+
+

‘तराईमा पानीको स्रोत जोगाउन चुरेमा जंगल बचाउनै पर्छ’

वनको क्षयीकरण, जथाभावी सडक निर्माण र खनजोत लगायत कारणले चुरेको कमलो माटो बगिरहेको छ । त्यसैले तराईको पानीको स्रोतलाई यथावत् राख्न चुरेमा जंगल र हरियाली जोगाउनैपर्छ ।

डा. नागेन्द्र यादव, चुरेविद् डा. नागेन्द्र यादव, चुरेविद्
२०८१ जेठ १८ गते २०:०७

तिब्बती र भारतीय प्लेटको टकरावले बनेको हिमालय शृङ्खलाको मुनि महाभारत पर्वत शृङ्खला छ । त्यसको ठीक मुनि चुरे क्षेत्र छ । तराईभन्दा माथि र मध्यपहाड भन्दा मुनिको पूर्व–पश्चिम फैलिएको एउटा साँघुरो भूभागलाई हामी चुरे भनेर चिन्दछौं ।

चुरे सबैभन्दा कान्छो पहाड हो । यो कमजोर र कमलो पनि छ । चुरेमा बलौटे माटो र स–साना ढुंगाहरू पाइन्छन् । तुलनात्मक रूपमा पश्चिममा केही कडा माटो र पहाड होला, तर पूर्वमा भने चुरे निकै कमजोर छ ।

चुरे नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको छ । नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत क्षेत्र चुरेले ओगटेको छ । अहिले ३७ जिल्ला चुरे क्षेत्रमा पर्छन् । चुरेको चौडाइ भने ठाउँ अनुसार फरक छ ।

कैलालीमा चुरेको सबैभन्दा ज्यादा फैलावट छ भने सिन्धुली लगायत आसपासका जिल्लामा कम छ । बर्दिबासबाट माथि लाग्दा सिन्धुलीको कमला नदीको केही भाग मात्रै चुरे हो । चुरे क्षेत्रमा मकवानपुरको हेटौंडा, दाङको घोराही, तुलसीपुर, उदयपुरको गाईघाट र कटारी जस्ता बजार र साना शहर पर्छन् ।

तराईको तुलनामा चुरेमा बढी पानी पर्छ । चुरे तराईको पानीको प्रमुख स्रोत पनि हो । त्यसैले चुरेलाई तराईको लाइफलाइन पनि भनिन्छ । पानी सोसेर पुनर्भरणको काम तराईका लागि चुरेले गरेको हुन्छ ।

तराईमा पानी पर्नुको एउटा कारण चुरे पनि हो । चुरेबाट उत्पन्न भएका कतिपय खोला नदीमा अहिले पनि १२ महिना नै पानी बग्छ । तर सुख्खा बढ्यो भने त्यो पानी तलसम्म पुग्दैन । यसरी चुरेको विनाशसँगै पानीको मात्रा पनि घट्दै जाने भयो ।

चुरेबाट हरेक वर्ष ठूलो मात्रामा माटो, गेगर र ढुंगाहरू खोला, नदी र खहरेले बगाउँदै तल पु¥याएको देखिन्छ । त्यसले गर्दा पूर्व–पश्चिम राजमार्गका कैयौं सडक र पुलहरू माटोले पुरिएका छन् । पहिले नदीहरू गहिरा थिए, तर पछि पुरिंदै गएपछि फैलिएर चौडा बनेका छन् । गेगर र हिलोले कैयांै पुल र सडक पुर्ने अवस्था आएको छ ।

तराईका कतिपय बस्ती खोलाको सतह मुनि परेका छन् । सप्तरीको राजविराज लगायत कतिपय क्षेत्रमा नदीमा बाढी आयो कि बस्तीमा पस्ने समस्या देखिएको छ । बगेर आएको माटो र गेगरले ती नदीहरू बस्ती भन्दा पनि अग्लो भएका छन् ।

