+
+

बिन्दास निबन्धहरू ‘ती निला आँखा’

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०८१ जेठ १२ गते ९:४८

नेपाली साहित्यमा पछिल्लो समयमा आम रूपमा साहित्यिक लेखन अखबारी लेखन भएको, अखबारी लेखनले प्रभावमा पारेको, गहनता कम सतही विषय र प्रस्तुतिको आत्मरतिमा साहित्यकारहरु अल्झिएको आरोप लाग्दै आएको छ । यसको विविध कारण हुनसक्छन् । एक कारण गहन र उदात्त रूपमा लेखिएका रचना प्रकाशित गर्ने साहित्यिक पत्रिकाहरु नगण्य छन् लेखक साहित्यकारहरुले लेख्ने रचनाको सङ्ख्याको तुलनामा । अधिकांश लेखकहरु मूलतः अखबार र अनलाइन पोर्टलमा भर पर्नुपर्ने अवस्था छ । अखबारमा शब्द सीमाको लगाम छ । अनलाइनमा शब्द सीमा उतिसारो नभए पनि छोटो र मोबाइल फोनमा पढ्न सकिने बढी चल्तीको हुने हुनाले त्यहाँ पनि छोटोले प्राथमिकता पाउनु स्वाभाविक नै भयो । अतः लेखक साहित्यकारहरु साहित्यिक गहनता र मूल विषयमा केन्द्रित हुनुभन्दा कस्तो र कति शब्दको रचना कुन मिडियाले प्रकाशित गर्ला भन्नेमा बढी केन्द्रित हुँदा रचनाको गुणवत्ता गौण हुँदै गएको हुनसक्छ ।

यस्तो समयमा मूलतः पत्रकार पृष्ठभूमिका लेखक जयदेव गौतमको निबन्ध सङ्ग्रह “ती निला आँखा” (विसं २०८०) प्रकाशित भएको छ । यो उनको दोश्रो निबन्ध सङ्ग्रह भएकाले उनी यस विधामा निरन्तर लेखिरहने व्यक्तित्वको पहिचान हुन्छ । यसअघि उनको “लक्ष्मण-रेखाका दासहरु“(विसं २०६७) प्रकाशित भएको थियो ।

सबैभन्दा मुख्य कुरा के हो भने यो निबन्ध सङ्ग्रहका निबन्धहरु पढ्दै जाँदा जुन गद्यको ओज पाइन्छ, त्यसले यो निबन्ध सङग्रहलाई गम्भिर लेखनको दृष्टान्तको रुपमा लिन सकिन्छ । सङ्ग्रहमा सङ्कलित यी निबन्धहरु प्रायः पूर्व प्रकाशित भए पनि यिनलाई पुस्तकका रुपमा ल्याउनु अघि निबन्धकारले प्रशस्त मिहिनेतका साथ पुनर्लेखन गरेको अनुभव गर्न सकिन्छ । यी निबन्धहरुले बिभिन्न भावभूमि, भूगोलका बिभिन्न क्षेत्र, विभिन्न परिवेश र विभिन्न कालखण्डलाई समेटेका छन् । यसरी यसले बिबिधता त दिएको छ नै, साथै लेखकको क्षमतालाई पनि उजागर गरेको छ ।

लेखन शैलीका हिसावले यी निबन्धहरुलाई दुई खण्डमा विभाजित गर्न सकिन्छ, आत्मपरक र वर्णनात्मक । कतिपय निबन्धहरु मिश्रित शैलीका पनि छन् ।

बिषयगत हिसाबले भने यी निबन्धहरु जीवन दर्शनमूलक, ब्यक्तिकेन्द्रित, कृति केन्द्रित, घटना र परिवेश केन्द्रित तथा यात्रा सम्बन्धित रहेका छन् ।

जीवन एक कार्पेडियम, मन त आखिर मनै हो, देउरालीका सुस्केरा, ती नीला आँखा आत्मपरक निबन्ध हुन् जीवन दर्शनले ओतप्रोत भएका । यी निबन्धले बोकेका बिचारको गहिराई, जीवन दर्शन र अभिब्यक्ति कला र क्षमताले यिनलाई विशिष्ट निबन्ध बनाएका छन् । “जीवन बुझ्न चाहने हो भने विगतमा टेक्नै पर्दछ, इतिहासमा विचरण गर्नै पर्दछ । यसले वर्तमानमा बाँच्न सिकाउँछ र भावी जीवन बिताउने दृष्टि प्रदान गर्दछ । विगतलाई बदल्न सकिंदैन । यो वर्तमानमा ‘फिट’ पनि हुँदैन ।”(‘जीवन एक कार्पेडियम‘ पेज ९) यसले जीवन दर्शनको एक पाटोलाई उद्घाटित गर्दछ ।

