+
+

एमाले स्वास्थ्य विभागले स्वास्थ्यमन्त्रीलाई बुझायो १६ बुँदे ध्यानाकर्षण पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १८:४०

९ जेठ, काठमाडौं । नेकपा एमालेको स्वास्थ्य विभागले विभिन्न माग राख्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले बुझाएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य क्षेत्रको नीतिगत समस्या, स्वास्थ्यकर्मीहरुका समस्या र रोगको रोकथामका लागि गर्नुपर्ने कामबारे उल्लेख छ ।

जसमा एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन तथा सबै संघीय अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको छ ।

जनशक्ति पूर्ति गरेर स्वास्थ्य बीमा व्यवस्थित गर्न, स्थानीय तहमा बन्न लागेका आधारभूत अस्पतालको निर्माण गरी संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण गरेर स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने, आस्थाका आधारमा गरिएको जथाभावी सरुवा, बर्खास्ती र नियुक्ति सच्याउन पनि माग गरिएको छ ।

शल्यक्रिया र डायलासिस सेवा सर्वसुलभ बनाउन यथाशीघ्र पहल गर्नुपर्ने, रोग रोकथाम तथा नियन्त्रण केन्द्र, स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन बनाउनुपर्ने र प्रदेशमा स्थापना गर्नुपर्ने प्रतिष्ठानको काम सुरु गर्नुपर्ने, फाजिलमा रहेका र समायोजन नमिलेका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने माग पनि एमालेको स्वास्थ्य विभागले गरेको छ ।

स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षालाई प्रभावकारी बनाउन कानुन कडाइपूर्वक लागु गर्नुपर्ने र चिकित्सक तथा स्वास्थ्य क्षेत्रका जनशक्तिलाई विदेश पलायन रोक्न समेत ध्यानाकर्षण गराइएको छ ।

यस्तै वीर अस्पताल लगायतका सबै संघीय अस्पतालमा जनशक्ति थप गरेर पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, आईसीयु, शल्यक्रिया र आकस्मिक सेवामा रहेको अभाव पूरा गरी जनतालाई छिटो र सहज सेवा दिनुपर्ने पनि एमालेको स्वास्थ्य विभागको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?