+
+
Shares

शिक्षकले विद्यार्थीको अश्लील फोटो बनाएर पोष्ट गरेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १२:१८

१० जेठ, काठमाडौं । भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षक विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई पक्राउ गरेको हो ।

विद्यालयकी पूर्वविद्यार्थी अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए । पीडितको तस्वीर राख्दै उनले अश्लील स्ट्याटस समेत लेखेको जाहेरीमा उल्लेख छ ।

यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो ।

पक्राउ परेपछि प्रहरीसँग बयान दिने क्रममा उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट साधारण फोटोलाई विभिन्न तस्वीरसँग जोडेर अश्लील फोटो बनाउन सकिन्छ भन्ने सिकेको भनेका छन् ।

‘त्यसपछि उत्सुकता जागेकोमा मैले ल्यापटपमा विद्यालयमा कार्यक्रम हुँदा खिचेको विद्यार्थीको फोटो, विद्यार्थीको फेसबुक एकाउन्टबाट मेरो डिभाइसमा सेभ गरी राखेको फोटोलाई एआई लिंकमा गएर मोर्फ गरेर राखेको थिएँ’, उनले भनेका छन्, ‘अन्य व्यक्तिले फेसबुकमा एआईको प्रयोग गरेर बनाइएका फोटाहरू अपलोड भएको देखेर मलाई पनि उत्सुकता जागेर फेसबुक बनाएर अपलोड गरेको थिएँ ।’ उनले यस्तो कार्य गर्नु गल्ती भएको समेत बयानमा भनेका छन् ।

साइबर ब्यूरोले अनुसन्धानपछि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने कसुरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।

यो कसुर प्रमाणित भए आरोपीलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

ब्यूरोका एसपी दीपकराज अवस्थीका अनुसार, अदालतमा बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार फेरि सुनुवाइ हुँदैछ । त्यसपछि अदालतले शिक्षक प्रजापतिलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?