+
+
WC Series
पोखरा एभेन्जर्स 2025
131/4 (16.1)
VS
२३ बलमा ३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

पानी माग्दै गाग्री बोकेर गाउँपालिका कार्यालय पुगे रेक्चाका बासिन्दा

यज्ञ खत्री यज्ञ खत्री
२०८१ जेठ ३१ गते २०:३८

३१ जेठ, सुर्खेत । गाउँमा खानेपानीको चरम अभाव भएपछि पश्चिम सुर्खेतका बासिन्दा गाग्री बोकेर आन्दोलनमा उत्रिएका छन् । चौकुने गाउँपालिका–५, रेक्चाका बासिन्दा बिहीबार दिउँसो डोकोमा गाग्री बोकेर गाउँपालिकाको कार्यालय पुगेका छन् ।

रेक्चाबाट गाउँपालिकाको केन्द्र गुटु आएका उनीहरूले पिठ्युँमा गाग्रीसहितको डोको र हातमा पर्चा, बोकेका थिए ।

उनीहरूले बोकेको पर्चामा लेखिएको छ, ‘२१ औं शताब्दीमा एक गाग्री पानीका लागि कति वर्ष कुर्ने सरकार ?’ रेक्चा खानेपानी सङ्घर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले ‘खानेपानी समस्या समाधान गर’, ‘संवैधानिक मौलिक हक लागु गर’ भन्दै नाराबाजी समेत गरे ।

खानेपानीको लागि कुवाको भर पर्दै आएकामा यो वर्ष खडेरीले सबै कुवा सुकेपछि पालिका घेराउ गर्न बाध्य भएको खानेपानी सङ्घर्ष समितिका संयोजक तपेन्द्र क्षेत्री बताउँछन् । ‘रेक्चामा पानीका स्रोतहरू छैनन्, कुवाकै भर पर्नुपर्छ । यो वर्ष खडेरीका कारण सबै कुरा सुके, गाउँमा खानेपानी हाहाकार छ’, उनले भने, ‘हामी पानीबिनाको माछा जस्तै भएका छौँ ।’

झण्डै ८० घरधुरी रहेको रेक्चामा खडेरीका कारण कुवा सुक्दा स्थानीय बासिन्दामा पानीको हाहाकार भएको छ ।

वडा सदस्य समेत रहेका संयोजक तपेन्द्रका अनुसार रेक्चामा २०१६ सालमा बनाइएका १० मध्य ८ वटा कुवा प्रयोगविहीन छन् । बाँकी रहेका दुई वटा कुवा पनि खडेरीका कारण सुकिसकेको छ । खडेरीको समय बाहेक दिनमा २ गाग्री पानी वितरण हुँदै आएको थियो ।

उक्त पानीले खाना पकाउने, पिउने, हातमुख धुने, सरसफाइ गर्ने । गाईबस्तुलाई समेत खुवाउनुपर्ने स्थानीयको बाध्यता छ ।

‘पानी पु¥याउदेऊ भनेर कुन सरकारलाई भनिनौ र हामीले ? सांसद, राज्यमन्त्री, मन्त्री, मुख्यमन्त्री सबैलाई भेट्यौ, भन्यौं’, तपेन्द्रले भने, ‘तर कसैले सुनेनन् हाम्रो समस्या । अनि आन्दोलनको विकल्प नै भएन हामीसँग ।’

केही वर्षअघि कर्णाली प्रदेश सरकारले १ करोड २६ लाख रुपैयाँ लागतमा लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । तर उक्त बजेट आयोजनाका लागि पर्याप्त भएन, अर्कोतिर विद्युतको पहुँच नहुँदा अहिले सो आयोजना नै अलपत्र छ । ‘भोट माग्न जति नेताहरू आए पनि खानेपानी पु¥याउँछु भन्छन् तर काम कहिल्यै गर्दैनन् । हामीले धेरै नेताको आश्वासन पायौं तर पानी पाएनौं’, संयोजक तपेन्द्र भन्छन् ।

रेक्चामा खडेरीका कारण फागुन अन्तिमदेखि कुवामा पानीको सतह घट्दै जान्छ । जेठ महिनासम्म कुवा नै सुक्ने भएकाले पानीको हाहाकार हुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

रेक्चामा कुवाको हेरचाहकै लागि एक जना चौकीदार समेत राखिएको छ । चौकीदार जगत शाहीले बिहान ५ देखि राति १० बजेसम्म पानी वितरण गर्ने गरिएको बताए । उनले विवाह, व्रतबन्ध र मृत्यु संस्कारमा भने अरूको पानीको भाग कटाएर अनि बढी दिने गर्दै आएका छन् ।

पानीकै अभावकै कारण महिना दिनसम्म नुहाउन र कपडा धुन नपाएको स्थानीय जगतबहादुर बुढाले दुखेसो गरे । ‘रेक्चामा खानेपानी योजनाका लागि भन्दै पञ्चायत कालमै काठमाडौँसम्म पुग्यौँ । त्यो पछि पनि धेरै पटक सरकारलाई गुहारिऊँ’ ७९ वर्षका उनले भने, ‘पानी माग्दा माग्दै दुई तीन वटा व्यवस्था फेरिए । तर हाम्रो गला कहिल्यै भिजेन ।’

झण्डै ५६० वर्ष पुरानो यो बस्तीमा आफूले थाहा पाउने बेलादेखि नै खानेपानी समस्या रहेको कुवाका चौकीदार ६९ वर्षका पदमसिंह बुढाले बताए । उनका अनुसार अहिलेका कुवाहरू २०१६ सालमा बनाइएका हुन् । पछि पानी चोरी हुन थालेपछि २०५५ सालबाट कुवा हेरचाहको लागि चौकीदार राख्न थालिएको हो ।

राष्ट्रिय जनगणना–२०७८ का अनुसार कर्णालीका ३५.६४ प्रतिशत बासिन्दामा मात्र खानेपानीको पहुँच छ । त्यसमध्ये पनि झण्डै ९६.५ प्रतिशत परिवारमा पानीको स्वच्छता परीक्षण हुन सकेको छैन।

३ लाख ६६ हजार ३७ घरधुरीमध्ये १ लाख ३० हजार ४६५ घरमा मात्र व्यवस्थित खानेपानी योजनामार्फत खानेपानी सुविधा पुगेको छ। बाँकी २ लाख ३५ हजार घरमा वैकल्पिक स्रोतबाट खानेपानी उपभोग गर्नुपर्ने बाध्यता छ । ४ हजार २७६ घरपरिवारले अझै पनि बाह्रै महिना खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?