 
																			२५ असार, काठमाडौं । स्वास्थ्य बीमाको कार्यक्रमलाई लिएर स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच पुन: खटपट भएको छ ।
दक्षिण कोरियामा आगामी २५ अगष्ट देखि ७ सेप्टेम्बरसम्म हुन लागेको स्वास्थ्य बीमा बोर्डको क्षमता विकास सम्बन्धी कार्यक्रममा भाग लिन बीमासँग सम्बन्धित व्यक्तिको छनोट नभएको भन्दै मन्त्रालयसँग बोर्ड असन्तुष्टि जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले मन्त्रालयका स्वास्थ्य सचिवलाई सम्बोधन गरेर पत्र नै पठाएका छन् । उनले वैदेशिक कार्यक्रममा कर्मचारी छनोट गर्दा मन्त्रालयले बोर्डसँग कुनै पनि समन्वय नगरी एकतर्फी ढंगले मनोनयन गरिएको बताए ।
उनले पत्रमा भनेका छन, ‘स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य बीमा नियमावली २०७५लाई वेवास्ता गरिएको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
स्वास्थ्य बीमा बोर्डलाई बेवास्ता गरिएको भन्दै स्वास्थ्य मन्त्रालयलाई पठाएको ध्यानाकर्षण पत्रमा बोधार्थ अर्थ मन्त्रालय र कोरिया इन्टरनेशनले कोअपरेसन एजेन्सीकहाँ पनि पठाएका छन् । स्वास्थ्य बीमाका विषयमा दक्षिण कोरियामा हरेक वर्ष हुने तालिमलाई ‘विदेश भ्रमण’ गर्ने अवसरका रुपमा लिने गरिएको छ ।
डेभलपिङ इफेक्टिभ हेल्थ इन्स्युरेन्स सिस्टम इन नेपाल थ्रु क्यापासिटी विल्डिङ सपोर्ट (२०२२–२०२४)का लागि कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका)ले सम्वन्धित क्षेत्रका १४ जनालाई पठाउन भनेको थियो ।
कोइकाले अर्थलाई चिठी पठायो र अर्थले स्वास्थ्य मन्त्रालयलाई पठाएको थियो । स्वास्थ्य मन्त्रालयले तीन जना स्वास्थ्य बीमा बोर्डका कर्मचारीसहित १४ जनाको लिष्ट फाइनल गरेको थियो । तर कर्मचारीको नाम छनोट गर्दा बोर्ड कुनै समवन्य नभएको डा. बसौलाले बताए ।
कोरिया भ्रमणमा जाने कर्मचारीहरुको सूचीमा मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुका निकटकस्थहरु बढी परेको पाइएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालय र बीमा बोर्डका नीतिगत तहका कर्मचारीलाई लक्षित गर्दै दक्षिण कोरियाले ‘कोर्स’ तयार पार्ने गरेको छ ।
मन्त्रालय र बीमा बोर्डका माथिल्लो तहका कर्मचारी सहभागी हुनुपर्ने त्यसका लागि तयार कार्ययोजनामा स्पष्ट रुपमा उल्लेख गरिएको छ । निवर्तमान स्वास्थ्यमन्त्री प्रदीप यादवले कार्ययोजना र त्यसले लिएको लक्ष्यलाई पखा लगाउँदै तालिमका लागि आफ्नै निकटस्थहरुलाई छनोट गरेको मन्त्रालयका अधिकारी नै बताउँछन् ।
स्वास्थ्य बीमाको कार्यक्रम भएकाले बोर्डमा प्रत्यक्ष रुपमा खटिने कर्मचारी लागि अवसरबाट बञ्चित गराइएको बोर्डका कर्मचारी गुनासो गर्छन् ।
‘स्वास्थ्य बीमा बोर्डलाई बाइपास गर्दै स्वास्थ्य मन्त्रीदेखि मन्त्रालयका उच्च अधिकारीले आफूखुसी कर्मचारीलाई छनोट गर्दै आएका छन्,’ बोर्डका एक कर्मचारीले भने, ‘बीमा कार्यक्रमको नीतिगत विषय नै नबुझ्ने कार्यक्रममा पठाउनुको के औचित्य होला र !’
बीमा बोर्डबाट सुरेश सिंह टिंकरी, कालु सिंह कार्की र विकेश मल्ल छनोट भएका छन् । गतवर्ष तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेत र बोर्डका उच्च पदस्थ अधिकारीले आपसी समझदारीमा मापदण्ड विपरीतका कर्मचारीलाई पठाएका थिए । यसवर्ष पनि सोही प्रवृत्ति दोहोरिएको छ । डेभलपिङ इफेक्टिभ हेल्थ इन्स्युरेन्स सिस्टम इन नेपाल थ्रो क्यापासिटी बिल्डिङ सपोर्ट कार्यक्रम सन् २०२२ देखि चलिरहेको छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4