+
+

सेनाको बंकर विस्थापित गर्ने अभियानलाई १ अर्ब ५० करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:५४

१५ जेठ, काठमाडौं । माओवादी द्वन्द्वको समयमा नेपाली सेनाले सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर विस्थापित गर्ने अभियानलाई सरकारले निरन्तरता दिएको छ ।

संसद्मा अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाली सेनाको ‘बंकर टु ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनका अनुसार, यो अभियानका लागि यस आर्थिक वर्षमा १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्टाइएको बताए । रक्षा मन्त्रालयलाई कुल ५९ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाएको उनले उल्लेख गरेका छन् ।

नेपाली सेनाले आर्थिक वर्ष २०६६-०६७ बाट १० वर्षे परियोजना अनुसार, बंकरलाई विस्थापित गर्ने अभियान चलाएको थियो । तर, कहिले पर्याप्त बजेट विनियोजन नहुँदा त कहिले कोभिड १९ लगायतका समस्याका कारण अभियानले लक्ष्य अनुसार गति लिन सकेन ।

जंगीअड्डाले गरेको अध्ययन अनुसार, सेनाका बंकरलाई विस्थापित गर्न ५ हजार ८ सय ५० वटा संरचना बनाउन आवश्यक थियो । तर, हालसम्म साढे ३ हजार मात्रै संरचना निर्माण भएका छन् ।

माओवादी द्वन्द्व सुरु हुनुअघि ४५ हजार जनशक्ति रहेको ०६२/०६३ सालसम्ममा करिब ५५ हजार सैनिक थपिएका थिए । तर, सोही अनुपातमा भौतिक पूर्वाधार निर्माण हुन नसक्दा ठूलो संख्यामा सिपाहीहरु बंकरमा बसेका थिए ।

०६७ सालमा व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले देशभर रहेका सैनिक ब्यारेकको निरीक्षणपछि बंकर विस्थापित गर्न निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?