+
+

बेल्जियममा नै अस्ताए कलाकार उज्ज्वल केसी

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ जेठ १ गते ६:५३

१ जेठ, बार्सिलोना । बेल्जियम निवासी कलाकार उज्ज्वल केसीको निधन भएको छ । ५४ वर्षीय केसीको शनिबार निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार उनको हृदयघातबाट बेल्जियमस्थित निवासमा नै निधन भएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल मूल घर भएका केसी दुई दशकदेखि बेल्जियममा परिवारसँगै बस्दै आएका थिए ।

उनको परिवारमा श्रीमती र दुई छोरी रहेका छन् । पारिवारिक स्रोतका अनुसार दिवंगत केसीको अन्त्येष्टि बुधबार बेल्जियममै गरिनेछ ।

केसी नेपाल चलचित्र कलाकार संघका सदस्य समेत थिए । दर्जनौं म्युजिक भिडियोमा निर्देशन गरेका उज्ज्वल युरोपमा बसेर पनि नेपाली कला क्षेत्रमा सक्रिय थिए ।

उनले केही नेपाली चलचित्रमा अभिनयसमेत गरेका छन् । नेपाली सिनेजगतमा उदाउँदै गर्दा नायिका श्रीषा कार्कीसँग त्यतिबेला उज्ज्वलले चलचित्र ‘फुटपाथमा सँगै काम गरेका थिए । उनले नेपाल टेलिभिजनमा ‘दि भोइस’ नामको पनि कार्यक्रम संचालन गरेका थिए ।

गायक रामकृष्ण ढकालको ‘हावाले’ बोलको गीतको भिडियो पनि उनले नै निर्देशन गरेका हुन् । फ्रान्स, बेल्जियम र नेदरल्यान्ड्सका दृश्यहरु छायांकन गरेर उज्ज्वल ले नै सम्पादन गरेका थिए । उनी पूर्वरेडियोकर्मी समेत हुन् ।

आफ्नो जीवनकै पहिलो गीत रेडियोमा बजाएर गुन लगाएको भन्दै गायक हिमाल सागरले उज्ज्वलको सम्झना गरेका छन्।  ‘चन्द्रमा झै मुहार तिम्रो’ मेरो जीवनकै पहिलो गीत दाइले क्लासिक एफएममा पहिलो पटक बजाइदिनु भएको थियो,’ उनले भाव पूर्ण श्रद्धान्जली भन्दै लेखेका छन्,‘मेरो रिलेसन एल्बमको पहिलो भिडियो पनि उहाँले नै बनाउनु भएको हो । दु:खद खबरले मर्माहत बनेको छु।’

बेल्जियमको नेपाली समुदाय स्तब्ध

कलाकार केसीको निधनको खबरले बेल्जियमको नेपाली समुदाय स्तब्ध बनेको छ।एनआरएनए बेल्जियमले केसीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेको ५ ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले केसीको निधनले समुदायमा अपुरणीय क्षति भएको बताएका छन् । ‘नेपाल छँदा उहाँ एफएममा पनि कार्यक्रम संचालन गर्नुहुन्थ्यो । आफैंले चलचित्र बनाएर अभिनय पनि गर्नुभयो । कला क्षेत्रमा युरोप आएपछि पनि सक्रियता निरन्तर नै रह्यो,’ अध्यक्ष शर्माले भने।

सामाजिक विकृति विसङ्गतिका बारेमा बोल्ने प्रष्ट वक्ताको रुपमा उज्ज्वललाई अध्यक्ष शर्माले सम्झन्छन् ।

‘ठूलो लक्ष्यसहित महत्वकांक्षी प्रोजेक्ट गर्ने आफ्नो प्रयासबाट उहाँ कहिल्यै पछि हट्नु भएन ।पुराना चलचित्रकर्मीसँग उहाँ निकै घनिष्ट हुनुहुन्थ्यो । युरोप आउदा उहाँलाई भेट्न कला कर्मी बेल्जियम आउथे,’ उनले थपे।

उज्ज्वलका व्यवसायिक साझेदार सुदर्शन सिम्खडा पनि अप्रत्यासित घटनाले निकै दु:खी बनेका छन् । उनलाई हिजो जस्तो नै लाग्छ उज्ज्वल बेल्जियम आएको । उनले भने, ‘उहाँ मेरो डे वानदेखि साथी । व्यवसायिक साझेदारको हिसाबले पनि राम्रो हुनुहुथ्यो ।’

समय बित्दै जादा आफूहरुबीच घनिष्ठता पनि बढेको सिम्खडा बताउँछन् ।

कलाकारिताको माध्यमबाट नेपाललाई चिनाउन लागि उज्ज्वल ले केही हदसम्म योगदान दिएको पनि उनले सुनाए । ‘उहाँ एक क्रियटिभ कलाकार हो । विदेशीहरु मिलेर आफ्नो क्षमता प्रदर्शन गर्न सक्षम हुनुहुन्थ्यो । कलाकारिताको माध्यमबाट कहीँ न कहीँ नेपाललाई चिनाउन उहाँले योगदान दिनुभएको छ भन्ने मेरो ठम्याइ हो,’ सिम्खडाले थपे ।

विदेशी कलाकारहरूसँगको सहकार्य

विदेशी कलाकारहरूसँग मिलेर पनि उज्ज्वल ले थुप्रै काम गरेका छन् । नेपाली भाषा बाहेक अन्य गीतहरूको भिडियो निर्माणमा पनि उनको सक्रियता कहिल्यै रोकिएन ।

उनी बेल्जियम, नेदरल्यान्ड्सका कलाकारहरूसँग मिलेर थुप्रै प्रोजेक्टहरूमा काम गरिसकेको बेल्जियमस्थित पत्रकार सुशील खरेलले बताए ।

‘उज्ज्वल जीलाई म नेपालदेखि नै चिन्दछु । हामी दुवै नेपाल छँदा नै टेलिभिजनमा सहकार्य गर्दै आएका हौं । उहाँ अहिले स्पिक इजी, पियानो बार जस्ता चलचित्रमा विदेशी कलाकर्मीहरुसँग सहकार्य गर्नुभएको थियो । अकल्पनीय निधनले उनीहरु असाध्यै दु:खी छन् ,’ पत्रकार खरेलले थपे।

उज्ज्वलको निधनसँगै उनको अर्को प्रोजेक्ट ‘रूट सिक्स्टी फाइव’ पनि अलमलमा परेको छ ।

लियो उजोमाको निर्माण रहेको क्राइम थ्रिलरको रुपमा प्रचारित फिल्मका मुख्य खम्बा नै उनि थिए । युके क्रियसन को प्रस्तुति रहेको चलचित्रमा दर्जनौं विदेशी कलाकारहरुको अभिनय रहेको छ।

बलिउड भर्सन भन्दै उज्ज्वल ले आफ्नै युट्युब च्यानलबाट चलचित्रको टिजर समेत सार्वजनिक गरेका थिए । उनैले लेखेको ‘आज रात फिर से’ बोलको गीत उक्त चलचित्रमा समावेश छ ।

गायक कुमार सानु, पापोनलगायतले  उक्त गीतमा स्वर दिएका छन् ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?