+
+

शनिबार नेपाली फिल्मको ब्यापारमा उछाल, हलिउडको ‘म्याड म्याक्स’ पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १४:५४
हल भिजिटमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’का कलाकार ।

काठमाडौं । बेलुकीसम्मको अकुपेन्सी हेर्दा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ले प्रदर्शनको तेस्रो दिन शनिबार एकैदिनमा कम्तीमा १ करोडभन्दा बढीको ग्रस कलेक्सन गर्ने प्रक्षेपण छ ।

बुद्ध जयन्तीको सन्दर्भमा बिहीवार रिलिज भएका यी दुबै फिल्मले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रसभन्दा कमको ओपनिङ गरेका थिए । तर, शनिबार कमाईमा उछाल आउने स्पष्ट छ ।

शनिबारीय संयुक्त ब्यापार साढे दुई करोड हाराहारीमा पुग्ने अनुमान छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरको ब्यापार दुबै टेरिटोरीमा उत्कृष्ट छ । पूर्वका सहरमा दुबै फिल्मको ब्यापार केही कमजोर देखिन्छ । काठमाडौंदेखि पश्चिम नेपालमा दुबैको कलेक्सन उच्च देखिन्छ ।

‘फर्की फर्की’ले खासगरि सहरी क्षेत्र (अर्बन टेरिटोरी)मा उच्च ब्यापार गरेको छ । काठमाडौं उपत्यकासहित पोखरा, नारायणगढ, बुटवल क्षेत्रमा अनमोल केसी स्टारर फिल्मको अकुपेन्सी शतप्रतिशत छ ।

अर्धसहरी क्षेत्रका हल र उपत्यकाभन्दा बाहिर (विशेषगरि पश्चिम नेपाल)मा ‘पुजार सार्की’को अकुपेन्सी बलियो छ । ती क्षेत्रमा प्रदीप खड्का स्टारर फिल्म हाउसफूल हुँदा अनमोलको फर्की फर्की ७० देखि ८० प्रतिशत हाराहारीमा छ । देशभर नै यी दुईबीच ब्यापारमा प्रतिस्पर्धा देखिन्छ ।

यी दुई फिल्म जहाँ-जहाँ चले, ती ठाउँका दर्शकले कस्तो स्वादका फिल्म रुचाउँछन् भन्ने कुराको परिक्षण पनि यो सप्ताहन्त बनेको छ ।

पहिलो सप्ताहन्तपछि यी दुई फिल्मलाई मंगलबार गणतन्त्र दिवसको फाइदा मिल्ने देखिन्छ । त्यसको दुई दिन लगत्तै दोस्रो सप्ताहन्तको फाइदा पनि यी दुईले उठाउने देखिन्छ ।

रोचक कुरा के छ भने, पाँचौ सातामा पनि ‘बोक्सीको घर’ले जति शोज पाएको छ, ती सबैमा केकी अधिकारी स्टारर फिल्म हाउसफूल देखिन्छ । शुक्रबारदेखि रिलिज भएको हलिउडको ‘फ्युरिओसा’को ओपनिङ अपेक्षाभन्दा कम देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विस्फोटक ओपनिङ गरेको ‘म्याड म्याक्स’ श्रृंखलाको नेपाल ओपनिङ अपेक्षाभन्दा कम हो । गत साता कान्समा प्रिमियर भएको यो फिल्म केही सीमित हलमा मात्र रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?