अर्को निबन्धमा उनी मनको गहिराईमा यसरी पुग्दछन्, “मानिसलाई सबैभन्दा बढी मोह शायद आफ्नै जीवनसित हुन्छ । यस्तो मोह जीवनसित हुन्छ, सुन्दरतासित हुन्छ, सन्तानसित हुन्छ । जीवन अनिश्चित छ, अनित्य छ । उसो भए, के यो मोह अनिश्चितताप्रतिको हो त ? अनि आफैंप्रति एउटा प्रश्न उब्जिन्छ- यो मोह कहाँबाट निःसृत हुन्छ ? मस्तिष्कबाट वा मनबाट ? निश्चित कुरा हो, मनबाट ।”(‘मन त आखिर मनै हो‘ पेज १५) मानिस र मानिसको मोह अनि मनको विषयमा यी थोरै शब्दले पनि जीवन दर्शनलाई सहज रुपमा सम्प्रेषित गर्दछन् ।

अर्को बेजोडको निबन्ध हो “देउरालीका सुस्केरा” ।  आत्मपरक । प्रतीकात्मक । यसमा साँच्चैको देउरालीको पीडा छ । देउराली माइज्यूको कथा पनि छ । दिनदिनै आजसम्म पनि गाउँ छाडेर जाने, देश छाडेर जाने अनगिन्ती नेपाली युवाहरुको कथा ब्यथा पनि जोडिएको छ । त्यसले जिवन्तता दिएको छ निबन्धलाई जहाँ जीवन र प्रकृति साथसाथ छन् ।

आकास उही छ, उस्तै छ- विशाल, अनन्त, अथाह, रहस्यमय । सूर्यदेव हाँसिरहेछन् । बादल फुरुङ्ग परेका छन् र इत्रिंदै भाष्करसित लुकामारी खेल्न खोजेझैं गरिरहेछन् । उज्यालो छ । सिरसिर चलिरहने बतास छ । रुखहरुको हरियाली र चराहरुको चिरबिर सबै थोक छ । छैन त यहाँ पृथ्वीमा केवल देउराली माइज्यूहरुको चमक । यहाँ फगत एक फिक्का फिक्का, सुख्खा सुख्खा र उदास उदास हाँसो छ । क्लान्त मुस्कान छ र सनातनी संस्कारले गाडेका अदृश्य नीलडामहरु छन् । म त्यहाँ आशा खोज्छु र भविष्य खोज्ने प्रयास गर्छु । सायद म त्यहाँ एउटा भाव पढिरहेको हुन्छु, सास रहे आस हुन्छ भन्छन् । धेरै आसले साथ पनि छोड्न सक्छ, निराशाले लामो समयसम्म अँठ्याइरहन्छ । र धेरै मानिसहरु यस्तै कुनै न कुनै आसको त्यान्द्रो समातेर जीवन बाँचिरहेका हुन्छन् ।”( पेज २५-२६) उम्दा काव्यात्मक अभिब्यक्तिको यो सुन्दर दृष्टान्त हो ।

पछिल्लो समय अत्याधुनिक प्रबिधिको बिकासले चिट्ठी पत्र लेखनलाई बिस्थापित गरिदिएको छ । नयाँ पुस्ताका मानिसले आकाशवाणी अर्थात् आवाको बिषयमा थाहै पाएनन् । सामाजिक सञ्जालका रुपहरु मेसेन्जरमा छिनकाछिनमा सम्पर्क हुने, फेस टाइमबाट आमने सामने बसेर झैं प्रत्यक्ष कुराकानी गर्न पाईने भएपछि चिट्ठी पत्र बिस्थापित भयो

सर, गुरु र गुरुजी” मा प्राध्यापक तथा समालोचक हिरामणि शर्मा पौडेल सन्दर्भित छन् । “कति छिटो जिन्दगीको गिलास ग्याम्बे गरेको” मा अखिल नेपाल फूटबल सङ्घका का.वा. अध्यक्ष ललीतकृष्ण श्रेष्ठ बिजुलीको करेण्ट लागेर मृत्यु भएको सन्दर्भमा उनको योगदानको चर्चा गर्दै लेखिएको ब्यक्ति केन्द्रित संस्मरणात्मक श्रध्दाञ्जली हो । त्यसै गरी “असमयमा अस्ताएको एउटा खेलकूद भविष्य” अर्का खेलकूदसँग सम्बन्धित व्यक्तित्व लक्ष्मण श्रेष्ठको अवसानमा लेखिएको श्रध्दान्जलीमूलक निबन्ध हो । उनी नेपाल खेलकूद महासँघका प्रथम उपाध्यक्ष थिए ।  “बेड नम्बर पाँच” निबन्ध मस्कुलर डिस्ट्रफी रोगले वितेका आफन्त जन युगिन थापाको श्रध्दान्जली हो । अस्पतालको बेडमा मृत्युसँग जुधिरहेका युगिनको कथा नीजि र पारिवारिक भए पनि सार्वजनिक महत्वको र सार्वकालीक लाग्छ । किनभने त्यहाँ एउटा सम्वेदनशील लेखकको हृदयले अनुभूत गरेका अनुभवलाई समस्थितिमा भएका जो कोहीले आफ्ना अनुभव र अनुभूतिसँग साम्यता पाउन सक्छन् ।

