News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्समा मंगलबारदेखि सुरु भएको कान्सको ७९औँ संस्करणमा हलिउडका ठूला स्टारको उपस्थिति कम देखिएको छ।
- उद्घाटन समारोहमा निर्देशक पिटर ज्याक्सनलाई मानार्थ पाल्मे डी’ओर प्रदान गरिएको थियो।
- अभिनेता जेम्स फ्रान्कोले यौन दुव्र्यवहार आरोपपछि लामो समयपछि सार्वजनिक समारोहमा भाग लिएका थिए।
विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक मानिने कान्सको ७९औँ संस्करण मंगलबार रातिदेखि फ्रान्समा सुरु भएको छ । यसपटक हलिउडका ठूला स्टुडियो फिल्म र चर्चित स्टारको उपस्थिति अपेक्षाकृत कम देखिए पनि उद्घाटन समारोहमा ‘लर्ड अफ द रिङ्स’का निर्देशक पिटर ज्याक्सनको उपस्थितिले माहोल ततायो ।
दक्षिण फ्रान्स पुगेका ज्याक्सनलाई उद्घाटन समारोहअघि मानार्थ पाल्मे डी’ओर प्रदान गरिएको थियो । ओपनिङ फिल्मका रूपमा सन् १९२० को पृष्ठभूमिमा आधारित फ्रेन्च रोमान्टिक कमेडी ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिएको थियो ।
घामिलो र हावाहुरी चलिरहेको दिउँसो ज्याक्सन रेड कार्पेटमा देखिँदा वरपर सीमित मात्रामा हलिउड स्टारको उपस्थिति थियो । कार्यक्रममा डिएगो लुना, लुकास ब्राभो, टाइरिस गिब्सन लगायत कलाकार सहभागी थिए ।
यसपटकको जुरी सदस्यमा डेमी मूर, क्लोई झाओ, रुथ नेगा, स्टेलन स्कार्सगार्ड र दक्षिण कोरियाली निर्देशक पार्क चान-उक छन् । पार्क यसपटक जुरी अध्यक्ष हुन् । अघिल्लो वर्षको तुलनामा यसपटक रेड कार्पेट अपेक्षाकृत शान्त देखिएको थियो । हलिउडका ए-लिस्ट कलाकारको उपस्थिति कम हुँदा बाहिर उभिएका फोटोग्राफरको क्यामेरा लामो समयसम्म निष्क्रियजस्तै बनेका थिए ।
पहिलो दिन विवादित पात्रको उपस्थितिले भने चर्चा बटुलेको थियो । यौन दुव्र्यवहारसम्बन्धी आरोपपछि लामो समय सार्वजनिक जीवनबाट टाढा रहेका अभिनेता जेम्स फ्रान्को पनि समारोहमा देखिएका थिए । उनलाई पाले दे फेस्टिभल परिसरमा फ्यानले घेरेका थिए । उनले फ्यानसँग सेल्फी खिचे भने अभिनेता डिएगो लुनासँग छोटो कुराकानी पनि गरे ।

कालो चम्किला पहिरनमा सजिएकी अभिनेत्री जेन फोंडा पनि समारोहको आकर्षण बनेकी थिइन् । ‘टाइटानिक’को प्रसिद्ध ‘हार्ट अफ द ओसियन’ हार झल्काउने गहनामा उनी देखिएकी थिइन् । इलाइजा उडले ज्याक्सनलाई पुरस्कार प्रदान गर्दै ‘लर्ड अफ द रिङ्स’ त्रयीले विश्व सिनेमा बदलिदिएको बताए । उनले न्यूजिल्यान्डमा छायांकन गरिएको उक्त श्रृंखलाले फिल्म निर्माणको नयाँ संस्कृतिको सुरुवात गरेको टिप्पणी गरे ।
पुरस्कार ग्रहण गर्दै ज्याक्सनले ‘लर्ड अफ द रिङ्स’ का तीनवटै फिल्म एकसाथ छायांकन गर्ने निर्णय त्यतिबेला ठूलो जोखिम भएको सम्झिए । उनले सन् २००१ मा कान्समै ‘द फेलोसिप अफ द रिङ’को २० मिनेटको दृश्य प्रदर्शन भएपछि फिल्मप्रतिको विश्व धारणा बदलिएको बताए ।
यसवर्ष महोत्सव निर्देशक थिएरी फ्रेमो को नेतृत्वमा २५औँ संस्करण आयोजना भइरहेको हो । उनको कार्यकालमा कान्सले स्ट्रिमिङ प्लेटफर्मको प्रभाव, कोभिड महामारी र विश्व राजनीतिक तनावजस्ता चुनौती सामना गर्दै पनि आफूलाई विश्व सिनेमाको सबैभन्दा प्रतिष्ठित मञ्चका रूपमा जोगाइराखेको छ ।
यसपटक कान्सको माहोल केही फरक देखिएको छ । हलिउड उद्योग अहिले संक्रमणकालमा छ । स्टुडियोले महोत्सवमा ठूलो खर्च गर्न कम गरिरहेका छन् । कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रभावले सिर्जनात्मक क्षेत्रको रोजगारीमाथि चिन्ता बढेको छ । विश्वका विभिन्न भागमा युद्ध चलिरहेका छन् भने हान्ताभाइरसको त्रास पनि बढ्दो छ ।

अघिल्ला वर्षमा टम क्रुजले ‘मिसन इम्पोसिबल’ र ‘टप गन’का सिक्वेल कान्समा प्रिमियर गरेका थिए भने ह्यारिसन फोर्डले ‘इन्डियाना जोन्स एन्ड द डायल अफ डेस्टिनी’ सार्वजनिक गरेका थिए । यसपटक त्यस्ता ठूला ब्लकबस्टर फिल्मको अभाव देखिएको छ ।
क्रिस्टोफर नोलन वा स्टिभन स्पिलबर्गले नयाँ फिल्म लिएर कान्स आउने अपेक्षा गरिएको थियो । तर, दुवैले सहभागिता जनाएनन् । त्यसपछि महोत्सवले पेद्रो आल्मोडोभार, पावेल पावलिकोस्की र क्रिस्टियन मुंगिउ जस्ता अन्तर्राष्ट्रिय निर्देशकका फिल्ममा बढी भर पर्नुपरेको छ ।
उद्घाटन समारोह सञ्चालन गरेकी अभिनेत्री आई हैदाराले आफ्नो सम्बोधनमा राजनीतिक संकेत पनि गरेकी थिइन् । उनले ‘इन्टरनेट बन्द नगरिएका र कृत्रिम बुद्धिमत्ताले वास्तविकतालाई विस्थापित नगरेका ठाउँका सबै दर्शकलाई’ स्वागत गर्दै प्रतिरोध गरिरहेकाप्रति सम्मान व्यक्त गरिन् ।
त्यसपछि बोल्दै जेन फोंडाले सिनेमा सधैं प्रतिरोधको माध्यम बनेको बताइन् । उनले कथाले सभ्यता निर्माण गर्ने, सीमान्तकृत मानिसप्रति सहानुभूति जगाउने र फरक भविष्य सम्भव छ भन्ने अनुभूति दिलाउने धारणा राखिन् ।
२३ मेसम्म फेस्टिभल चल्नेछ ।

प्रतिक्रिया 4