+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शरणार्थी जीवनको पीडा भुल्दै ‘सपनाको देश’मा संगीतको सुवास छरिरहेका पुष्प

खेम रिसाल खेम रिसाल
२०८१ साउन ७ गते ८:००

काठमाडौं । सन् २०११ मा अमेरिकाको एक्रोन सहरमा अवतरण हुँदै गर्दा पुष्प गजमेरको मनमा धेरै कुरा खेलेका थिए । संयुक्त राष्ट्रसंघ र नेपाल सरकारको पहलमा अमेरिका भित्रिंदै गर्दा समयको घडी मात्र होइन, जीवनकै घडी पनि बदलिंदै थियो उनको र उनी जस्तै लामो समय शरणार्थी जीवन बिताउन विवश नेपालीभाषी भुटानीहरुको ।

लामो समयको कष्टदायी र एक हिसाबले अत्यासलाग्दो शरणार्थी जीवनबाट त मुक्ति पाएका थिए तर नयाँ देश, नयाँ परिवेश, नयाँ संस्कृति र नयाँ जीवनशैली भएको ठाउँमा कसरी ‘एडजस्ट’ हुने भन्ने द्विविधा पनि उत्तिकै थियो । किनकि त्यहाँ पुष्प हुर्किएको, पढेको, पढाएको ठाउँ झापाको शान्तिनगरस्थित टिमाई शरणार्थी शिविरमा भन्दा विल्कुलै फरक परिवेश थियो ।

तर पनि नेपालमा हुँदा शरणार्थी शिविरमा धेरैलाई शिक्षाको ज्योति र संगीतको सुवास छरेका पूर्वभुटानी यी युवकले यिनै कुरामा केन्द्रित भएर उच्च शिक्षा लिने निर्णय लिए । अनि उनी भर्ना भए- ओहायो राज्यस्थित एक्रोन विश्वविद्यालयको संगीत विभागमा । जहाँबाट उनले संगीत विषयमा स्नातकोत्तर गरे । सँगै उनले मानसिक स्वास्थ्य विषयमा पनि उच्च शिक्षा हासिल गरे । अहिले अमेरिकामा उनी पेशाले मानसिक स्वास्थ्य परामर्शदाता हुन् भने मनले संगीत शिक्षा बाँड्ने गुरु ।

पारिवारिक भेटघाट र केही सांगीतिक कामका लागि केही दिनअघि नेपाल आएका पुष्पले अनलाइनखबरसँग आफ्ना सपना, योजना र नेपाली संगीत तथा भाषा-संस्कृतिका लागि गरिरहेको प्रयत्नका बारेमा धेरै कुरा बाँडे ।

‘नेपाल सरकार र संयुक्त राष्ट्र संघको पहलमा हामी भुटानी शरणार्थी परिवार अमेरिका पुग्यौं । सपनाको देश अलि सहज ढंगले पुग्न पायौं भनेर खुसी पनि भएको थिएँ । तर नयाँ परिवेश, त्यो पनि विश्वकै महाशक्ति राष्ट्रमा के विषयमा भविष्य अघि बढाउने भन्ने कन्फ्युज चाहिं सुरुमा भएको थियो ।’

अहिले पुष्पले त्यो द्विविधालाई छाडिदिएका छन्, अनि निश्चिन्त भएर चलाइरहेका छन् एक्रोन सहरमा ‘हिमालय म्युजिक एकेडेमी’ । जहाँ नेपाली संगीत, नृत्य, कला र नेपाली भाषाको अध्ययन-अध्यापन हुन्छ । सन् २०१६ मा खुलेको हिमालय एकेडेमीमा अहिले तीन वर्षदेखि ६५ वर्ष उमेरसम्मका विद्यार्थी छन् । रोजीरोटीका लागि उनी मानसिक स्वास्थ्य काउन्सिलरको रुपमा काम गर्छन् ।

