जन्मपछि मृत्यु अवश्यंभावी छ । भनिन्छ– मान्छे मर्नका लागि जन्मन्छन् । यो तितो सत्य हो र प्रकृतिको नियम पनि । तथापि जीवनको मूल्यांकन बाँचेको आयुले होइन तिनले छोडेका सकारात्मक प्रभावले निर्धारण गर्दछ ।
यसको लेखाजोखा भावी पुस्तालाई दिएका प्रेरणा एवं योगदानको मापनबाट गरिन्छ । त्यसको साक्षी इतिहास रहन्छ । जिन्दगीमा हासिल गरेका पद–प्रतिष्ठा एवंं धन–सम्पत्ति भन्दा तिनले आर्जन गरेका सम्मानले महत्व राख्छ । तिनका पदचिह्नको अर्थ रहन्छ ।
यही साउन ३ गते बिहीवार एक असल एवं लोकप्रिय पर्यटन व्यवसायी तथा समाजसेवी अम्बिका श्रेष्ठको ९२ वर्षमा निधन भयो । यो खबरबाट सामाजिक सञ्जालका भित्ता संवेदनाका सन्देशले भरिए । व्यापार व्यवसायीदेखि राजनीतिज्ञसम्मले श्रेष्ठको सम्झनामा आ–आफ्ना विचार व्यक्त गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठको निधनले ‘राष्ट्रको ठूलो क्षति भएको’ बताए । नेपालमा राष्ट्रसंघकी प्रतिनिधि ह्यान्ना सिंगरले ‘हृदयमा सधैं सम्झिरहने आइकन’ को संज्ञा दिइन् । सद्गुरुले नेपालको ‘नेवारी संस्कृतिकी राजदूत एवं नेता’ भनेर स्मरण गरे । नेपालका लागि ब्राजिलका पूर्वराजदूत कार्लाेस डुप्राटले एक असल, दयालु, सरल, स्थिर एवं ‘महान् व्यक्ति’ भनेर चित्रण गरे ।
अम्बिका श्रेष्ठसँग नजिकबाट मेरो चिनजान सन् १९७६ देखिको हो । पर्यटन व्यवसायसँग आवद्ध रहँदादेखिको परिचय हो । तर लामो समयको सहकार्य भने युवाहरूको नेतृत्व विकासमा केन्द्रित अन्तर्राष्ट्रिय संस्था नेपाल जेसिज अभियानमा रहँदा भयो ।
जेसिज समुदायमा ‘अम्बिका दिज्यू’बाट परिचित श्रेष्ठको धार्मिक, कूटनीतिक तथा सामाजिक सेवामा समेत विशिष्ट योगदान छ । तथापि यस आलेखमा, पूर्ण न्याय गर्न नसके पनि, मैले श्रेष्ठलाई बुझेको पर्यटन क्षेत्र र जेसिज अभियानका केही प्रसंग चर्चा गर्ने प्रयास गरेको छु ।
श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न म शनिवार (५ गते) बिहान ९ बजेतिर काठमाडौंको बत्तीसपुतलीस्थित द्वारिकाज् होटल पुगेको थिएँ । त्यहाँ राजनीतिक दलका नेता, विदेशी नियोगका प्रमुख तथा प्रतिनिधि, प्रतिष्ठित उद्योगी–व्यापारी तथा पर्यटन व्यवसायी, समाजसेवी, पत्रकार, अधिकारवादी तथा लब्ध–प्रतिष्ठित व्यक्तिहरूको निकै बाक्लो भीड थियो ।
उनीप्रतिको यो श्रद्धासुमन देखेर मलाई लाग्यो– यति उच्च सम्मान उनले जीवनमा कमाएको अलौकिक तथा अतुलनीय निधि हो । उनीप्रतिको स्वस्फूर्त यो आत्मीय सम्मानले भौतिक सम्पत्ति कति गौण हुँदोरहेछ भन्ने अनुभूति पनि गराएको थियो मलाई ।
उनैले निर्माण गरेको त्यस होटलको एक नेपाली कलात्मक कोठामा राखिएको पार्थिव शरीरप्रति श्रद्धाञ्जली अर्पण गर्न घण्टौंसम्म धैर्यका साथ लाइनमा बसेको दृश्य अद्भुतको थियो । त्यो लम्बेतान मानव धागोले उनी पर्यटन व्यवसायी मात्र नभएर, एक होनहार सुपुत्री गुमेको र राष्ट्रको अतुलनीय क्षति भएको महसुस गराएको थियो ।
उपस्थित व्यक्तिहरू मध्येका ७० वर्षीय एक सफल पर्यटन व्यवसायी योगेन्द्र शाक्यले श्रद्धाञ्जली अर्पण गर्दै सामाजिक सञ्जालमा समकालीन उमेर समूहप्रति संकेत गर्दै एक प्रश्न गरे– के मेरो अन्त्येष्टि उनको (अम्बिका) जस्तो भव्य होला ?
