+

टी–२० विश्वकपका अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू

२०८२ माघ  १९ गते १२:४८ २०८२ माघ १९ गते १२:४८
टी–२० विश्वकपका अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २००७ मा भारतका युवराज सिंहले पहिलो टी–२० विश्वकपमा १२ बलमै अर्धशतक पूरा गर्दै ६ छक्का प्रहार गरी इतिहास रचे।
  • २०२१ को फाइनलमा मिचेल मार्शले अविजित ७७ रन बनाएर अस्ट्रेलियालाई पहिलो टी–२० विश्वकप उपाधि दिलाए।
  • २०२४ को फाइनलमा विराट कोहलीले ७६ रन बनाएर भारतलाई १७६–७ को स्कोर पुर्‍याए र 'प्लेयर अफ द म्याच' घोषित भए।

१९ माघ, काठमाडौं । सन् २००७ मा भारतले पहिलोपटक आईसीसी पुरुष टी–२० विश्वकप जितेदेखि दुई वर्षअघि सम्पन्न पछिल्लो संस्करणसम्म यस प्रतियोगिताले क्रिकेट इतिहासमा थुप्रै अविस्मरणीय व्यक्तिगत प्रदर्शनहरू जन्माएको छ।

फेब्रुअरी ७ बाट सुरु हुन लागेको टी–२० विश्वकपको १०औं संस्करणको पूर्वसन्ध्यामा, आईसीसीले अघिल्ला संस्करणहरूमा देखिएका केही उत्कृष्ट व्यक्तिगत प्रदर्शनहरूको स्मरण गराएको छ।

२००७ : युवराज सिंहको ऐतिहासिक ६ छक्का

दक्षिण अफ्रिकामा आयोजित पहिलो टी–२० विश्वकपमा भारतका युवराज सिंहले स्टुअर्ट ब्रडको एकै ओभरमा लगातार ६ छक्का प्रहार गर्दै इतिहास रचे।

यससँगै उनी सर ग्यारी सोबर्स, रवि शास्त्री र हर्शल गिब्सपछि यो कीर्तिमान बनाउने चौथो खेलाडी तथा टी–२० क्रिकेटमा पहिलो खेलाडी बने।

युवराजले १२ बलमै अर्धशतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो ५० रन बनाउने कीर्तिमान पनि राखे।

भारतले सो खेल जित्दै अन्ततः फाइनलमा पाकिस्तानलाई ५ रनले हराएर उपाधि जित्यो।

२००९ : अफ्रिदीको अलराउन्ड प्रदर्शन

२००७ संस्करणमा प्लेयर अफ द टुर्नामेन्ट बनेका शाहिद अफ्रिदी २००९ मा पनि प्रभावशाली देखिए।

दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा उनले ३४ बलमा ५१ रन बनाउनुका साथै बलिङतर्फ २–१६ को प्रदर्शन गर्दै हर्शल गिब्स र एबी डिभिलियर्सको विकेट लिएका थिए ।
अफ्रिदीको अलराउन्ड प्रदर्शनमा पाकिस्तान फाइनलमा प्रवेश गर्‍यो र पछि उपाधि जित्न सफल भयो।

२०१० : सेमिफाइनलमा हसीको विस्फोट

वेस्ट इन्डिजमा भएको सन् २०१० विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियाका माइकल हसीले पाकिस्तानविरुद्ध २४ बलमा अविजित ६० रनको उत्कृष्ट इनिङ्स खेले।

४५ बलमा ८७ रन आवश्यक रहेको अवस्थामा ब्याटिङमा आएका हसीले अन्तिम ओभरमा सईद अजमललाई तीन छक्का र एक चौका प्रहार गर्दै खेल जिताए।

२०१२ : नराइनको जादुमा वेस्ट इन्डिज च्याम्पियन

२०१२ को फाइनलमा वेस्ट इन्डिजका सुनील नराइनले श्रीलंकाविरुद्ध ९ रन मात्र खर्चेर ३ विकेट लिँदै निर्णायक भूमिका खेले।

नराइनले महेला जयवर्धनेसहित अन्तिम विकेट पनि लिएपछि श्रीलंकालाई ३६ रनले पराजित गरेर वेस्ट इन्डिजले पहिलो उपाधि जितेको थियो ।

२०१४ : हेराथको ऐतिहासिक स्पेल

सेमिफाइनलमा न्युजिल्यान्डविरुद्धको खेलमा श्रीलंकाका रंगना हेराथले ३ रन मात्र दिएर ५ विकेट लिँदै अविश्वसनीय प्रदर्शन गरे।

११९ रनमै अलआउट भएको श्रीलंकाले हेराथको प्रदर्शनमा न्युजिल्यान्डलाई ६० रनमै समेट्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

२०१६ : कार्लोस ब्राथवेट, रिमेम्बर द नेम

२०१६ को फाइनलमा वेस्ट इन्डिजका कार्लोस ब्राथवेटले बेन स्टोक्सको अन्तिम ओभरमा लगातार चार छक्का प्रहार गरे।

१९ रन आवश्यक रहेको अवस्थामा ब्राथवेटको विस्फोटक ब्याटिङले वेस्ट इन्डिजलाई उपाधि दिलायो, जसलाई कमेन्टेटर इयान बिशपको चर्चित कमेन्ट्रीले थप ऐतिहासिक बनायो।

२०२१ : अस्ट्रेलियाको पहिलो उपाधि

२०२१ को फाइनलमा मिचेल मार्शले न्युजिल्यान्डविरुद्ध अविजित ७७ रन बनाउँदै अस्ट्रेलियालाई पहिलो टी–२० विश्वकप उपाधि दिलाए।

डेभिड वार्नरसँगको महत्वपूर्ण साझेदारीपछि मार्श ‘प्लेयर अफ द म्याच’ घोषित भएका थिए ।

२०२२ : स्टोक्सको पुनरागमन

२०२२ को फाइनलमा इंग्ल्याण्डका बेन स्टोक्सले अविजित ५२ रनको इनिङ्स खेले।

यसअघि साम करानको ३–१२ को बलिङमा पाकिस्तान १३७ रनमै सीमित भएको थियो।

स्टोक्सको इनिङ्समा इंग्ल्याण्डले उपाधि जित्दै २०१६ को पीडादायी स्मृति मेटायो।

२०२४ : फाइनलमा चम्किए कोहली 

२०२४ को फाइनलमा भारतका विराट कोहलीले ७६ रनको उत्कृष्ट इनिङ्स खेल्दै भारतलाई १७६–७ को प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए।

३४–३ को कठिन अवस्थाबाट टोलीलाई उकासेका कोहली ‘प्लेयर अफ द म्याच’ बने। दक्षिण अफ्रिका ७ रनले पराजित भयो।

यो कोहलीको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलसमेत रह्यो।

-आईसीसीमा प्रकाशित सामग्रीबाट भावानुवाद

आइसीसी टी–२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय