+
+

बालेनले कान्सको वर्ल्ड प्रिमियरमा हेर्न खोजेको ‘मेगालोपोलिस’ कस्तो फिल्म हो ? 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १३:३४

काठमाडौं । हलिउडका महान् फ्रान्सिस फोर्ड कोपोलाको फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियर आज प्रसिद्ध कान्स फेस्टिभलमा हुँदैछ । यो फिल्मको रेडकार्पेट प्रिमियरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सहभागिता जनाउने तय भएको छ ।

नेपाली समयानुसार राति १० बजे हुने वर्ल्ड प्रिमियरमा मेयर शाहले भाग लिने उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकारले जनाए । ‘भीभीआईपीको लागि मेगोलोपोलिसको प्रिमियर तय गरिएको छ,’ व्यञ्जनकारले अनलाइनखबरसँग भने ।

रेडकार्पेट प्रिमियरअघि कान्स सहरका समकक्षी डेभिड लिसनार्डसँग उनकै कार्यालयमा मेयर शाहको भेटवार्ता कार्यक्रम रहेको जनाइएको छ ।

‘मेगालोपोलिस’ यस वर्षको प्रतीक्षित हलिउड फिल्म हो । रेडकार्पेटमा निर्देशक कोपोलासहित स्टारहरु एडम ड्राइवर, नाताली इमानुएल पनि सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साइन्स फिक्सन-ड्रामा ‘मेगालोपोलिस’बाट निर्देशक कोपोला १३ वर्षपछि पुनरागमन गर्दैछन् । पाँच पटक ओस्कार र ६ पटक गोल्डेन ग्लोब्स जितेका कोपोला महान् कालजयी फिल्म ‘गडफादर’ निर्देशकको रुपमा चर्चित छन् । यो फिल्मले विश्व फिल्म निर्माणमा ग्याङस्टर जनराको रुपमा क्रान्ति ल्यायो ।

मेगालोपोलिस’ अर्थात भ्रष्ट मेयरविरुद्धको लडाइँ

कोपोला निर्देशित फिल्मको रेडकार्पेट प्रिमियरमा मेयर शाहसहितका भीभीआईपी सहभागी हुनेछन् । फिल्मको वर्ल्ड प्रिमियरमा बालेन सहभागी हुने फिल्मको कथावस्तु भ्रष्ट मेयरविरुद्धको लडाइँमा केन्द्रित छ ।

कान्सको वेबसाइटमा उक्त फिल्मको सारांश यस्तो छ– एउटा दुर्घटनाले नयाँ रोम भनिने सडिरहेको महानगरलाई ध्वस्त पार्छ । समयलाई नियन्त्रण गर्ने शक्ति भएको एक आदर्शवादी वास्तुकार सेजर क्याटिलिनाले यसलाई दिगो युटोपियाको रूपमा पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । जबकि, उनको विपक्षी, भ्रष्ट मेयर फ्रान्कलिन सिसेरो, प्रतिगामी यथास्थितिमा प्रतिबद्ध छन् । तिनीहरूको बीचमा फ्रयांकलिनकी छोरी जुलिया छिन्, जो आफूले सामाजिक छविबाट पाएको प्रभावबाट दिग्दार भएर जीवनको अर्थ खोज्नतिर लाग्छिन् ।’

मेयर बालेनले जुन फिल्म हेर्न खोज्दैछन्, यो फिल्मको कथावस्तु पनि महानगरलाई समृद्ध बनाउन खोज्ने र त्यसलाई रोक्न खोज्ने पात्रबीचको लडाइँको कथा हो । भेराइटी म्यागजिनले हेडलाइन लेखेको छ– के कान्सले ‘मेगालोपोलिस’को १२० मिलियन डलरको बजेटलाई जोगाउन सक्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?