निबन्ध साहित्यको यस्तो बिधा हो जसमा सबै बिधा अटाउन सक्छ । अलिकति आख्यान, अलिकति कविता, अलिकति दर्शन, अलिकति नाटकियता, अलिकति जीवनको नीजि अनुभव, अलिकति दार्शनिक चिन्तन, अलिकति यात्राका अनुभव अनुभूति पनि हो निबन्ध । नेपाली निबन्धमा यौटा कोशेढुङ्गा स्थापित गर्ने श्रेय महाकवि देवकोटालाई जान्छ । त्यो कीर्तिस्तम्भ र उँचाई नेपाली साहित्यमा सदावहार छ । अर्को कीर्ति स्तम्भका निर्माता हुन् शंकर लामिछाने जसले निबन्धमा निजात्मकता र आख्यानको जलप लाएर अधिक सुपाठ्य र सहज सम्प्रेषणीय बनाइदिए । कतिपय विद्वानहरुको मतमा आजको नेपाली निबन्ध महाकवि देवकोटा र शंकर लामिछानेको निबन्धकारिताको सम्मिश्रणको नयाँ रुप हो । हुन सक्छ, यसमा चर्को मतमतान्तर होला । नेपाली निबन्धमा कृष्णचन्द्र सिंह प्रधान, माधबप्रसाद पोखरेल, अभि सुवेदी, गोविन्दराज भट्टराई जस्ता हस्तीहरुको आफ्नै प्रकारको दरिलो उपस्थिति र उँचाई छ । तर महाकवि देवकोटा र शंकर लामिछानेका कीर्तिस्तम्भ अद्यापि शिखरमै भएकोमा भने विवाद देखिंदैन ।

निबन्धकार जयदेवले आफ्ना निबन्धमा यात्राका सम्झना र अनुभूतिलाई समावेश गरेका छन् । बङ्गबन्धु अन्तर्राष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगितामा बङ्गलादेशको ढाका जाँदाको यात्रानुभवयुक्त निबन्ध हो “सम्झनाको क्षितिजबाट ढाका चिहाउँदा” । त्यस्तै “मलेशियामा सातेयको स्वाद” सिंगापुरबाट बस यात्रा गर्दै मलेशियाको भ्रमण गरेको यात्रा कथा हो जसलाई उनले सुपाठ्य निबन्धको स्वरुपमा ढालेका छन् ।

मनको कलकलमा मुक्तक मन्थन” नेपाली कविता साहित्यको एक लोकप्रिय स्वरुप मुक्तकको बिषयमा चर्चा गरिएको निबन्ध हो । यो निबन्धमा अलिकति पुस्तक समीक्षा, अलिकति समालोचनात्मक धारणा र अलिकति मुक्तकको विकासका प्रसङ्गहरु आएका छन् । टिकटमा मुक्तक कार्यक्रम रङ्गमञ्चमा प्रस्तुत गरेर यसलाई लोकप्रिय बनाउने पोखरेली युवा साँस्कृतिक परिवारको समेत चर्चा गरिएको छ ।

विसं २०७२ सालको बिनाशकारी महाभूकम्पको एक साक्षी उनले त्यसको अनुभूतिलाई र बिश्वब्यापि महाविनाशकारी कोरोनाको विषयलाई पनि आफ्नो निजानुभूतिसहित निबन्धको स्वरुपमा प्रस्तुत गरेका छन् । “फरक दर्शनमा बीपी कोइराला” विपीमाथि लेखकको विचार र धारणाको प्रस्तुति हो । “निर्बन्ध यात्रीका उत्ताल तरङ्ग” गोविन्द गिरी प्रेरणाको यात्रा निबन्धकारिता विषयक निबन्ध हो ।

