+
+
पर्दा पछाडि– १ :

पाण्डेजी : नेपाली फिल्मले खोजिरहने एक जब्बर मान्छे

शिव मुखिया शंकर गिरी शिव मुखिया, शंकर गिरी
२०८१ असार २५ गते १८:१५

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा एउटा चल्तीको भनाइ छ- ‘दश झापाली बराबर एक स्याङ्जाली ।’

शंकर पाण्डेलाई भेट्नुहोस्, यो भनाइ सोह्रैआना साँचो हो भन्ने लाग्छ । यी स्याङ्जाली कति जब्बर छन् भन्ने कुरा सिनेवृत्तलाई थाहा छ । अक्सर निर्माता-निर्देशकहरू तब मात्र फिल्म बनाउने हिम्मत जुटाउँछन्, जब शंकर पाण्डेले तमाम जिम्मेवारी बोकिदिने वाचा गर्छन् । अर्थात् धेरैले नआँक्ने, धेरैले नआँट्ने काम उनी एक्लैले फत्ते गरिदिन्छन् ।

भनिहालौं, फिल्ममा उनी प्रोडक्सन म्यानेजरको काम गर्छन् ।

यो यस्तो काम हो, जसमा आनन्द भन्दा बढी तनाव हुन्छ । जश भन्दा बढी अपजश हुन्छ । तारिफ भन्दा बढी गाली हुन्छ । किनभने सबै कुरा ‘सकिन्छ’, ‘हुन्छ’, ‘भैहाल्छ’, ‘गरिहाल्छु’ नभनी यहाँ धरै छैन । त्यसैले त यिनीहरूसँग मान्छेलाई थर्काउने, फकाउने, सम्झाउने, बुझाउने, फुर्काउने, सुर्काउने सबै गुण विद्यमान हुन्छ । यदि त्यसो नहुँदो हो त सुटिङका लागि लोकेसन, प्रप्स, उपकरणदेखि कलाकारलाई खान-बस्नको बन्दोबस्तीसम्म गर्न सानो जाँगर र चित्तले पुग्दैन ।

सिनेवृत्तमा उनी यस्ता पात्रको रूपमा परिचित छन्, जसले ‘जे पनि गर्न सक्छ’ । मानौं नेपोलियन बोनपार्टले उनलाई देखेर भनेका हुन्, ‘असम्भव भन्ने कुरा मूर्खहरूको शब्दकोशमा मात्र हुन्छ ।’ हो पनि, शंकर पाण्डेका लागि ‘असम्भव’ भन्ने केही छैन ।

उनको आत्मविश्वास

‘मलाई विदेशी चाहियो पाण्डेजी’ निर्देशक रामबाबु गुरुङले भने ।

त्यसबेला कवड्डी–३ को छायांकन भइरहेको थियो । लोकेसन थियो, घान्द्रुक । एउटा दृश्यमा चुम्बन वा यस्तै देखाउनका लागि विदेशी पात्र चाहिएछ ।

शंकर पाण्डेले फ्याट्टै भनिदिए, ‘ओके ।’

घान्द्रुकमा विदेशी पर्यटक नपाइने होइन । तर, अनायास कसैले ‘फलानो दृश्यमा अभिनय गर्नुपर्‍यो’ भन्दैमा उनीहरू फटाफट उठेर तयार होलान् ?

