 
																			१ साउन, काठमाडौं । मंगलबार मध्यान्हदेखि नै सिंहदरबारको दक्षिण गेटबाट प्रवेश गर्न चाहनेहरुको बाक्लो भीड थियो । धेरैजसोको हातमा खादा थिए, कतिपयको हातमा पुष्पगुच्छा र झोला ।
कोही सिंदरबारभित्रको मन्त्रीको सचिवालयलाई नाम टिपाइरहेका थिए, भने कोही पास पर्खिरहेका थिए । कोही कर्मचारी त कोही प्रहरीसँग ढिला भएको भन्दै गुनासो पोखिरहेका थिए ।
पैदल जानेहरु मात्रै हैनन्, सिंहदरबारमा ओहोरदोहोर गरिरहेका गाडी र मोटरसाइकलको संख्या पनि कम थिएन । यस्ता गाडीहरुलाई सिंहदरबार छिरेपछि मन्त्रालयका पार्किङसम्म पुग्न समेत सकस थियो । सडक पेटीहरुमा भरिभराउ गाडी पार्क गरिएका थिए । कतिपय गाडी सडकको आधा भाग ढाकेर राखिएका थिए ।

मन्त्रालयमा पुगेर फर्किने र जानेहरुको भीडले सिंहदरबारको रौनक नै बदलेको देखिन्थ्यो । दुई ठुला दल कांग्रेस-एमाले मिलेर सरकार बनाएका कारण यसपटक बढी नै चहलपल देखिएको कर्मचारीहरु बताउँछन् ।
खानेपानी मन्त्रालयका एक अधिकारी भन्छन्, ‘हेरिराख्नु होला, कतिपय मन्त्रीका गृह जिल्लाका मान्छे आइपुगेकै छैनन्, एक हप्ता त सिंहदरबारमा खादा, माला, गुच्छा र मिठाई बोकेर आउनेको ओइरो नै लागिरहन्छ ।’ यो सिंहदरबारमा हरेकपटक सरकार फेरिएपछि देखिने दृश्य नै हो ।
कांग्रेसबाट मन्त्री भएका सबैलाई बधाई दिन सिंहदरबार छिरेकी कांग्रेस महासमिति सदस्य भगवती शर्मा एउटा खादा लगाउन पाउनु कार्यकर्ताको अधिकार हुने बताउँछिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई बधाई दिएर निस्किएकी उनले अनलाइनखबरसँग भनिन्, ‘जनताको मत लिएर आएकाहरु मन्त्री बन्दा शुभेच्छा ग्रहण गर्नु सामान्य कुरा कुरा हो । कांग्रेस र एमाले जस्ता बलिया शक्तिको यति बलियो सरकार बनेको छ, काम त भइहाल्छ ।’
पार्टी कार्यकर्तादेखि विभिन्न पेशा व्यवसायमा संलग्नहरुको यही सोचाइले सिंहदरबारभित्र अहिले कोलाहल र रमिता छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पहिलो मन्त्रिपरिषद् बैठकमै ‘डेडलाइन’ दिएको भएपनि मन्त्रीहरुले खादामालाको संस्कृतिलाई ‘नो’ भनेर काममा लाग्न सकेका छैनन् ।
शपथ ग्रहणपछि सोमबार कांग्रेस क्यान्टिन पुगेर ‘बधाई’ टारेका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी समेत मगंलबार कार्यकक्षमा खादा माला ल्याउनेहरुबाट घेरिएका थिए । पालो कुर्दै खादा लगाउने र फोटो खिच्नेहरूको लाम छ ।

