+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कहाँ अड्कियो चक्रपथको कलंकी–बसुन्धरा सडक विस्तार ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १४:२९

४ असार, काठमाडौं । काठमाडौं चक्रपथअन्तर्गत दोस्रो खण्ड विस्तारको काम ६ वर्षदेखि गति लिन सकेको छैन । २ वर्षभित्र सक्ने गरी कलंकी–बसुन्धरा सडक विस्तार गर्न सम्झौता भएपनि हालसम्म काम नै सुरु हुन सकेको छैन ।

उक्त सडकखण्ड विस्तार गर्न नेपाल र चिनियाँ सरकारबीच २०१८ जनवरी १७ मा सम्झौता भएको थियो । तर सम्झौता भएको समयसीमा नाघेको ४ वर्ष भइसक्दा पनि सडक विस्तार परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनेको छैन ।

सडक विस्तारको काम अलपत्र बनेको भन्दै अहिले सरकारको पनि चौतर्फी आलोचना भइरहेको छ । चक्रपथ विस्तारकै विषयलाई लिएर पछिल्लो समय काठमाडौं महानगरपालिका र संघ सरकारबीच नोंकझोंक पनि भएको थियो ।

नेपाल र चिनियाँ सरकारबीच भएको द्विपक्षीय सम्झौतामा नेपालले गर्नुपर्ने काम भइसकेपछि मात्रै चिनियाँ पक्षले निर्माण सुरु गर्ने उल्लेख छ । सम्झौतामा साइट क्लियरेन्स, ढल, विद्युत्को पोल सार्ने, तारको व्यवस्थापन लगायतका कार्य सम्पन्न गर्नुपर्ने दायित्व नेपाल पक्षको छ ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख कृष्णनाथ ओझा सम्झौताअनुसार नेपालले आफ्नो सबै जिम्मेवारी पूरा गरेपनि चिनियाँ पक्षबाटै ढिलाइ भइरहेको दाबी गर्छन् ।

यद्यपि, पहिलेको सम्झौताभन्दा केही थप भौतिक संरचनाको निर्माणका लागि नेपालले चिनियाँ पक्षसँग माग राखेकाले त्यसमा सहमति जुट्न नसकेको ओझाको भनाइ छ ।

उनका अनुसार द्विपक्षीय सम्झौतामा उल्लेख भएका संरचनाबाहेक अतिरिक्त अन्डरपास, ढल निकास, ओभरहेड ब्रिज बनाउन नेपालले चिनसँग अनुरोध गरेको थियो । ‘नेपालले थप संरचना बनाउनका लागि चिनसँग माग गरेको हो । चीनले सक्दैनौं भन्यो,’ चक्रपथ विस्तार आयोजनाका प्रमुख ओझाले भने, ‘उनीहरुले सहजीकरण नगरे भने जेजे चाहिन्छ, हामी आफैं बनाउनुपर्दछ ।’

काठमाडौं महानगरका मेयर बालेन शाहले सडक विस्तारका लागि महानगरले गर्नुपर्ने सहजीकरण गरिसकेको दाबी गर्छन् । उनले साइट क्लियरिङ काम सकिसकेको दाबी गरेका छन् । काठमाडौं महानगरतर्फबाट २२ स्थानका संरचना (मन्दिरसहित) हटाएर साइट क्लियर भइसकेको उनको दाबी छ ।

संसदमा संकल्प प्रस्ताव दर्ता

चक्रपथ विस्तार बेलैमा सुरु नहुँदा नागरिकले सास्ती खेप्नु परेको भन्दै नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । उनले ३० जेठमा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन् ।

अस्तव्यस्त सडक र आसपासको वातावरणीय प्रदूषण, सवारी साधनको आवतजावत, स्वच्छ वातावरण, सहरी सुन्दरता लगायतका लागि उक्त प्रस्तावमा छलफल आवश्यक रहेको पौडेलले दर्ता गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।

सांसद पौडेलले चक्रपथ विस्तारकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पनि बुझाएका छन् भने चिनियाँ राजदूत छन सोङसँग पनि भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?