+

नेपालको सुपर–८ सपनामा नेदरल्यान्ड्सको खेल निर्णायक

२०८१ जेठ  १६ गते १९:२७ २०८१ जेठ १६ गते १९:२७
नेपालको सुपर–८ सपनामा नेदरल्यान्ड्सको खेल निर्णायक

१६ जेठ, अमेरिका । अमेरिका र वेष्टइण्डिजमा शनिबार सुरु हुने आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालको लक्ष्य सुपर–८ सम्म पुग्ने रहेको छ । नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, बंगलादेश र श्रीलंका छन् ।

शीर्ष दुई टोलीले सुपर–८ मा स्थान बनाउनेछन् । नेदरल्यान्ड्स एसोसिएट देशहरुको शीर्षस्थानमा छ भने अन्य तीन देश टेस्ट मान्यताप्राप्त हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वरियताका आधारमा यो समूहमा रहेकामध्ये नेपाल सबभन्दा कमजोर टोली हो ।

तर टी–२० क्रिकेटको कुनै भर हुँदैन । एक बल वा ओभरले खेलको पूरा दृश्य परिवर्तन गरिदिन सक्छ । नेपालको आशा पनि त्यही नै हो । नेपाल शानदार प्रदर्शन गरेर सुपर–८ मा पुगेमा र सबै चार खेलमा पराजित भएमा पनि आश्चर्य मान्नुपर्दैन ।

नेपालले ४ जुनमा डालासमा रहेको ग्राण्ड प्रेरी भ्यू रंगशालामा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले नेदरल्यान्ड्स र बंगलादेशलाई हराएर सुपर–८ मा पुग्ने आशा राखेको छ । दुई खेल जित्दा नेटरनरेटमा शीर्ष दुईमा रहने सम्भावना बढी रहन्छ ।

गत फेब्रुअरीमा आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेदरल्याण्ड्स र नेपालले समान एक खेल जितेका थिए भने एक खेलमा पराजित भएका थिए । त्रिकोणात्मक टी–२० आई सिरिजमा तीनमध्ये फाइनलसहित दुई खेल नेदरल्यान्ड्सले जितेको थियो ।

टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । आईसीसी टी–२० विश्वकप २०२२ र एकदिवसीय विश्वकप २०२३ मा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराएको थियो ।

काउन्ट्री र विदेशी फ्रेन्चाइज लिग खेल्ने खेलाडी बढी हुँदा नेदरल्यान्ड्सले ठूला टोलीलाई स्तब्ध पार्दै आएको छ । नेदरल्याण्डसका खेलाडीमा दबाबमा खेल्ने बानी पनि परेको छ ।

‘कुनैपनि प्रतियोगिता सुरुवात गर्दा जित निकाल्न सकियो भने त्यो लय अगाडिका खेलहरुमा कायम रहन्छ । अगाडिका खेलमा जित निकाल्न थप मनोबल प्राप्त हुनसक्छ । नेपाल र नेदरल्यान्ड्स दुबैलाई एक अर्काको कमजोरी र बलियो पक्ष राम्रोसँग थाहा छ । त्यसैले आफ्नो उत्कृष्ट क्रिकेट खेलेर हामीले नेदरल्यान्ड्सलाई हराउन सक्छौं’, विश्लेषक रवि तिमिल्सिनाले भने ।

नेपालले विश्वकपमा नेदरल्याण्डससँग नै पहिलो खेल खेल्न पाउनु अवसर र चुनौती दुबै हो । किनकी उसलाई जितेमा उच्च मनोबलका साथ अरु टिमसँग खेल्न सक्नेछ । पराजित भएमा मनोबल कमजोर बन्न सक्छ ।

‘विश्वकपमा हाम्रो मुख्य उद्देश्य नेदरल्यान्ड्ससँग पहिलो खेल जित्नु हो । पहिलो खेलमा जितका साथ मोमेन्ट्स क्यारी गर्न चाहन्छौं । जुन हिसाबले यसै साता तीन टी–२० आई सिरिजमा अमेरिकाले बंगलादेशलाई दुई खेलमा हरायो । हामी सुपर–८ मा पुग्न धेरै सम्भावना छ । सुपर–८ भन्दा पनि पहिलो लक्ष्य नेदरल्यान्ड्सलाई हराउने र त्यसपछि मोमेन्ट्स लैजाने हो’, कप्तान रोहित पौडेलले भने ।

त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो । बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीले ३ विकेट लिएपछि नेदरल्यान्ड्स १२० रनमा अल आउट भएको थियो ।

टी–२० आईमा नेपाल र नेदरल्यान्ड्सबीच कुल १२ खेल भएका छन् । नेपाल ५ मा विजयी र ६ मा पराजित भएको छ । नेपालले जितेका ५ मध्ये घरेलु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ३, ओमानमा २०१९ मा एक र २०१५ मा नेदरल्यान्ड्समा एक थिए । ओडीआईमा ५ खेल हुँदा नेपाल २ खेलमा विजयी भएको छ ।