कुनै पनि लेखकको नीजि अनुभव र जीवनका विविध पाटा र पक्षले लेखनमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको हुन्छ । ती पक्ष र पाटाहरु पनि प्रत्यक्ष र परोक्ष रुपमा लेखनमा अवतरण हुन्छन् ।  “साहित्य लेख्नेहरुको कथा” मा उनले बिभिन्न स्वदेशी बिदेशी साहित्यकारहरुका आनिबानी, तिनका जीवनमा झिल्काहरु, तिनका कृति पढ्दाका अनुभव, तिनका बारेमा लेखकका विचार प्रस्तुत गरेका छन् । लेखकको बारेमा उनको मत छ, ” लेखक त्यो अजिव जीव हो जसले जीवनलाई विभिन्न बान्कीमा, सायद अन्य जोसुकैले भन्दा पनि फरक रङ्गमा बाँचेको हुन्छ र त्यत्तिकै भोगेको पनि हुन्छ – परेर, पढेर, सुनेर वा कल्पेर । र यस मानेमा हरेक लेखक पूर्ण मनुष्य हो । उसले आफ्नो बारेमा कम लेख्छ, तर अरुको बारेमा अझ, समस्त मानवकै बारेमा मात्र नभई प्राणी र अप्राणीसमेत कुनै विषयमा लेख्छ र अथाह अथाह लेख्छ । लेख्दै जान्छ ।”(पेज ४२)

निबन्धकार शंकर लामिछानेले अरुका लागि र आफ्नै लागि पनि पत्र (प्रेम पत्र) लेखेर कलमलाई साहित्यिक लेखनमा जगाएका थिए । पारिजातले पनि लेखनमा आउनु अघि प्रेमपत्र लेख्ने गरेकी थिइन् । निबन्धकार जयदेवले पनि आफ्नो लेखन यात्राको शुरुवातको, शुभारम्भको, प्रस्फुटनको श्रेय चिट्ठी लेखनका लागि दिएका छन् । पछिल्लो समय अत्याधुनिक प्रबिधिको बिकासले चिट्ठी पत्र लेखनलाई बिस्थापित गरिदिएको छ । नयाँ पुस्ताका मानिसले आकाशवाणी अर्थात् आवाको बिषयमा थाहै पाएनन् । सामाजिक सञ्जालका रुपहरु मेसेन्जरमा छिनकाछिनमा सम्पर्क हुने, फेस टाइमबाट आमने सामने बसेर झैं प्रत्यक्ष कुराकानी गर्न पाईने भएपछि चिट्ठी पत्र बिस्थापित भयो । तर कतिपय लेखक चिट्ठी पत्रबाटै लेखनमा आएका दृष्टान्तमा निबन्धकार जयदेव पनि थपिएका छन् । त्यसैको स्वीकारोक्ति हो “चिट्ठी लेख्दै बनेको लेखन गोरेटो” । “गाउँलेहरुका घरायसी चिट्ठी, आमाबाबुको तर्फबाट छोरानातीलाई र अनेक पटक त परदेशिएका श्रीमान्लाई निश्छल गाउँले बालाहरुको तर्फबाट भावुक, मार्मिक एबम् दैनन्दिनका ऊहापोह र उच्छवासहरुले भरिपूर्ण चिठी लेखिदिने पनि र मुग्लानबाट आएका दीर्घ प्रतीक्षित पत्रहरु पढिदिने पनि गर्दथें । …मेरो लेखनयात्रा अनायास त्यसरी शुरु भएको थियो …“(पेज ५०-५१)। उनको स्वकथन हो यो । यो चिठी लेखनले उनलाई ग्रामिण जीवनका दुःख पीडा र अनन्त बेदनाहरुसँग समेत साक्षात्कार गरायो जसले भविष्यको लेखकको लागि जग समेत बनाइदियो ।

पुस्तकको भूमिकामा भीष्म उप्रेतीको मत छ, “यी निबन्धहरुमा जयदेव गौतमलाई नेपाली निबन्धकारहरुसँग उभ्याउँदा आफू अलग्गै हुन खोजेको लाग्दछन ।”(पेज छ)

भीष्मको हो भनाइमा बिमति राख्नुपर्ने देखिंदैन ।

निबन्धकार जयदेवले लेखकीयमा भनेका छन्, “प्रस्तुत निबन्धहरु आफैंमा निर्बन्ध रचना हुन्, बिन्दास रचना हुन् ।”(पेज ट)

यो लेखकीयमा पनि फरक मत राख्नुपर्ने देखिंदैन ।

यो निबन्ध सङ्ग्रहले नेपाली वाङ्मयको भण्डारमा एउटा खँदिलो निबन्धकृति थपिएको महसुस गराउनेछ पाठकलाई । यी निबन्धले भाषा र शैली खारिएको लेखनको अनुभूति दिलाउँछन् । यद्यपि सबै निबन्धहरु उच्चकोटिका छैनन् । त्यो हुन सम्भव पनि छैन । मूलतः आत्मपरक निबन्धहरु बढी गहकिला छन् ।

२३ मे २०२४, फल्स चर्च, भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?