सिंहदरबारमा मन्त्रीलाई भेट्न र बधाई टक्र्याउने आउनेहरुको ठूलो संख्याले कतिपय पालो कुरेर बस्नुपर्दा दिक्क देखिन्थे ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुग्प्तालाई बधाई दिन वीरगञ्जबाटै आएका एक स्थानीय कार्यकर्ताले भन्दै थिए, ‘मन्त्रीज्यूलाई भेटेर बधाई दिन पनि यो भीडभाडले समस्या गरिरहेछ !’
मंगलबार सिंहदरबारमा अधिकांश मन्त्रीको कार्यकक्षमा पुग्दा कार्यकर्ता र शुभेच्छुकहरुले घेरिएका थिए । विशेषगरी १२ बजेदेखि ३ बजेसम्म सिंहदरबार क्षेत्र जात्रा स्थलजस्तो बन्न पुगेको थियो ।
अधिकांश मन्त्रीका कार्यकक्ष भरिभराउ थिए । मन्त्रीका सचिवालयमा रहेकाहरु र सुरक्षामा खटिएकालाई एक छेको फुर्सद थिएन । कार्यकर्ता, आफन्त, ठेकेदार, पत्रकार, कर्मचारी र विभिन्न पेशाकर्मी तथा संघ संगठनका पदाधिकारीहरु मन्त्री भेट्ने र बधाई टक्र्याउने लाइनमा थिए ।
कतै प्रतिक्षा कक्षबाट समूहमा छुट्याएर मन्त्री भेटाउन कार्यकक्षभित्र पठाउने काम हुँदै थियो भने कुनै मन्त्रालयमा मन्त्रीको ढोका खुलै राखेर आउ–जाउ खुला गरिएको थियो । कतै बधाई ज्ञापनपछि निस्किहाल्न भनिँदै थियो भने कतै व्यवस्थापन नभएर मन्त्रीको कार्यकक्ष भद्रगोल बनेका थिए ।
मान्छे कतिपय मन्त्री कुर्सीमै बस्नै पाएका थिएनन् । भेट्न आएकाहरुबाट खादा माला पहिरिएपछि फोटो खिच्दै बधाई लिइरहेका थिए । यतिसम्म कि कतिपय मन्त्रीहरुले खाजा समेत सयममै खान पाएनन् ।
मिठाइदेखि खादामाला लिएर बधाई दिन आउनेहरुलाई मन्त्रीहरुले भेट्न समय नदिंदा असन्तुष्टि समेत सुनिए ।
कार्यकक्षमा देखिएको भीड र गलाभरिको खादामालाले कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया स्वयम् मख्ख देखिन्थे । मन्त्रालयको भर्याङदेखि नै बधाई दिन आउनेहरुको भीड थियो ।
सचिवालयका सबैजसो कोठा भरिभाराउ थिए । मन्त्रीका कार्यकक्षमा त उकुसमुकस हुने भीड थियो । एक युवक पुष्पगुच्छा लिएर छेउकै उभिएर फोटो खिचाइरहँदा अरु खादा लगाएर बधाई दिइरहेका थिए । बधाई दिने कतिपय मन्त्रीसँग आफ्नो गुनासो पनि सुनाइरहेका थिए ।
त्यहाँ कोही अख्तियारले दुःख दिएको त कोही अदालतमा मुद्दा नटुंगिएर समस्या भएको त कोही आफूलाई रोजेको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइदिन आग्रह गरिरहेका थिए । मन्त्री चौरसियाले कसैलाई हुन्न भनेनन्, नाम टिपाएर विदा गरिरहेका थिए ।
वन तथा वातारणमन्त्री ऐनबहादुर शाही कार्यकक्ष बाहिरको बैठक कक्षमै कार्यकर्ता र कर्मचारी थिए । मन्त्रालयमा बाक्लो चहलपहल भएको बुझेरै उनी कार्यकक्षबाट फराकिलो बैठक कक्षतर्फ निस्किएर बधाई थापिरहेका थिए ।
अर्थ र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अगाडि मन्त्री भेट्न आउने–जानेहरुको बाक्लो चहलपहलले सवारी तथा पार्किङ व्यवस्थापन भद्रगोल भएको थियो । बैंकर्स संघका पदाधिकारी मन्त्री भेटिरहेका थिए, बाहिर नेता कार्यकर्तादेखि कर्मचारीका नेताहरुसम्म कुरिरहेका थिए ।
अर्थमन्त्री पौडेलको सचिवालयका हरेकजसो कोठामा भरिभराउ थिए । मान्छे धेरै आएपछि मन्त्रालयमा सुरक्षाकर्मीले सचिवालयको निर्देशनअनुसार मन्त्रीको प्रतिक्षा कक्षमा छानी–छानी मान्छे पठाइरहेका थिए ।
अर्थमन्त्री पौडलका सचिवालयका एक सदस्यले भने, ‘२ बजेपछि मात्रै भेटको समय दिएका हौं, अरुलाई बुझाउन सजिलो छ, तर पार्टी नेता तथा कार्यकर्ताको अपेक्षाअनुसार समय मिलाउने कुरा व्यवस्थापन सकसपूर्ण छ ।’
परराष्ट्रमन्त्री आरजु देउवालाई भेट्न पुग्नेहरु पनि मन्त्री व्यस्त भएको भन्दै निराश हुँदै मन्त्रालयबाट बाहिरिँदै थिए ।
खानेपानी मन्त्री प्रदीप यादव दिउँसो भेटघाट छोट्याएर बाहिर निस्किएको एक कार्यकर्ताले गुनासो पोखे । कर्मचारीहरुले फेरि समय लिएर आउनभन्दा उनी झोक्किएर बाहरि निस्किएका थिए ।
दोहोरिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकरी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा कम पहुना थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको कार्यकक्षमा पनि ठीकै मात्रै चहलपहल थियो ।
भेटघाटमै बढी समय बिताएका मन्त्रीहरुले आज नियमित काम सुरु गर्न सकेनन् । यद्यपि अर्थमन्त्री विष्णु पौडेल, संघीय मामिला मन्त्री राजकुमार गुप्ता लगायतले कर्मचारीहरुसँग ब्रिफिङ लिन सुरु गरेका छन् ।
विश्लेषक भोजराज पोखरेल नेपाली संस्कृतिमा फूलमाला लगाएर खुसी साटासाट गर्ने परम्परा स्वभाविक भएपनि पछिल्लो समयमा निहीत स्वार्थ बोकेकाहरु ‘मन्त्री निकटको व्यक्ति हुँ’ भन्ने स्थापित गर्न सिंहदरबारमै खादा माला र पुष्पगुच्छा लिएर बधाई दिन पुग्ने प्रलन बढेको बताउँछन् ।
‘यो प्रवृत्ति एउटा लगानी गरेजस्तो बन्यो, सम्भावित फाइदाका निमित्त मन्त्रीका वरिपरी देखापर्ने प्रवृत्ति देखिंदैछ,’ उनले भने, ‘यो खतरनाक छ ।’ मन्त्रीहरुले बधाई लिनेभन्दा सुझाव लिने संस्कृति बसाल्नुपर्ने भन्दै उनले पार्टी कार्यकर्ता, मतदाता र शुभेच्छुकहरुले पनि मन्त्रीलाई सुरुदेखि नै काम गर्न दिने वातावरण निर्माणका लागि खादा मालाको संस्कृतिलाई त्याग्न सक्नुपर्ने बताए ।
‘मन्त्रीले आफूलाई भेट्न आउँदा फूलमाला नल्याउन भन्नुपर्छ,’ उनी भन्छन्, ‘गलाभरि माला लिएर बस्न मन्त्रीलाई नै असजिलो भएको देखिन्छ, कम्तीमा पात्रले यही विन्दुबाट परिवर्तन थाल्दा हुन्छ ।’ 
  
  
  
  
  
  
 
 
                









 
                     
                                     
                                         
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4