यसरी तराईका प्रायः नदीहरूको सतह माथि उठेको छ । नदीमा गेगर र माटो थुप्रिएपछि पानीले धार परिवर्तन गर्छ । अवरोध भएपछि पानी अर्को धारबाट बग्न थाल्छ, अनि गाउँबस्तीमा छिर्छ । कतिपय ठाउँमा पानीको धारले जमिन खोलेर पुलका पिलरहरूलाई असर गरेको छ भने कतिपयमा माटो र गेगर थपिएकाले धार परिवर्तन भएको छ । कतिपय बाँधमा माटो पुरिएकाले सिंचाइ संरचना अवरुद्ध भएको छ ।

कुनै एउटा कारणले मात्रै चुरेको विनाश भएको होइन । सिरहाको बलान खोलामा आजभन्दा ३० वर्ष अगाडि सिंचाइका लागि ड्याम बनाइएको थियो । अहिले त्यो ड्याममा मानिस हिंडिरहेका छन् । कलकल पानी बग्नुपर्ने ठाउँमा अहिले बालुवाको खात छ ।

अहिले माथिपट्टि जथाभावी रूपमा कच्ची सडक खने, त्यसको माटो खोलामा आयो । अनि ड्याम र सिंचाइको कुलोमा बालुवा भरियो । स्थानीय सरकारले खोला तथा नदीनालामा पानी जम्मा गरेर ड्याम बनाउने र तल बग्न नदिने काम गर्नुपर्ने थियो ।

कमलो माटो भएकाले चुरेको माटो बढी बग्ने खालको हुन्छ । मध्यपहाडमा त्यस्तो हुँदैन, त्यहाँ पानी बगेपछि ढुंगाहरूले रोक्छन्, बलिया संरचना छन् । तर चुरेमा सानो पानी परे पनि माटो र गेगर बगिहाल्छ ।

चुरेमा वन र झाडीको विनाश भइरहेको छ । नांगो पहाडमा पानी पर्नासाथ त्यो जमिनमा सोसिने भन्दा पनि बग्ने क्रम बढ्छ । तर नांगिंदै गएको पहाडका कारण पुनर्भरणको सम्भावना पनि घट्दै गइरहेको छ । तराईको पानीको स्रोतलाई यथावत् राख्न पनि चुरेमा जंगल र हरियाली जोगाउनुपर्छ ।

चुरेमा आज एउटा रूख काटेमा भोलि नै त्यसको असर देखिन थाल्ने होइन । तर दीर्घकालीन रूपमा भने असर देखिन्छ । वनको क्षयीकरण, जथाभावी सडक निर्माण, खनजोत आदि कारणले चुरेको कमलो माटो बगिरहेको छ ।

बढ्दो जनसंख्या, प्राकृतिक स्रोतमाथि बढ्दो दबाब

चुरेमा अहिले जनसंख्याको चाप बढेको छ । २० वर्षअघि ३० लाख जनसंख्या भएको ठाउँमा अहिले ५० लाख पुगेको छ । तराई क्षेत्रमा बढिरहेको जनसंख्या पनि चुरेमै आश्रित हुनेभयो । तल्लो भेगमा बस्नेहरू पनि काठ, दाउरा, पातपतिंगरका लागि चुरेमै आश्रित छन् । जनसंख्या बढेसँगै चुरेमा प्राकृतिक स्रोतमाथिको दबाब बढ्दै गयो ।

चुरेमा पानी कम हुनुका अनेक कारण छन् । विश्वभर जलवायु परिवर्तनको असर देखिएको छ । अहिले सुख्खा सिजन चलिरहेको छ । केही वर्षयताको तथ्यांक हेर्ने हो भने वर्षभरिमा जति पानी पर्नुपर्ने थियो, त्यति नै पानी परिरहेको देखिन्छ । तर, पानी पर्ने अवधि घटेको छ ।

कम समयमा बढी पानी परेपछि नांगो पहाडबाट तत्काल रोडाढुंगा तल बग्छन् । छोटो अवधिमा मुसलधारे पानी पर्दा जमिनले जुन रूपमा पानी सोस्नुपर्ने हो, त्यो सक्दैन । चुरेमा पानीको पुनर्भरण कम भएपछि स्वतः त्यहाँ पानीका स्रोत सुक्ने भए ।