‘हुन त म काउन्सिलरको रुपमा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्छु । तर संगीत मेरो मुटु हो । संगीतबाट मैले केही नकमाएको भएपनि अरुलाई सिकाउने र अरुलाई रोजगारी सिर्जना गर्न सकियोस् भन्ने मेरो सानो प्रयास हो,’ पुष्प भन्छन्, ‘त्यहाँ हामी पूर्वीय, पाश्चात्य संगीत, बाद्यवादन, नृत्य र नेपाली भाषा समेत सिकाउँछौं । भारतीयदेखि अमेरिकीसम्म पढ्न आइरहेका छन् । अमेरिकी टिचरहरु पनि छन्, उनीहरुले पाश्चात्य संगीतबारे ज्ञान दिन्छन् ।’

टिमाई शिविरदेखि अमेरिकासम्म

भुटानमा भएको राजनीतिक तनावका कारण लखेटिएर धेरै नेपालीभाषी झापा र मोरङका विभिन्न शिविरमा शरणार्थी भएर बस्न विवश भए । सोही समयमा पुष्प १० वर्षको हुँदा उनको परिवार पनि झापाको टिमाई शिविरमा आश्रय लिन आइपुग्यो । देशबाट विना कारण लेखिनुको कारण कस्तो हुन्छ, पुष्पले बालवयमा त्यति नबुझेपनि वयस्क हुँदै जाँदा राम्रोसँग बुझ्दै गए । आफ्नो भाषा, संस्कृति, कला र संगीतको महत्व पनि उनले शरणार्थी क्याम्पमै हुँदा गहिरो गरी बुझे । उनी सानैदेखि गीत-संगीत भनेपछि हुरुक्कै हुन्थे ।

‘म सानोमा गाउने, बजाउने खुबै गर्थें । त्यसैले अग्रजहरुसँग क्याम्पमै संगीत पनि सिकें,’ उनी सुनाउँछन् । आफू पढिसकेपछि सन् २००२ बाट उनले शिविरभित्रै अंग्रेजी र संगीत दुवै पढाउन थाले । पढाइमा पनि राम्रा विद्यार्थी उनी पछि काम गर्ने सिलसिलामा भारतको मणिपुर पनि पुगे । जहाँ उनले संगीतमै विद्यावारिधि (पीएचडी) गरेका एक जना गुरुको छत्रछायामा रहेर संगीतलाई थप अध्ययन गर्ने मौका पाए ।

‘म त्यहाँ बसुन्जेलसम्म उहाँले नि:शुल्क म्युजिक सिकाउनुभयो । त्यसपछि म नेपाल फर्केपछि धुलाबारीको हिमालय बोर्डिङ स्कुलमा अध्यापन गरे । २००६ देखि २०११ सम्म ल्याङ्ग्वेज इन्स्टिच्युटमा पनि पढाएँ । संगीत सिकाउने त छँदै थियो,’ पुष्प भन्छन् ।

त्यसबेलाको परिस्थितिबारे पनि उनी सम्झिन्छन् । ‘भुटानी भनेर कतै काम नपाइने अवस्था थियो, त्यसैले हामी बाहिर काम गर्न जाँदा दार्जिलिङका हौं भनेर भन्थ्यौं । किनकि यो बाध्यता थियो,’ उनी सुनाउँछन् ।

शरणार्थी शिविरको उकुसमुकुस जिन्दगी, भविष्यको स्पष्ट दिशा नभएको परिस्थिति सन् २०११ मा फेरियो । अमेरिकाले नेपालमा भएका भुटानी शरणार्थीलाई नागरिक बनाएर आफ्नो देशमा भित्र्याउने भयो । त्यसपछि अरु भुटानी शरणार्थीसँगै पुष्पको परिवार पनि अमेरिका पुगेको हो ।

संगीत कर्ममै लाग्ने सोच बनाइरहेका ११ वर्षीय छोरा अमिरसँगै नेपाल आएका पुष्पलाई सोधियो- नेपालसँग चाहिं कुनै चित्तदुखाइ छ ?