अम्बिका श्रेष्ठ मुलुकको समसामयिक राजनीतिसँग जहिले पनि नजिक रहिन् । तथापि त्यसबाट व्यक्तिगत लाभ उठाउने प्रयत्न गरेको सुनिएन– चाहे त्यो पञ्चायतकालमा होस् अथवा बहुदलीय लोकतान्त्रिक व्यवस्थामा नै ।
खुला राजनीतिमा मुलुक प्रवेश गर्दा समेत कुनै राजनीतिक दलको सदस्य बन्ने चेष्टा गरिनन् । तर, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासकी पहरेदार बनिन् । ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने आस्थामा विश्वास राखिन् । स्पष्ट वक्ता भएर बाँचिन् ।
श्रेष्ठ राजनीतिक दल तथा नेता सबैसँग समदूरीको सम्बन्धमा रहिन् । एक सफल व्यवसायी बन्न राजनीतिक नेताको चाकडी वा फेरो समात्नुपर्ने सोच गलत भएको सावित गरिन् । महिला उद्यमीका सोच तथा दूरदर्शिता अतुलनीय हुनसक्ने दृष्टान्त बनिन् ।
यसैगरी प्रेमभाव, सत्कार्य, आत्मीयता एवं प्रेरणादायी भूमिका जीवनको श्रेष्ठतम् एवं अहरणीय पूँजी भएको पाठ सिकाएर यस धर्तीबाट भौतिक रूपमा बिदा भइन् । एक गतिशील, निर्भीक तथा असल नागरिक भएर कसरी जिउनुपर्ने हो ? शिक्षा दिइन् ।
पर्यटन व्यवसायमा श्रेष्ठ एक अलग पहिचान बनाएकी व्यक्ति हुन् । अतिथि देवो भवः (अतिथि भगवान् हुन्) भनाइलाई व्यवहारमा लागू गर्ने कोसिस गरिन् । पर्यटकको माध्यमबाट नेपाली कला एवं संस्कृतिलाई विश्वभर चिनाइन् ।
यति मात्रै होइन, विदेशीहरू देशको भूगोल दर्शन अथवा रमाइलो गर्न मात्र होइन, विश्वमा नदेखेको र नपाइने नेपाली कला, परम्परा तथा संस्कृतिको ज्ञान तथा अनुभव बटुल्न समेत आउन सक्ने वातावरण निर्माण गरिन् । नेपालको चिनारी दिने तथा आकर्षण गर्ने फरक शैली अभ्यासको व्यावसायिक थालनी गरिन् ।
पति द्वारिकादास श्रेष्ठको प्राचीन नेपाली कला तथा संस्कृतिप्रतिको लगावलाई जीवन्त राख्न (पौराणिक कलात्मक ‘डिजाइन’मा) द्वारिकाज् होटलको स्थापना एवं विस्तार गरिन् । पतिको नाम र उनको ‘भिजन’लाई अमर राख्न जीवनभर सक्रिय रहिन् । १७ वर्षीय छोरा पवनको अप्रत्यासित मोटरसाइकल दुर्घटनाबाट भएको निधनले निकै ठूलो चोट परे पनि उनी विचलित भइनन् ।
मुलुकलाई मौलिकपनबाट चिनाउने उद्देश्यमा उनी निरन्तर लागिरहिन् । आधुनिक ढाँचाको ‘सेवा तथा सत्कार’को प्रतिस्पर्धात्मक विश्वबाट अलग भएर ‘नेपाली संस्कृति तथा सम्पदा’को गहिरो अनुभूति र व्यवहारको स्वाद विदेशी पाहुनालाई पस्किइन् ।
यस क्रममा हराउँदै गएको नेपाली मौलिक कला तथा संस्कारको प्रवर्धन तथा संरक्षणमा यस क्षेत्रका व्यवसायीहरूको पथपदर्शक बनिन् । सेवा–सत्कार क्षेत्रमा मात्र नभएर, पौराणिक कलात्मक शैलीमा व्यापारिक भवन तथा निजी निवास निर्माण गर्न समेत आमनागरिकमा उत्प्रेरणा जगाइन् ।