नेपालका खोला, नदीहरू दुई रूपमा निस्कन्छन् । एकथरी चुरे भएर निस्कन्छन्, अर्कोथरी चुरेबाट नै निस्किएका हुन्छन् । यी दुवैमा नदीजन्य पदार्थको मात्रा बढेको छ, जसले नदीको चौडाइको मात्रा बढेको छ । भिरालो क्षेत्रमा तीव्र गतिमा भूक्षय भएको छ ।

भिरालो क्षेत्रमा छोटो समयमा ठूलो पानी परेपछि तीव्र गतिमा तल हुत्तिन्छ, जसले ठूलो मात्रामा माटो, गेगर र साना ढुंगा बगाउँछ । अहिले तराईका कतिपय नदी र खोलाहरूबाट रोडा–ढुंगा लगायत नदीजन्य पदार्थ निकाल्ने गरिएको छ ।

नदीजन्य पदार्थ खोलानालाबाट निकाल्नुपर्छ, निकालिएन भने समस्या देखिन्छ । अहिले तराईका कतिपय गाउँहरू नदीको सतह भन्दा तल पुगेका छन् । नदी माथि पुगेको छ, गाउँ तल छ । यस्तो अवस्थामा जुन कुनै बेलामा गाउँ डुबानमा पर्न सक्ने जोखिम छ ।

तटबन्ध भत्किए कुनै पनि बेला बाढी गाउँमा पस्छ । त्यस्ता नदीबाट नदीजन्य पदार्थ निकाल्नुपर्छ । त्यसका लागि कुन ठाउँबाट कति मात्रामा त्यस्तो पदार्थ निकाल्ने भनेर वातावरणीय अध्ययन हुनुपर्छ ।

हामीले सुझाव दिंदा नदीको चौडाइको तीन भागमा दायाँ–बायाँ एक एक भाग छाडेर बीचको भागबाट मात्रै नदीजन्य पदार्थ निकाल्नुपर्छ भन्छौं । त्यसो हँुदा दायाँ–बायाँको भागले नदीलाई यताउता बहकिन दिंदैन ।

दिनप्रतिदिनको वन विनाशले पनि पानी सञ्चित हुने क्षमता घट्यो । ठूला रूख मात्रै होइन कि झाडी बुट्यान जस्ता रूखहरू पनि घटेका छन् । एकातिर सोझै पानी जमिनमा ठोक्किन्छ, छोटो समयमा ठूलो पानी पर्दा माटोले पानी सोस्ने क्षमता गुमाउँछ ।

यो विनाशले तल्लोतटीय क्षेत्रमा बाढीले विनाश निम्त्याउँछ । गेगरहरू थुप्रिएकाले चुरे भएर बहने खोलानदीको पानी अट्ने क्षमता घटेको छ । २० वर्षअघि त्यति पानी पर्दा बाढी आउँदैनथ्यो, अहिले आइहाल्छ । चुरे विनाश हुँदा पनि असर पर्ने तल्लोतटीय क्षेत्रमा नै हो । त्यसले सोझै बस्तीमा असर गर्छ ।

चुरे जोगाउनु समस्याको समाधान

पूर्वी भागको तुलनामा पश्चिम क्षेत्रको चुरे तुलनात्मक रूपमा बलियो छ । चुरेमा संकट आएको भनेकै सिरहा, सप्तरी, सुनसरी लगायत क्षेत्र बढी जोखिममा परेर हो । बनावट नै यस्तो छ कि पश्चिमको तुलनामा पूर्वी चुरेको संरचना कमलो छ । ती क्षेत्रमा ज्यादा संवेदनशील हुन र संरक्षणका कामलाई केन्द्रित गर्न आवश्यक छ ।