‘गत फेब्रुअरीमा प्रतिशले राम्रो बलिङ गर्दा खेल जितेका थियौं । यस पटक हाम्रो प्लेइङ–११ के हुनेछ त्यो हेर्न लायक हुन्छ । डेब्यू सिरिजमा जस्तै कुशल (भुर्तेल), आसिफ (सेख) नेदरल्याण्डको विरुद्ध राम्रो सुरुवात दिलाउन जरुरी छ’, रविले भने ।

२०२१ अप्रिलमा त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध आसिफ र कुशलले डेब्यू खेलमै अर्धशतक प्रहार गरेका थिए । पछिल्लो समय आसिफ र कुशलको प्रदर्शन सम्झनलायक छैन । तर नेपालले उनीहरुलाई निरन्तर विश्वास गरेको छ ।

विश्वकपमा ब्याकअप ओपनरको रुपमा अनिल साह छन् । उनले तेस्रो नम्बरमा आफूलाई प्रमाणित गर्न खोज्दैछन् । विश्वकपमा आसिफ र कुशलले ओपनिङमा राम्रो सुरुवात दिनेबाहेक अन्य विकल्प छैन ।

नेपालले विश्वकप तयारीको लागि दुई साताअघि वेष्टइण्डिजको सेन्ट भिन्सेन्टमा तीन र अमेरिकाको हुस्टनमा दुई टी–२० अभ्यास खेल खेलिसकेको छ ।

नेपालले सुपर–८ को सपना देखेको छ । तर घरेलु मैदानबाहिर नेपालको ब्याटिङ प्रदर्शन पहिलेदेखि नै खराब छ । आफ्नो स्तरको टोलीविरुद्ध निकै कम खेलमा मात्र राम्रो ब्याटिङ गरेको छ ।

आगामी मंगलबार नेदरल्यान्ड्ससँग विश्वकप खेल्ने ग्राण्ड पेरी रंगशालामा नेपाल क्यानडाले दिएको १८४ रनको लक्ष्य पछ्याउनेक्रममा १२० रनमा अल आउट भएको थियो । गत अप्रिलमा अल अमरेत मैदान ओमानमा एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल यूएईसँग ११९ रन बनाउँदै ६ विकेटले पराजित भएको थियो ।

त्रिवि क्रिकेट मैदान बाहिर नेपाली ब्याटरले किन राम्रो प्रदर्शन गर्न सक्दैनन् भन्ने प्रश्नमा रोहित भन्छन्, ‘विदेशी भूमिमा सबैलाई गाह्रो हुन्छ ।

जस्तो इंग्ल्यान्डको ब्याटरलाई भारतमा आएर गाह्रो हुन्छ । भारतीय ब्याटर दक्षिण अफ्रिकामा गएर गाह्रो अनुभव गर्दछन् । अन्य कन्डिसनमा भिज्न चुनौतीपूर्ण हुन्छ । तर खेलाडी भएपछि विदेशी भूमिका पनि कन्डिसन अनुसार आफूलाई प्रस्तुत गर्न एकदमै आवश्यक छ ।’

टी–२० विश्वकपमा भएका सबै १५ खेलाडी लगातार सँगै खेल्दै आएका छन् । पछिल्लो डेढ वर्षमा नेपालले आफ्नो टोलीमा एक–दुई जना भन्दा बढी खेलाडी परिवर्तन गरेको छैन । एक अर्काको खेल सबै खेलाडीले बुझेका छन् । यसले खेलाडीलाई खेलप्रतिको विश्वास बढ्नेछ ।

‘दुई तीन वर्षदेखि हामी एकै टिम छौं । सबै जना यू–१९ स्तरदेखि नै हामीसँगै खेल्दै आएका छौं । कम्बिनेसन र बोण्डिङ एकदमै राम्रो छ । त्यो हाम्रा लागि फाइदा हो । सँगै खेल्नुको सबैभन्दा बढी फाइदा एकता नै हो’, रोहितले भने ।

समूह डी मा कागजी रुपमा कमजोर हुँदा नेपाललाई गुमाउनु केही हुने छैन । गुमाउने डर बाँकी तीन टोलीलाई हुनेछ । त्यसैले नेपालले दबाबविना खेल्नेछ ।

‘टी–२० यस्तो खेल हो दुई ओभरमा परिवर्तन हुनसक्छ । नेपाल अहिले उत्कृष्ट मोमेन्ट्समा छ । यसलाई निरन्तरता दिएर हामीले जसलाई पनि हराउन सक्छौं । कागजलाई छाडेर मोमेन्ट्समा जाऊँ । सफलता कसरी पाउने र हरेक बल कसरी जित्ने त्यसमा काम गर्ने छौं । आशा छ हामीले विश्वकपमा राम्रो गर्ने छौं’, बलर सोमपाल कामीले भने ।

क्रिकेट टी-२० विश्वकप नेपाली क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय