+
+

दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १८:४६

९ जेठ, काठमाडौं । पछिल्ला दुई सातामै बैंकिङ समूहको सूचकले १७.५ प्रतिशतको छलाङ मारेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कारोबार बन्द हुँदा यो सूचक ११९२ अंकमा पुगेको छ । वैशाख २६ गते सूचक १०१४ अंकमा झरेको थियो । आजको अंक माघ ४ यताकै उच्च हो ।

दुई सातामै १७.५ प्रतिशत बढेको यो समूह तुलनात्मक रुपमा ‘उच्च पूँजीकरण’ समूह हो । यहीं समूहले नै समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ । यहीं समूहका कारण दुई सातामा सेयर बजार पनि ८.३९ प्रतिशत बढेको छ । लामो समयसम्म बैंकिङ समूहको सूचक बढ्न नसक्दा दीर्घकालीन लगानीकर्ता निराश थिए ।

बुधबार भएको कुल कारोबारमा बैंकिङ समूहको हिस्सा सबैभन्दा धेरै छ । कुल ५ अर्ब ६८ करोडको कारोबार भएकोमा यस समूहको मात्रै १ अर्ब ७ करोडको कारोबार भयो । बैंकिङ समूहको कारोबार रकम विगत साढे ९ महिनायताकै उच्च हो । यसअघि २०८० साउन २१ गते बैंकिङ समूहको मात्रै १ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उच्च पूँजीकरणकै समूहको वृद्धिदर उत्कृष्ट रहेपछि समग्र बजारले अब माथितिरकै लय समात्ने लगानीकर्ताको विश्वास छ । रकमसहितको वृद्धिले यो समूहको सूचकलाई साथ दिएको छ ।

बैंकिङ समूहमा हाल उत्साह देखिनुमा मुख्यतः ३ प्रमुख कारण रहेको सेयर लगानीकर्ता सुवासचन्द्र ढुंगाना बताउँछन् । पहिलो कारण, न्यून मूल्यमा झर्नु । ‘कतिपय बैंकको मूल्य प्रतिसेयर नेटवर्थभन्दा तल झरेको थियो, यस्तो न्यून मूल्यमा बारम्बार खरिदको मौका आउँदैन’ उनले भने ‘त्यतिबेलैबाट संस्थागत र ठूला लगानीकर्ताले खरिद बढाए, कतिले मूल्यमा एभरेजिङ गरे जसले गर्दा अहिले सूचकले राम्रो लय समाएको देखिन्छ ।’ बैंकिङ क्षेत्रका कम्पनीहरु अझै पनि तुलनात्मक रुपमा कम जोखिमपूर्ण रहेको उनको भनाइ छ । धेरै वाणिज्य बैंकहरु २ सयमुनिको मूल्यमा छन् ।

राष्ट्र बैंकले हालै बैंकहरुलाई लगानी बिक्रीमा गरेको सहजीकरणले पनि बैंकिङ सूचकलाई सहयोग पुगेको उनले बताए । बैंक तथा वित्तीय संस्थाले एक वर्ष नाघेको लगानीबाट एक आर्थिक वर्षमा बिक्री गर्न पाउने सीमा प्राथमिक पूँजीकोषको २० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि यस्तो सीमा पूँजीकोषको एक प्रतिशत मात्रै थियो । ‘यो व्यवस्थाले बैंकहरुलाई विभिन्न कम्पनीका सेयरमा लगानी गरी थप नाफा लिनका लागि प्रोत्साहन गर्दछ, बजार घटेका बेला यस्तो मौका आउनाले बैंकको नाफा बढाउन पनि योगदान पुग्ने अनुमान रह्यो’ उनले भने ।

तेस्रो महत्वपूर्ण कारण ब्याजदर घट्दै जानु र कर्जा प्रवाह न्यून हुनु रहेको उनले बताए । ‘ब्याजदर घट्दा पनि बैंकबाट कर्जा प्रवाह बढ्न सकेको छैन, यस्तो अवस्थामा निक्षेप संकलनभन्दा सेयर बजारतिर लगानी मोडिन्छ भने जोखिम लिन चाहनेले पनि कर्जा लिएर लगानी गर्छ’ ढुंगानाले भने ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ वैशाखमा वाणिज्य बैंकहरूको कुल निक्षेप २६ अर्ब १९ करोडले बढेको छ । तर सोही अवधिमा कर्जा भने १५ अर्ब १९ करोडले नै घटेको छ ।

बजार निरन्तर बढ्ने नभई बीचबीचमा केही करेक्सन पनि हुन सक्ने ढु‌ंगाना बताउँछन् । ‘बजार बढेको बढ्यै हुन्छ भनेर सोच्नु गलत हुन्छ, बीचबीचमा राम्रै करेक्सन आउन सक्छ, त्यसका लागि पनि तयार रहनुपर्छ । करेक्सन कहिले र कति आउँछ भनेर भन्न सकिँदैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?