शंकर पाण्डेको बानी कस्तो भने, उनी धेरै परको कुरा सोचेर झोक्राउँदैनन् । ‘जे पर्छ, टर्छ’ भन्ने शैलीमा अग्रसर हुन्छन् । मानौं उनी युद्धभूमिमा खटिएका सैनिक हुन्, जसलाई सोचेर बस्नका लागि कुनै मौका छैन ।

जसै उनी नजिकैको होटलमा पुगे, दुई विदेशी बियर पिइरहेका भेटिए । शंकर उनीहरूको सामुन्ने उभिए । आफ्नो चिनारी दिए, आफ्नो कामको बेलीविस्तार लगाए । अनि, आफूले उनीहरूलाई भेट्नुको उद्देश्य खुलाए ।

शंकरको कुरा सुनेर ती विदेशी दम्पतीमध्ये श्रीमती राजी भइन् । तर श्रीमान् ? मरिगए मान्दैनन् । उनी भनिरहेका छन्, ‘यो फिल्ममा मलाई कत्ति पनि रुचि छैन ।’

शंकर पाण्डे किन पो हार मान्थे र ? उनले ती विदेशीलाई अनेक ढंगले फकाई–फुल्याई गरे । आखिर चिसो बियरको चुस्कीमा आनन्द लिइरहेका विदेशी दम्पतीले शंकरको ‘ल्याङल्याङ’ धेरैबेर झेल्न सकेनन् । बरु, फिल्म खेल्न तयार भए ।

उनको हिम्मत

कुरा फिल्म ‘मायाज बार’को हो ।

दशरथ रंगशाला नजिक द्वन्द्वको दृश्य खिच्नुपर्ने भयो । चार सय जना मान्छे भेला गरियो । यो भीडलाई ‘जिन्दावाद-मुर्दावाद’ नारा लगाउन भनियो । द्वन्द्व निर्देशक एनबी महर्जनले बोलाए, ‘ओ पाण्डे भाइ, सुटिङ गर्ने हो भने लाइट ह्याङ गर्नुपर्‍यो ’

त्यसका लागि ६–७ वटा गाडी तैनाथ थियो । तर, सबैमा पेट्रोल छैन ।

एकातिर पेट्रोल छैन, अर्कोतिर पेट्रोल हाल्ने पैसा छैन । निर्माता त्यहाँ थिएनन् । फोन गर्दा मरिगए नउठाउने । अब के गर्ने ? शंकर पाण्डेसँग कुनै निन्जा टेक्निक थिएन । उनले ‘दिमाग लगाए’ ।

रंगशाला नजिकै पेट्रोल पम्प छ । त्यहीं पुगे र सबै गाडी बोलाए । धमाधम पेट्रोल भरे । ती गाडीलाई आ–आफ्नो ठाउँमा पठाइदिए । कुनै गाडी कलाकार लिन गए, कुनै लाइट लिन गए । सबै काम सुचारु हुन  थाल्यो । यता पेट्रोलको पैसा भुक्तान भएकै छैन ।

‘पैसा खोइ त ?’ पम्पका कर्मचारीले सोधे ।

उनले पूर्ण विश्वासका साथ भने, ‘पैसा ल्याउँदैछ, एकैछिन पर्खनुहोस् ।’

यही बेला उनलाई खोज्दै टुप्लुक्कै त्यहीं आइपुगे, सहायक निर्देशक तारा न्यौपाने ।

‘ताराजी, यहाँ आउनु’ शंकरले उनलाई बोलाए । आफ्नो कुर्सीमा बसाए । पेट्रोल पम्पकै एक कर्मचारीलाई जुस किन्न पठाए र तारा न्यौपानेको हातमा जुस थमाए । तारा न्यौपाने आरामसाथ जुस पिउँदै कुर्सीमा ढल्किए ।

आफ्नो मान्छे त्यहाँ राखेको संकेत दिएर शंकर पाण्डे टाप ठोके ।

जुस पिइसकेपछि तारा न्यौपाने पनि उठेर हिंड्न खोजेछन् । तर, आसपासका कर्मचारीले निगरानी गरिरहेका थिए । कुर्सीबाट उठ्यो कि कठालो समातेर बसाइहाले । यसो भन्दै, ‘तपाईं त यहाँ डिपोजिट बस्नुभएको हो, पेट्रोलको पैसा नतिरेसम्म कतै जान पाउनुहुन्न ।’