स्मरणरहोस्, पञ्चायतकालमा पौराणिक कला झल्कने केही संकेत राखेर घर निर्माण गर्नुपर्ने तत्कालीन नगरपञ्चायतको अनिवार्य शर्त थियो । तर त्यो बाध्यात्मक व्यवस्था सफल भएन । औपचारिकतामा मात्र सीमित रह्यो । यसले परिकल्पना गरेको अभियान अघि बढ्न सकेन ।
तर यतिबेला उपत्यकाका पालिकाका भवन निर्माण गर्न यो बाध्यात्मक शर्त लगाइएको पाइँदैन । तथापि पौराणिक ढाँचाबाट भवन निर्माण गर्ने रुचि सर्वसाधारणमा बढेको छ । निजीस्तरमा समेत नेवारी शैलीमा भवन निर्माण गर्ने कार्य उपत्यकामा धमाधम भएका देखिन्छन् । नेपाललाई पौराणिक शैलीमा भवन निर्माण गर्ने पे्ररणाको जस निःसन्देह श्रेष्ठलाई जान्छ ।
१८ देखि ४० वर्षका युवाहरूको नेतृत्व विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था नेपाल जेसिजकी पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन् अम्बिका श्रेष्ठ । विश्वको पहिलो महिला राष्ट्रिय अध्यक्ष भएर इतिहास रचेकी हुन् उनले । उनी अन्तर्राष्ट्रिय जेसिजमा उपाध्यक्षको उम्मेदवार बन्ने विश्वमा पहिलो महिला सदस्य बनिन् ‘डर्विन अन्तर्राष्ट्रिय सम्मेलन’मा ।
उनको नेतृत्वमा नेपाल जेसिजले अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त ग¥यो । वैदेशिक सहयोग विना आत्मनिर्भरतामा हुर्केको यो संस्था सन् १९६४ मा स्थापित भएको हो । यस संस्थाको ‘बोर्ड अफ ट्रष्टिज’को अध्यक्ष समेत भएर पछिल्लो समयमा पनि विशेष योगदान पु¥याएकी थिइन् अम्बिका दिज्यूले ।
डा. भेषबहादुर थापा यसका संस्थापक अध्यक्ष हुन् भने श्रेष्ठ यसको संस्थापक सदस्य मध्येकी एक थिइन् । यसको गठन प्रक्रियाका बारेमा डा. थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ (पृष्ठ ४८) मा उल्लेख गरिएको छ । लोकतान्त्रिक आस्थाका आधारमा विश्वभर फैलिएको यस संस्थाको जन्म राजा महेन्द्रको कठिन शासनकालमा कसरी सम्भव हुन सक्यो ? भन्ने त्यहाँ उल्लेख गरिएको छ ।
श्रेष्ठको पार्थिव शरीरको अन्तिम बिदाइको लागि नेपाल जेसिजका अध्यक्ष रविन पोख्रेलले जेसिजको झण्डा ओढाएर उनले राष्ट्र एवं जेसिजप्रति गरेको योगदानको कदर गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए । यसका साक्षी डा. भेषबहादुर थापा र पत्नी डा. रीता थापा, पूर्व अध्यक्षहरू गजेन्द्रबहादुर श्रेष्ठ, चाँदनी जोशी, उत्तर चापागाई (बोर्ड अफ ट्रष्टिज अध्यक्ष), पंक्तिकार लगायतका अन्य पूर्व एवं वर्तमान पदाधिकारी थिए ।
हार्दिक श्रद्धाञ्जली आदरणीय अम्बिका दिज्यू । छोरी संगीता र भिनिता समेत सम्पूर्ण परिवारमा समवेदना !
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4