‘आश्रय त पाइयो, खास के चित्त त दुखाउनु र ? हाम्रा पूर्खाहरु त यहींबाट भुटान गएका थिए । देशका आ-आफ्ना अप्ठ्यारा त हुन्छन् तर पनि हामीलाई नेपाल सरकारले नागरिकता दिएको भए यही देशका लागि मरिमेटेर केही गर्नेथ्यौं होला भन्ने चाहिं भित्रभित्रै लाग्दो चाहिं रहेछ,’ उनी भन्छन्, ‘तर पनि अहिले धेरैको सपनाको देश (अमेरिका)मा नेपाल सरकारको पहलमा पुगेका हौं । यसका लागि कृतज्ञ पनि छु ।’

नेपाली संगीत र भाषा जगेर्नाको हुटहुटी

घरको महत्व घरभित्रै हुँदा भन्दा बाहिर जाँदा बढ्छ भनिन्छ । पुष्पलाई पनि भुटान र नेपालमा भन्दा परदेशमा पुगेपछि आफ्नो भाषा, कला र संगीतप्रतिको मोह अरु बढेर गयो । सानैदेखिको सांगीतिक हुटहुटीलाई उनले आफूमा मात्रै सीमित राखेका छैनन्, धेरै नेपालीभाषी बालबालिका र विदेशीलाई समेत बाँडिरहेका छन् । साथै उनका ११ वर्षीय जेठा छोरा अमिर पनि संगीत पढिरहेका छन् । अमिर भारतीय गायक शंकर महादेवनका विद्यार्थी समेत हुन् ।

अमेरिकामै जन्मे-हुर्के-बढेका अमिर शुद्धसँग नेपाली भाषा बोल्छन् । बीचमा हामीबीच कुराकानी हुँदै गर्दा पनि ‘बीचबीचमा इङ्लिस नघुसाउनु न बाबा’ भनिरहेका थिए पुष्पलाई । कक्षा ६ मा पढ्ने उनी आगामी साता भारतमा शंकर महादेवनको कार्यक्रम सांगीतिक प्रस्तुति समेत दिंदैछन्, त्यो पनि शास्त्रीय संगीतमा आधारित गीतमा ।

‘छोराको संगीतमा ठूलो लगाव छ, सानैदेखि । हिमालयमा जति सिक्यो, त्यसपछि भारतीय गायक शंकर महादेवनसँग संगीत पढ्दैछ । शास्त्रीय संगीतको विद्यार्थी हो ऊ,’ पुष्प भन्छन्, ‘संसारभरिबाट शंकर महादेवनका बेस्ट १० विद्यार्थी छान्दा उसको पनि नाम आयो । हामी भुटानी समुदायमा त ठूलो कुरा भयो । नेपाली संगीत क्षेत्रमा पनि महत्वपूर्ण कुरा हो भन्ने लाग्छ ।’

छोरा अमिरसँग पुष्प गजमेर

अमिरले भारतमा हुने कार्यक्रममा दुईवटा गीत गाउँदैछन् । छोराले स्नातकोत्तर सकेपछि नेपाली संगीतकै लागि केही योगदान गर्न सकुन् भन्ने पुष्पको तीव्र इच्छा छ ।

‘छोरालाई नेपाल लिएर आउनुमा नेपाली संगीत कस्तो रहेछ, सांगीतिक माहोल कस्तो रहेछ त भन्ने देखाउनु पनि हो,’ उनी भन्छन्,’ अमेरिका फर्केपछि नेपाली म्युजिकको वर्कसप पनि गर्ने योजना छ । इन्टरनेसनल कल्चरल फेसन शो पनि गराउने योजना छ । अफ्रिकी, एसियन, ल्याटिन संगीतको पनि म्युजिक वर्कसप गर्ने योजना बनाएको छु ।’

