+
+

राष्ट्रिय ललितकला प्रदर्शनीमा ४८२ कलाकारका ५२२ कलाकृति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:२६

काठमाडौं । ललितकला प्रज्ञा प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने नारासहित ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ आयोजना गर्ने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

प्रदर्शनीमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिने छ । कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बागमती प्रदेशबाट २३३ कलाकारका २६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, लुम्बिनी प्रदेशबाट ७० कलाकारका ७०, कर्णाली प्रदेशबाट २३ कलाकारका २८ र सुदूरपश्चिम प्रदेशबाट ४२ कलाकारका ४३ कलाकृति गरी ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा रहने उल्लेख छ ।

अप्रतियोगीअन्तर्गत ७६ कलाकृति समावेश छन् । विधागत रूपमा समसामयिक चित्रकलाका १७८ कलाकारका १९१, परम्परागत चित्रकलाका ८४ कलाकारका ८९, आधुनिक मूर्तिकलाका ३७ कलाकारका ४१, परम्परागत मूर्तिकलाका २१ कलाकारका २३, लोककलाका ४७ कलाकारका ५१, हस्तकलाका ६२ कलाकारका ६८, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत छविकलाका २८ कलाकारका ३३, प्रतिस्थापन कलाका ७ कलाकारका ७, कार्टुनका ११ कलाकारका १२, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारका १, भिडियो आर्टका १ कलाकारका १, भावभङ्गिमा कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहनेछन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रादेशिक ललितकला प्रदर्शनी-२०८० गरी त्यहाँबाट छानिएका कलाकृतिलाई राष्ट्रिय प्रदर्शनीमा समेटेको बताए । यस पटकको प्रदर्शनीले भिन्न र समावेशी तवरमा जनसाधारण तह-तप्कादेखि सामाजिक, राजनीतिक नेतृत्ववर्ग समेतमा चासो व्यक्त गरेको बताए ।

सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रदर्शनीको तयारी अन्तिम चरण पुगेको जानकारी दिए । सातै प्रदेशबाट छानिएका उत्कृष्ट कलाकृति प्रदर्शनीमा अवलोकन पाइने उनले बताए ।

प्राज्ञसभा सदस्य तथा क्युरेटर प्रदीप शाक्यले प्रदर्शनीको क्युरेटिङ स्वस्तिक थिममा रहेर गरिएको बताए । उनले साधक र साधनासँगै प्रदर्शनीको मूलभावको विषयलाई क्युरेटिङमा मुख्य रूपमा ध्यान दिएको बताए ।

यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर (पूर्वकुलपति) र श्यामवदन श्रेष्ठ (वरिष्ठ हस्तकलाकार)लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ र सम्मानपत्र छ । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरिने छ । पुरस्कारको राशि एक लाख र सम्मानपत्र छ ।

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक मूर्तिकलातर्फ श्रवणकुमार महर्जन, परम्परागत चित्रकलातर्फ महेश्वर डंगोल, परम्परागत मूर्तिकलातर्फ सुमन शाक्य, हस्तकलातर्फ विनोदकुमार बज्राचार्य, लोककलातर्फ विजयकुमार दत्त कायस्थ, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्यलाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र छ ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोशीबाट सामना राई (भावभंगीमा कला), मधेशबाट विगुल ढकाल (समसामयिक चित्रकला) बागमतीबाट अनमोल रत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट मिमबहादुर राना मगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र छ ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ जेठ १५ देखि ३० गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?