उनको चलाखी

‘धनपति’ फिल्मको सुटिङमा ट्याक्सी जलाउनुपर्ने भयो । यसका लागि लोकेसन छनोट गरियो, युएन पार्क नजिकको पुल ।

त्यहाँ सबै कुरा यथावत् थियो । सोही स्थितिमा छायांकन गर्दा बढी प्राकृतिक वा स्वाभाविक देखिन्छ भन्ने लाग्यो । त्यसैले सुटिङ हुँदै गरेको कुरा कसैलाई सुइँको दिइएन । क्यामेरालाई केही ठाउँमा लुकाएर राखिए । कलाकारलाई तयारी राखियो । अनि सुरु भयो धमाका ।

कारमा आगो लगाइयो । त्यो दनदनी बल्न थाल्यो । छद्म भेषमा राखिएका कलाकारहरू ‘जिन्दावाद–मुर्दावाद’ नारा लगाउन थाले । प्रेस लेखिएका बस्त्रधारीहरू यताउता दौडिए । मान्छेहरू तितरवितर भए ।

नजिकै घरका एक भलाद्मी चिच्याउँदै आए, ‘हैन के पारा हो यो ? सुटिङ यस्तो हुन्छ ? बाटोमा हिंडिरहेका मान्छेहरू भागाभाग भए । एक्सिडेन्ट भएको भए कसले जिम्मेवारी लिन्थ्यो ?’

वास्तवमा यो सबै जिम्मेवारी शंकर पाण्डेको काँधमा थियो । तर, त्यहाँ उनले ‘म लिन्छु’ मात्र भनिदिएको भए रामधुलाइ भेट्ने निश्चित थियो । उनले त्यो मूर्खता गरेनन् । बरु उक्त भलाद्मीसँगै सुरिएर कराउन थाले, ‘हँ, यो कसले गरेको ? के गरेको यस्तो ? लु यो फिल्मको मान्छेहरू कहाँ छन् ?’

निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने अघि नै त्यहाँबाट गायब भइसकेछन् ।

चाहे जस्तै दृश्य कैद भइसकेको थियो । अब बाँकी रह्यो, छायांकनस्थलमा भद्रगोल भएका सरसामान मिलाउन । त्यहाँ पानीको ट्यांकर पहिले नै बोलाइएको थियो । उनले जल्दै गरेको ट्याक्सीमा पानी हाल्ने, उछिट्टिएका सरसामान बटुल्ने, बाटो पखाल्ने काम गर्न थाले । अघिको भलाद्मीले शंकालु भावमा सोधे, ‘तपाईं चाहिं यो सबै काम किन गरिरहनुभएको छ ?’

‘हजुर, सहयोग त गरिदिनु पर्‍यो नि ! फटाहाहरू कता भागिसकेछन् ।’

‘तिनीहरूलाई समात्नुपर्छ भाइ’ उनी रिसले चुर थिए ।

सुटिङस्थलको भद्रगोल मिलाइसकेपछि शंकर पाण्डे विनम्र हुँदै उनै भलाद्मीकहाँ पुगे र भने, ‘त्यो फटाहा मै हुँ दाइ ।’

उनको छवि

कुरा फिल्म ‘पशुपतिप्रसाद’ छायांकन गर्दाताकाको हो । निर्देशक दीपेन्द्र के खनालले उनीसँग भने, ‘पाण्डेजी, हाम्रो कथा अनुसार एउटा लास देखाउनुपर्नेछ । यदि ब्रह्मनालमा कोही सुतेनन् भने तपाईं सुत्नुपर्ने हुन्छ । मलाई त्यहाँ लास चाहिन्छ ।’

लास कसरी ल्याउने ? वा जिउँदो मान्छेलाई कसरी आर्यघाटसँगैको ब्रह्मनालमा सुताउने ? काम सजिलो थिएन । यद्यपि शंकर पाण्डेले निर्भीक जवाफ दिए, ‘यदि कुनै लास भेटिएन, कोही सुतेन भने त्यहाँ म लास बनेर सुत्छु ।’

लास त बन्ने कसरी ?

