+
+
Shares

कान्सबाट फर्किएको टोलीलाई स्वागत गर्न पुगे २ मन्त्री, भन्छन्- नेपाल सिनेमाको देश पनि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेर फर्किएको 'एलिफेन्ट्स इन द फग' टोलीलाई दुई जना मन्त्रीले सोमबार विमानस्थलमा स्वागत गरे ।
  • सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले क्षमताले भ्याएसम्म कला र संस्कृतिको विकास एवं संरक्षणका लागि काम गर्ने सरकारको सोच रहेको बताए ।
  • पर्यटनमन्त्री खड्गराज पौडेलले कलाकारहरूले संसारभर अवैतनिक राजदूतको काम गरिरहेको र यसले देशको शीर उठाएको बताए ।

काठमाडौं । विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा अवार्ड जितेर फर्किएको ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वागत गर्न दुई जना मन्त्री सोमबार बिहानै विमानस्थलमा पुगे ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल एयरपोर्टमा पुगेका थिए । त्यहाँ उनीहरूले मुलुकलाई कला, संस्कृतिमा समृद्ध बनाउने कुराको चर्चा पनि गरे अनि फिल्म टोलीलाई बधाई दिए ।

मन्त्री तिमिल्सिनाले क्षमताले भ्याएसम्म कला, संस्कृतिलाई महत्व दिएर यसको विकास र संरक्षणको लागि काम गर्ने सरकारको सोच रहेको बताए ।

‘अहिलेको सरकारले हामी जसरी हाम्रा मौलिक पहिचानका बारेमा कुराकानी गरिरहेका छौं, जसरी हामी देशलाई उकास्ने गरिरहेका छौं, हाम्रो क्षमताले भ्याएसम्म कला, संस्कृतिलाई महत्व दिएर यसको विकास र संरक्षणको लागि काम गर्ने हाम्रो सोच रहेको छ’ उनले भने ।

चलचित्र क्षेत्रलाई राज्यको पहिचान दिलाउन सक्ने हो आगामी दिनमा हौसला मिल्ने उनले बताए । ‘अविनाशजीको डेब्यू फिल्म भनेको सुनेँ मैले । पहिलो फिल्ममै यति शक्तिशाली अन्तर्राष्ट्रिय अवार्ड जित्न सक्छ भने उहाँले अबको १० वर्षसम्म मिहेनत गर्न सक्नुभयो भने नेपाली चलचित्र क्षेत्रलाई कहाँ पुग्ला ?’ मन्त्री तिमिल्सिनाले प्रश्न गरे ।

उनले आफू दुई जना मन्त्रीहरू सल्लाह गरेर ‘एलिफेन्ट्स इन द फग’ फिल्मको योगदानलाई कसरी सम्मान गर्ने भनेर छलफल गर्ने बताए । ‘तपाईंको योगदानको सम्मान कसरी हुनसक्छ, आगामी दिनमा नेपाली संस्कृतिलाई लिएर बन्ने फिल्ममलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर बसेर सल्लाह गरौंला । यहाँहरुको सझुाव अनुसार अघि बढ्न सरकार तयार छ’ उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले कलाकार अवैतनिक राजदूत रहेको बताए । ‘उहाँहरुले संसारभर एकखालको राजदूतको काम गरिराख्नुभएको छ’ मन्त्री पौडेलले भने, ‘अहिले सबैको नूर गिरेको अवस्था छ । राष्ट्रको शीर निहुरेको अवस्थामा देशको कवि, कलाकारले देशको शीर उठाउने जुन काम गरिराख्नुभएको छ, त्यसले हामीलाई गौरवान्तित बनाएको छ ।’

पौडेलले राजनीतिले आवश्यकताअनुसार मिहेनत गर्न नसकेको बताए । ‘यत्तिकै मिहेनत राजनीतिले गर्न सक्या छैन । राजनीतिले पनि आफ्नो शीर उठाउन सक्नुपर्छ । तब मात्र देशले संकल्प पूरा गर्न सक्छ’ उनले भने ।

उनले नेपाललाई अब हिमाल र बुद्धको देशमात्र होइन, फरक सिनेमा बनाउने देशको रुपमा पनि संसारले चिन्ने विश्वास लिएको बताए । ‘हामीले कला साहित्यलाई सौम्य शक्तिको रुपमा लिन्छौं हामीले । संसारभरका मान्छेले नेपाललाई हेरिरहेका छन् । हिमालको देश मात्र होइन, गौतम बुद्धको देश मात्र होइन, फरक सिनेमा बनाउने देशको रुपमा पनि नेपाल चिनिँदै जान्छ भन्ने मेरो विश्वास छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?