अहिले ५३ प्रतिशत जनसंख्या तराईमा छ जुन समुदाय चुरेको ठीक मुनि बसिरहेको छ । चुरेमा निम्तिने संकटले यो पार्टी, त्यो पार्टी, यो कार्यकर्ता भन्दैन । विपत्ले सबैलाई समान रूपमा व्यवहार गर्छ । त्यसैले चुरेको मामिलामा हाम्रा नीतिनिर्माताहरू राजनीतिक स्वार्थबाट माथि उठ्नुपर्छ ।
अब चुरे संरक्षणका लागि राज्यको ध्यान केन्द्रित हुनुपर्छ ।

राष्ट्रपतिको नाममा चुरे संरक्षणका लागि एउटा समिति बनाइएको छ । एउटा संस्थाको प्रयासले मात्रै यसको विनाश रोक्न र संरक्षण अघि बढाउन सकिंदैन ।

पानीको धार र वेग कम गर्न कतिपय ठाउँमा बाँध र चेक ड्याम बनाउने गरिन्छ । जसले माथिबाट बगेर आएको पानीको बहावको धार रोक्छ अनि गिटी–ढुंगाहरूलाई तल बग्न दिंदैन । तर त्यहाँ सङ्गृहीत भएको ढुंगा र बालुवा भने हटाउनुपर्छ, नत्र त्यसको कुनै अर्थ हुँदैन ।

चुरे क्षेत्रका भिरालो ठाउँमा खनजोत गर्नुहँुदैन । वर्षेनि खन्नुभन्दा लामो अवधिमा फल्ने बाली लगाउनुपर्छ, जथाभावी बाटो खोल्ने क्रमलाई बढी नै निरुत्साहित गर्नुपर्छ । हरेक ठाउँबाट माथिल्लो तहमा बाटो खोल्ने परिपाटी निरुत्साहित गर्नुपर्छ ।

अहिले जथाभावी सडक बनाउने क्रम बढेको छ । सबैलाई घरघरमा जाने बाटो चाहिएको छ । चुरे क्षेत्र भएर नै उत्तर–दक्षिण जाने बाटो बनिरहेका छन् । त्यसरी बनिरहेको सडकको माटो छेउछाउमा फाल्ने हो । अर्कोतर्फ नयाँ बनेको बाटोको माटो पनि बगेर खोलामै पुग्ने हो ।

यस्तो काम गर्दा कुनै पनि प्रकारको वातावरणीय परीक्षण गरिंदैन । अर्कोतर्फ स्थानीय सरकारहरूले अहिले जथाभावी रूपमा बाटोलाई प्राथमिकता दिइरहेका छन् । सिरहाको गोलबजारमाथि खासै घर देखिंदैनन् । तर त्यहाँबाट माथिल्लो भेगमा जान बाटो खनिएको छ । नजिकै मिर्चैयाबाट कटारी जाने बाटो खनिएको छ ।

केही किलोमिटर भित्रै उस्तै खालको बाटो किन चाहियो भन्ने प्रश्न हो । गोलबजारबाट माथि जाने छुट्टै बाटो आवश्यक नै थिएन । रुपनीबाट गाईघाट जाने बाटो एक दशकदेखि बनिरहेको छ, जबकि त्यहाँ घरै छैनन् । सडक बनाउनुअघि यो कसका लागि हो र यसले कसलाई दीर्घकालीन असर पार्छ भन्नेबारे गम्भीरतापूर्वक सोच्नुपर्ने थियो, त्यो भएन ।

चुरे संरक्षणका लागि सरोकारवाला सबै निकायहरू संवेदनशील हुनुपर्छ । चुरेका खाली ठाउँहरूमा बाँस र अम्रिसो लगाउनुपर्छ । मझौला खालका रूखहरू पनि लगाउन सकिन्छ । घना जंगल भएको भए केही हदसम्म सुरक्षित हुन्थ्यो, अहिले जंगल नाश हुँदै गयो ।

कुनै एकाध व्यक्ति वा संस्थाको प्रयासले मात्रै चुरे जोगिंदैन । चुरे भनेको पहाड हो, त्यसलाई बचाउने र जोगाउने काम तपाइँ–हामी सबैको हो ।

(वन विज्ञानका अध्यापक एवं राष्ट्रपति चुरे संरक्षण विकास समितिका पूर्व सदस्य डा. यादवसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?