छायांकन अघि उनी पशुपति आर्यघाटको चक्कर लगाउन थाले । लासहरू कसरी राखिन्छन् ? नियाल्न थाले । संयोग के भइदिएछ भने, नीर शाह आफन्तको मलामी बनेर त्यहीं पुगेछन् । शंकर पाण्डे लखर–लखर त्यही लास भएतिर घुमिरहेका उनले देखिहाले ।

तब नीर शाहले आफ्नो पूर्ववत् गह्रौं लवजमा भने, ‘तपाईं यो लास लिन आउनुभएको हो ?’

शंकर पाण्डे अक्क न बक्क परे । नीर शाह भनिरहेका थिए, ‘यो लास तपाईंले उठाउन पाउनुहुन्न । मेरो मान्छेको लास हो नि !’

उनको किस्सा

नेपाली फिल्ममा शंकर पाण्डेका अनेक किस्सा छन् । कुरै कुरामा विल्सन विक्रम राईले भनेका छन्, ‘फिल्म क्षेत्रमा पाण्डेजी भन्ने हुनुहुन्छ, उहाँले जे चिज पनि भाडामा ल्याइदिन सक्नुहुन्छ । मानौं सुटिङको लागि गाडी चाहियो, त्यो त तुरुन्त ल्याउने नै भयो । यदि स्याउ चाहियो भने त्यो पनि भाडामा नै ल्याइदिन्छन् । अर्थात् निर्माताले स्याउ किनिरहनु परेन ।

सुटिङमा हिरोको बाबुलाई टोपी चाहियो । जबकि त्यसको पहिले कुनै बन्दोबस्ती गरिएको छैन । निर्देशक भन्छन्, ‘पाण्डेजी टोपी चाहियो ।’

नजिक टोपी बजार छैन । जगेडा टोपी पनि छैन । के गर्ने ?

कुनै अपरिचित मान्छे ठाँटिएर बाटोमा हिंडिरहेका छन् । शंकर पाण्डे उक्त मान्छेको अघिल्तिर उभिन्छन् र विनम्रतापूर्वक नमस्कार गर्छन् । अनि भन्छन्, ‘हेर्नुहोस् न यहाँ सुटिङ भइरहेको छ । उहाँलाई चिन्नुभो, हिरो दयाहाङ राई । उहाँसँग एउटा फोटो खिच्नुपर्छ । तपाईंको टोपी चाहिं एकछिन दिनु न हजुर ।’

एकपटक नगरकोटमा कुनै म्युजिक भिडियोको छायांकन भइरहेको थियो । निर्देशकलाई एउटा च्यालेन्ज गर्न मन लागेछ । ‘यो पाण्डेले कतिसम्म गर्न सक्छ ?’ उनलाई हेर्न मन लाग्यो । तब निर्देशकले भने, ‘पाण्डेजी दुई वटा कुखुरा चाहियो ।’

रातको बाह्र बजिसक्यो । गाउँका मान्छेहरू सुतिसके । कहाँबाट ल्याउने कुखुरा ?

शंकर पाण्डे गाउँ पसे । मध्यरातमा । फर्कंदा उनको हातमा दुई वटा कुखुरा थियो ।

उनको चिनारी

फिल्मवृत्तलाई त उनको जन्मकुण्डली थाहा छ । फिल्मका दर्शकलाई चाहिं थाहा नहोला, पर्दा पछाडि यी शंकर पाण्डे कति गह्रौं जिम्मेवारी बोक्छन् भनेर ।

फिल्मको स्क्रिप्ट तयार भएपछि त्यसको अनुमानित बजेट कसले तयार गर्छ ? सो बजेट अनुसार आवश्यक सरसामान कसले जुटाउँछ ? यातायातका लागि गाडी, खानपानका लागि भान्सा, बसोबासका लागि घर–कोठा कसले बन्दोबस्ती गर्छ ? लोकेसनका लागि घर, कारखाना, अफिस, अस्पताल कसले मिलाउँछ ? कथाले मागे अनुसार पृष्ठभूमिमा देखिने यावत् चिजबिज कसले जोहो गर्छन् ?

