 
																			२९ जेठ, काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि यो वर्ष ३ हजार ३४१ जनालाई विपद् प्रतिकार्य तालिम दिएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार २०७६ सालदेखि नै सर्वसाधारणलाई समुदायमा विपद् प्रतिकार्यमा जोड्ने नीति अनुसार २७ हजार ९६६ जनालाई तालिम दिइसकिएको छ ।
‘यो वर्ष मात्र देशका विभिन्न स्थानमा रहेका सेनाका युनिटमार्फत ३ हजार ३४१ जनालाई तालिम दिइएको हो’, केसीले भने, ‘प्रदेश सरकार र स्थानीय पालिकासँग समेत सहकार्य गरेर उनीहरुलाई यस्तो तालिम दिइएको हो ।’
नेपालमा सोमबारबाट कोशी प्रदेशमार्फत मनसुन भित्रिसकेको छ । यस्तोमा मनसुनजन्य विपद् प्रतिकार्यका लागि सैनिक टोलीलाई तैनाथ राखिएको केसीले अनलाइनखबरसँग बताए ।
‘प्रत्येक पृतना हेडक्वार्टरहरुमा कम्पोसाइट सर्च एण्ड रेस्क्यू (सीएसएआर) टिमले मातहतका फौजलाई समय समयमा तालिम दिएका छन्’, उनले भने, ‘यसरी तालिम प्राप्त फौजले स्थानीयसँग समेत मिलेर विपद्को प्रतिकार्य गर्नेछ ।’
केसीका अनुसार, सेनामा सामान्यतः प्रत्येक युनिटको एक तिहाइ फौज हरहमेसा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिने गरिएको छ । यसको साथै छुट्टै विशेषज्ञ तालिम प्राप्त जनशक्तिको संख्यालाई बढाउँदै लगिएको उनले बताए ।
‘विपद्मा खटिनका लागि सेनाको कुनै पनि युनिटले कसेको निर्देशन लिनु पर्दैन’, केसीले भने, ‘विपद्को खबर पाउने वित्तिकै घटना भएको ठाउँमा तैनाथ फौज खटिएर उद्दार कार्य गर्नेछ ।’
परिचालन भएपछि मात्र त्यसको जानकारी माथिल्लो निकायमा दिइने उनले बताए । मनसुनजन्य विपद्लाई लक्षित गरेर मुलुकका २७ जिल्लाका ६१ स्थानमा अभ्यास मनसुनको चौथो श्रृंखला चलाइएको पनि केसीले बताए ।
‘मनसुनको समयमा देशका विभिन्न स्थानमा हुने भारी वर्षाबाट बाढी, डुबान र पहिरो जस्तो प्राृकितक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरेर प्रभावितलाई तत्काल उद्दार र राहत कार्य प्रभावकारी रुपले सञ्चालन गर्न यो अभ्यास गरिएको हो’, उनले भने, ‘राष्ट्रको विपद् क्षमता अभिवृद्धि गर्न सेनाले विभिन्न तहमा सरोकारवालालाई सहभागी गराएर एकीकृत अभ्यास हातेमालो पनि सञ्चालन गर्दै आएको छ ।’
विपद् उद्दारका लागि मात्र सेनाका १० हजार ८ सय ४७ जनशक्ति, प्रहरीका १० हजार ५ सय ८५ र सशस्त्र प्रहरी बलका १ हाजर ९२४ तालिम प्राप्त जनशक्ति खटाउने गरी तयारी गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले समेत बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा केही दिनअघि विपद् पूर्वतयारीबारे बोल्दै उनले राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणले जोखिमयुक्त घोषणा गरेका स्थानमा मनसुन अगावै जनचेतना बढाउने र पूर्वतयारी गर्ने काम थालिसकिएको बताएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4