+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भूजीखोला सुसाउँदा चहर्‍याउँछ गाउँलेको घाउ

रासस रासस
२०८१ असार २० गते १५:२४
फाइल फोटो ।

२० असार, ढोरपाटन । चार वर्षअगाडि भूजीखोलामा आएको बाढीमा परी आफन्त गुमाएका स्थानीय रातको समय अलि ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन् । विसं २०७७ भदौ १७ गते राति ढोरपाटन नगरपालिका–८ र ९ स्थित भूजीखोलामा आएको बाढीले ३८ जनाको ज्यान लिएको थियो ।

बाढीमा परेर बेपत्ता भएका १५ जनाको अझै थाहापत्तो लाग्न सकेको छैन । पीडितले जसोतसो घर बनाएर बसे पनि बाढीको त्यो त्रास भने बिर्सिन सकेका छैनन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो ।

बाढीमा आफन्त गुमाएकाहरूको पीडा अहिलेसम्म पनि मत्थर हुनसकेको छैन । आफन्तसँगै बस्ने बास र खाने गास गुमाएकाले राज्यबाट पाउनुपर्ने सहयोग नपाएको गुनासो गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–९ का बाढीपीडित कुलबहादुर विक ऋण धन गरेर घर बनाए पनि आफन्त बिर्सिन नसकेको बताउँछन् ।

बाढीले उहाँको घर, जग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भएभरको सम्पत्ति बगाइदिएपछि उनी लामो समय आफन्तकोमा बास बस्नुपरेको थियो ।

अहिले बल्ल सामान्य घर बनाए पनि अलि ठूलो वर्षा हुँदा रातभर जाग्रम बस्ने गरेको उनी बताउँछन् । ‘त्यो बाढीले हाम्रो उठीबास लगायो, लाउँलाउँ, खाउँखाउँ बन्ने बेलाका छोरा, बुहारी, छोरी र नातिनीसँगै सबै सम्पत्ति बगायो, हामी अहिले सुकुम्बासीजस्ता भएका छौं’, उनले भने, ‘बर्खा सुरु भयो, कसरी ज्यान बचाउने हो भन्ने चिन्ता लाग्छ, ठूलो पानी पर्‍यो भने पहिलेको जस्तै बाढी आएर बगाउँछ कि भन्ने डर हुन्छ ।’

स्थानीय बाढीपीडित निमबहादुर विश्वकर्मा बाढीले आफन्तसहित भएभरको सम्पत्ति बगाइदिएको बताउँछन् । बाढीले निमबहादुरको २५ वर्षीया श्रीमती, ९ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित सबै बगाएको थियो । परिवारका सबै सदस्य बाढीमा परेरपछि उनी एक्लो भएका छन् ।

बाढी आउँदाको रात आफू ढोरपाटन गएको हुँदा आफ्नो ज्यान बँचेको विश्वकर्मा बताउँछन् । आफू ठूलो समस्यामा पर्दा पनि राज्य तहबाट सहयोग नभएको उनको गुनासो छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत नगरपालिकाको सीमित स्रोत र साधनबाट पीडितलाई सहयोग गरिएको बताउँछन् ।

विसं २०७७ को बाढीले ढोरपाटनमा ठूलो मानवीय क्षति पुर्‍याएको भन्दै यस वर्ष पनि वर्षा सुरु हुन लागेसँगै प्राकृतिक विपत्तिबाट बच्न तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनले सुनाए। भौगोलिक कठिनाइका कारण धेरै नागरिक अव्यवस्थित रूपमा बस्दै आएको हुँदा त्यसको व्यवस्थापनमा नगरपालिकाले योजना बनाइरहेको उपप्रमुख कायत बताउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?