शंकर पाण्डेले ।

निर्माता–निर्देशकको ठूलो आडभरोसा उनीमाथि छ । औसत कदका, छरितो ज्यानका, छिटोछिटो बोल्ने, चुलबुले प्रवृत्तिका शंकर पाण्डे नेपाली सिनेमालाई नभई नहुने पात्र हुन् ।

फिल्मको स्क्रिप्ट हेरेपछि त्यसमा के कस्ता संशाधन जरुरत हुन्छ ? कति खर्च लाग्छ ? सबै विवरण तयार गर्ने जिम्मा उनकै हुन्छ ।

बजारको परिधी अनुसार नेपाली फिल्म निर्माणमा मन खोलेर लगानी गर्न त्यती संभव वा सुरक्षित हुँदैन । यस्तो अवस्थामा निर्माताले सकेसम्म फिल्मको बजेटलाई खुम्च्याउन खोज्छन् । फिल्मलाई चाहिने विलासी घरदेखि सियोसम्म भाडा वा सित्तैमा मागेर काम चलाउनुपर्ने हुन्छ । अत: यस्तो कामका लागि नेपाली फिल्मलाई चाहिन्छ, शंकर पाण्डे ।

फिल्मलाई चाहिने विलासी घरदेखि सियोसम्म भाडा वा सित्तैमा मागेर काम चलाउनुपर्ने हुन्छ । अत: यस्तो कामका लागि नेपाली फिल्मलाई चाहिन्छ, शंकर पाण्डे ।

उनले करोडौं पर्ने घर, गाडीदेखि पाँच–दश रुपैयाँमा पाइने चकलेट पनि भाडामा मागेर निर्माताको टाउको हलुंगो बनाइदिन्छन् । कतिसम्म भन्ने गरिन्छ भने, शंकर पाण्डेले कुनै कुरा ‘हुन्न’ वा ‘सकिन्न’ भन्दैनन् । नासाबाट रकेट चाहिए पनि कुनै न कुनै जुक्ति लगाउँछन् । नारायणहिटीमा छायांकन गर्नुपरेको होस् वा शीतलनिवास, उनले मिलाएरै छाड्छन् ।

आज उनी कसरी यहाँसम्म आइपुगे ? कथा त्यति घुमाउरो छैन । किनभने उनी गाउँ अर्थात् स्याङ्जामा छँदै हिरो बन्ने, निर्देशक बन्ने रुमानी रहर पालेर घुमिहिंड्थे । सो उपक्रममा उनले केही फिल्म बनाए, आफ्नै तालको ।

यसै मेसोमा उनीसँग फिल्मी क्षेत्रका मान्छेहरू ठोक्किन आइपुगे । जस्तो, उमेश मायालु, निर्मल शर्मा ।

उनीहरूलाई के लाग्यो भने फिल्मको लागि सबै मेलोमेसो मिलाउनमा पाण्डेजी तगडा छन् । साथीहरूले उनको भूमिका परिवर्तन गरिदिंदै भने, ‘तपाईं यो हिरोसिरो, निर्देशक बन्ने भन्दा पनि प्रोडक्सन म्यानेजरको काममा लाग्नुहोस् ।’

उनले त्यसै गरे । यसरी उनी ‘प्रोडक्सन म्यानेजर’ बने । दर्जनौं फिल्ममा त्यही काम गरे । नाम कमाए, दाम कमाए । र, सबैभन्दा ठूलो कुरा विश्वास कमाए ।

लेखकको बारेमा
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?