढिलाइले नागरिकललाई हैरानी दिएको भन्दै एक महिनाभित्र भौतिक पूर्वाधार समितिको बैठकबाट पारित गरेर मन्त्रिपरिषद्मा पेस गर्न उपत्यका विकास प्राधिकरणसहित सम्वद्ध कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
बुढाले नयाँ शहर निर्माणसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो मन्त्रिपरिषद्बाट पास गराउन पहल गर्ने भन्दै इशानबाटै नयाँ शहर निर्माणको थालनी गर्नुपर्नेमा जोड दिए ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले इशान नयाँ शहर निर्माणसम्बन्धी मौजुदा प्रस्तावलाई अघि बढाउन ठोस मोडालिटी बनाएर अघि बढ्ने बताए ।
प्रतिक्रिया 4