उनलाई अमेरिकामै जन्मेका, त्यहीं सिकेका बच्चाहरुले भोलि गएर त्यो आफ्नो इन्स्टिच्युटलाई हाँकुन् भन्ने लाग्छ । जसले नेपाली कला, भाषा, संगीतको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुग्नेछ ।

पुष्पलाई झापामा हुँदादेखि नै आफूले गाएका र संगीत भरेका गीतहरुको एल्बम निकालौं भन्ने थियो । तर शरणार्थी जीवनसँग संघर्ष गरिरहेको युवकले कसरी त्यत्रो पैसाको जोहो गर्न सक्नु । त्यतिबेला चाहिं उनलाई आफ्नो क्याम्पमा नेपालका प्रसिद्ध गायक-गायिका र संगीतकर्मीहरु पुगेर केही सहयोग गरेको भए हुन्थ्यो कि भन्ने लाग्छ ।

‘त्यतिबेला उहाँहरु क्याम्पमा आएर केही प्रेरणा दिनुभएको भए सायद धेरै पहिले नै संगीतमा स्थापित भएर केही गर्न सक्थें कि भन्ने पनि मनमा लाग्छ,’ उनी मनको कुरा सुनाउँछन् ।

त्यसैले सबैकुरा ठीकठाक भएपछि पुष्पले अमेरिका पुगेर हिमालय एकेडेमी सुरु गरेको एक वर्षपछि सन् २०१७ मा एकल एल्बम निकाले- ‘आवाज’ । उनी अहिले आफूले गाउने भन्दा पनि संगीत भर्ने र अरुलाई सिकाउने काममै तल्लीन छन् । नेपाल आएको बेला फाट्टफुट्ट गीत रेकर्ड गर्ने गरेका छन् । यस पटकको बसाइमा छोराको स्वरमा पनि केही गीत रेकर्ड गर्न भ्याए ।

उनको म्युजिक एकेडेमीलाई त्यहाँको स्थानीय सरकारले पनि सहयोग गर्छ । आफ्नो भाषा, संगीत र कलाको प्रवरद्धनमा योगदान गरेको भन्दै उनलाई सम्मानित पनि गरेको छ । त्यसै सिलसिलामा सन् २०१८ मा अमेरिकाबाट आफ्नो भाषा, कला प्रवर्द्धन गरेको कारणले अमेरिकी सरकारले बेलायत पनि पठाएको थियो । ‘हामी पाँच जना थियौं टिममा नेपाली म मात्रै थिएँ । मैले त्यहाँ जाँदा मादल बोकेर गएको थिएँ । अर्केस्ट्रामा मैले मादल बजाएको थिएँ । त्यो मादललाई उहाँहरुले म्युजियममा राख्नुभएको छ,’ पुष्प सुनाउँछन् ।

‘मैले जे जानेको छु, त्यसमा अरु विधा पनि थपेर सिकाउन सकियो भने आफ्नो भाषा, संस्कृति, संगीतलाई केही न केही योगदान दिन आउने पिंढीलाई हस्तान्तरण पनि त गर्न सकिन्छ । मैले संघर्ष गर्नुको कारण आफूले जानेको कुरा बाँडौं भन्ने हो, अमेरिकामा नेपाली र नेपालीभाषीले यस्तो पनि गरेका छन् है भनेर नाम होस् भन्ने पनि हो,’ पुष्प भन्छन् ।

अब उनको चाहना आफ्नो एकेडेमीलाई नेपाल र भुटानसँग जोड्ने छ । ‘अब हामीले गर्ने धेरै कुरा गरिसक्यौं भन्ने लाग्छ । अब जोगाउनु मात्रै छ । भाषा, संगीत, संस्कृतिलाई सम्बर्द्धन र संरक्षण गर्नुमा केन्द्रित हुनुपर्छ,’ उनी भन्छन्,’ आफू जन्मिएको देश र आफूलाई शरण दिएको देशका लागि कला-संगीतमार्फत केही गर्न सकौं, यही चाहना छ ।’

लेखक
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?