+
+

बजेट कार्यान्वयनमा काठमाडौंले गर्‍यो पाँच वर्षयताकै सुधार

बजेट खर्च ५१ प्रतिशत

काठमाडौं महानगरले चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ असार २५ गते २०:४०
फाइल तस्वीर

२५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा ५० प्रतिशतभन्दा धेरै बजेट खर्च गरेको छ ।

काठमाडौं महानगरले चालु आव असार तेस्रो सातासम्म कुल बजेट २४ अर्ब १९ करोड ८४ लाखको ५१.०४ प्रतिशत अर्थात् १२ अर्ब ३५ करोड २७ लाख खर्च गरेको हो ।

यस्तै महानगरले चालु खर्च ६४.४ प्रतिशत गरेको छ । चालु खर्चतर्फ ९ अर्ब ५ करोड बजेट विनियोजन भएकोमा महानगरले ५ अर्ब ८३ करोड खर्च गरेको हो । महानगरले चालु आव पूँजीगत खर्चमा उल्लेख्य वृद्धि गरेको छ । १५ अर्ब १० करोड १० लाख छुट्याएकोमा खर्च ६ अर्ब ३९ करोड ६१ लाख अर्थात् ४२.३५ प्रतिशत खर्च गरेको हो ।

बजेट कार्यान्वयनमा पाँच वर्षयताकै सुधार

महानगरका अनुसार गत आव २०७९/८० मा २२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको काठमाडौंले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १८ करोड मात्रै खर्च गरेको थियो । यो ४०.४ प्रतिशत मात्रै हो ।

अघिल्लो आव २०७८/७९ मा काठमाडौं महानगरले ४४.३ प्रतिशत मात्रै खर्च गरेको थियो । १६ अर्ब ५२ करोड बजेट ल्याएकोमा ७ अर्ब ३१ करोड मात्रै खर्च गर्न सकेको थियो ।

२०७७/७८ मा १५ अर्ब ५६ करोड १५ लाख बजेट विनियोजन गरेकोमा ५ अर्ब ७० करोड अर्थात् ३६.७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।

त्यस्तै २०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट ल्याएकोमा ६ अर्ब ४५ करोड अर्थात् ४९.७ प्रतिशत खर्च भएको थियो ।

पूँजीगत खर्च पनि वृद्धि

काठमाडौं महानगरले पाँच वर्षअघि २०७६/७७ मा ७७ प्रतिशत चालु खर्च भएकोमा २०८०/८१ मा यो दर ६४ प्रतिशतमा झारेको छ ।

यस्तै २०७७/७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ र २०७९/८० मा २६ प्रतिशत रहेको पूँजीगत खर्चमा भने ठूलो अन्तरमा वृद्धि गरेको छ । यो पटक महानगरले १६ प्रतिशत खर्च वृद्धि गरेको छ ।

२०७६/७७ मा १२ अर्ब ९८ करोड बजेट ल्याएको थियो । जबकि, १२ अर्ब ३५ करोड २७ लाख रुपैयाँ खर्च चालु आवमा गरेको हो ।

५ वर्षको बजेट र खर्च (करोडमा)

आव विनियोजन खर्च खर्च प्रतिशत
२०७६/७७ १२९८ ६४५ ४९.७
२०७७/७८ १५५६ ५७० ३६.७
२०७८/७९ १६५२ ७३१ ४४.३
२०७९/८० २२८३ ९१८ ४०.२
२०८०/८१ २४२० १२३५ ५१.०४

खर्च नहुँदैमा बजेट कार्यान्वयन नहुने भन्ने होइन : महानगर

काठमाडौं महानगरपालिकाका वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले खर्च वृद्धि हुनुको कारण महानगरले बोलपत्र मूल्यांकन समिति थपेर काम गर्दाको नतिजा रहेको बताए ।

‘अघिल्ला आवहरूको बोलपत्र आह्वान हुँदा एउटा बोलपत्र मूल्यांकन समिति हुन्थ्यो, अहिले पाँच वटा समिति छ । त्यसैले पनि ठेक्का बढेकाले खर्च बढेको हो,’ अधिकारीले भने ।

उनले यो वर्ष महानगरको प्राविधिक क्षेत्रमा काम गर्ने कर्मचारी बढाएर विकासे काम बढाउँदा पनि चालु आवमा खर्च बढेको बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार महानगरले बजेट योजनाबद्ध र शीर्षगत रूपमा विनियोजन गरेर काम गर्दा खर्च बढाउन सकेको बताउँछन् ।

‘हाम्रो मौज्दातको कारण बजेट ठूलो छ, तर पनि प्रतिशत बढ्नु भनेको विकास बढ्नु नै हो,’ उनले भने ।

महानगर प्रवक्ता नविन मानन्धरले ‘टिम स्पिरिटले काम गर्दा खर्च बढाउन सकेको बताए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?