+
+

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १२:४५

८ जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले अनुमति दिएको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

जाहेरीमा सिरोहियासँग हिमालयन रिइन्स्योरेन्स नामको कम्पनीको संस्थापक शेयर रहेको र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरेको प्रबन्ध पत्रमा धनुषा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता नम्बर २८३९८८८६ रहेको विवरण हस्ताक्षरसहित पेश गरेको भनिएको छ ।

तर उनले सन् २०१३/०३/२१ मा जारी भएको ०६३….. र सन् २०१७/०७/१२ मा जारी भएको १०४६…. नम्बरको साधारण राहदानी र २०२३/०९/१५ मा जारी भएको डीए०००…. नम्बरको कुटनीतिक राहदानी लिँदा धनुषाबाट जारी भएको नागरिकतो नम्बर ३९६९८८८६ उल्लेख गरेको भनिएको छ । उनले राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीमा समेत नागरिकता नम्बर ३९६९८८८६ नै उल्लेख गरेको भनिएको छ ।

तर, धनुषा जिल्ला प्रशासन कार्यालयबाट जारी ३९६९८८८६ नम्बरको नागरिकता सिरोहियाको नामको नभइ धनुषाकै जनकपुर–२ निवासी शिवजी साहु तेलीको नाममा रहेको देखिने जाहेरीमा भनिएको छ । सोही नागरिकता नम्बर तेलीको मतदाता नामावली पनि उल्लेख रहेको भनिएको छ ।

तेलीको नागरिकतामा प्रथम पटक जारी मिति २०३६/०५/२० र प्रमाण पत्र जारी गर्ने अधिकारीको नाम र दर्जा स्पष्ट रुपमा उल्लेख रहेको भनिएको छ ।

‘तर, सिरोहियाले सरकारी निकायमा बुझाएको नागरिकताको पहिलो प्रतिलिपीको फोटोकपीमा भने न कुन मितिमा जारी भएको खुल्छ, न कुन अधिकारीले जारी गरेको’, जाहेरीमा भनिएको छ, ‘सरकारी निकायमा फरकफरक नम्बरको नागरिकता विवरण पेश गर्नु र पहिलो पटक जारी भएको मिति र जारी गर्ने अधिकारीको नाम र दर्जा नखुल्ने पेश गर्नुले उनले नागरिकता कीर्ते गरेको देखिएकाले अनुसन्धान गरी पाऊँ ।’

सिरोहियाविरुद्ध यस्तो बेला धनुषा प्रहरीमा किटानी जाहेरी परेको थियो, जतिबेला उनी अध्यक्ष रहेको कान्तिपुर पब्लिकेसन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दोहोरो राहदानी, सहकारी प्रकरण लगायतमाथि निरन्तर समाचार प्रकाशन गरिरहेको थियो ।

यस्तोमा सिरोहियाले सामाजिक सञ्जाल एक्समा ‘राज्यका विभिन्न पदाधिकारीले व्यक्तिगत रुपमा प्रतिशोध र रिसइबी लिएर नागरिकताको विषयमा प्रश्न उठाएको’ भन्दै आफ्नो नागरिकताको प्रतिलिपि सार्वजनिक गरेका थिए ।

‘२०३४ मा मैले नागरिकता लिएपछि २०३६ सालमा अरु कसैका नाममा त्यही नम्बर लेखिएको छ भने त्यो मेरो जिम्मेवारीको विषय होइन’, उनले १७ वैशाखमा भनेका थिए, ‘हिमालय रि–इन्स्योरेन्सको प्रबन्धपत्रमा टाइप गर्दा नम्बर गलत भएको कम्पनीले नै जानकारी दिएको छ ।’

उनले ‘प्रकाशित समाचारबाट अत्तालिएको कोही कसैले स्टन्टबाजी गरेर प्रभावित गर्न सक्छ भने त्यो स्वैरकल्पना मात्र हुने’ समेत उल्लेख गरेका थिए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए ।

रिटमा उनले आफू आबद्ध रहेको प्रकाशन तथा प्रशारण गृहबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दोहोरो राहदानी तथा नागरिकताको प्रमाण पत्र लगायतका विषयमा प्रकाशित समाचारहरुका कारण आफूप्रति दुराग्रह र द्वेषपूर्ण भावना राखेर जाहेरी दर्ता गरिएको जिकिर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै २५ वैशाखमा सर्वोच्च अदालतले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण मागेको थियो । मन्त्रालयले हालसम्म लिखित जवाफ पेश गरिसकेको छैन । यहीबीच जिल्ला प्रहरी कार्यालय, धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?