+
+

गणतन्त्र नागरिकको जीवनशैली भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ७:५६

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गणतन्त्र नागरिकको जीवनशैली भइसकेको बताएका छन् ।

१७औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताएका हुन् ।

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति भएको उनको भनाइ छ ।

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको जनाउँदै उनले यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताए ।

प्रधानमन्त्रीले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको बताए ।

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पुर्‍याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका सहिदहरूको स्मरण गर्दै प्रधानमन्त्रीले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्तगता भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले बेपत्ता दिदीबहिनी दाजुभाइप्रति सम्मान प्रकट गरे ।

यस्तै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पनि शुभकामना दिंदै शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गरेका छन् ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव भएको बताएँदै संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिक/समावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?