 
																			११ साउन, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई २०८०को पुनर्योगमा चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने र त्यसमा पनि चित्त नबुझे पुन: परीक्षण गराउन पाउने बताएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई २०८०) को पुनर्योगको नतिजा क्रमश सार्वजनिक गरिरहँदा मानवीय त्रुटि हुन सक्ने भएकाले यस्तो सुविधान राखिएको बताएका हुन् ।
‘मानवीय त्रुटि हुनसक्छ । त्यसकारण कुनै पनि विद्यार्थी अन्यायमा नपरोस भन्नका लागि पुनर्योग, उत्तरपुस्तिका हेर्ने तथा पुनःपरीक्षण गर्न पाउने सुविधा राखिएको हो,’ उनले भने, ‘त्यसका लागि विद्यार्थीहरूले आवेदन दिनु पर्ने हुन्छ।’
अध्यक्ष शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले २३ साउनदेखि हुने ग्रेडवृद्धि परीक्षा सकिएपछि आवेदन लिने तयारी गरेको छ । उनले एसईईको उत्तरपुस्तिकामा रहेको प्रश्नउत्तर जाँच्न छुटेको, उत्तरपुस्तिकाभित्र रहेको अंक बाहिर चढाउन छुटेको, अंक जोड्दा त्रुटि भएको, भित्रको र बाहिरको अंक रुजु नभएको, परीक्षकले जोडेको अंकभन्दा सम्परीक्षकले फरक अंक चढाएको लगायतको त्रुटि देखिएको स्वीकार गरे ।
एसईईको पुनर्योग गर्ने विद्यार्थीको संख्या बढी देखिए पनि पुनर्योगपछि नतिजामा फरक देखिनेको प्रतिशत घटेको उनले दाबी गरे । उनले भने, ‘अनलाइन आवेदन दिन पाउने व्यवस्था भएकोले पनि यसवर्ष पुनर्योग गर्नेको संख्या बढी देखिएको हो । तर पुनर्योगपछि नतिजा परिवर्तन हुनेको प्रतिशत घटेको छ ।’ गत वर्ष परीक्षण प्रणाली फरक भएकोले पुनर्योग गर्न आवेदन दिनेको संख्या कम रहेको उनको भनाइ छ ।
यता, एसईई पुनर्योगको नतिजापछि काठमाडौंको विश्व निकेतन माविमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पाँच पुगेको छ । १३ असारमा सार्वजनिक भएको २०८० को एसईई परीक्षामा चारजनाले ४ जीपीए ल्याएर देशभरको सामुदायिक विद्यालयहरु मध्येबाट सबैभन्दा बढी जीपीए ल्याउने विद्यालय बनेको थियो ।
तर, परीक्षामा चित्त नबुझेर पुनर्योग गर्न आवेदन दिएका विभव ढकालको पुनर्योगपछि ४ जीपीए भएपछि विश्व निकेतन माविमा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या पाँच पुगेको अध्यक्ष शर्माको भनाइ छ । यसअघि स्वस्तिक अधिकारी, अन्जु भुषाल, आकृति महासेठ र एन्जन थापा मगरले ४ जीपीए ल्याएका थिए ।
परीक्षा बोर्डले एसईई नतिजाको पुनर्योगपछि चार जनाको ४ जीपीए र चार जनाको एनजी आएको विषयमा ए प्लस आएको जनाएको छ ।
‘चार जनाको जीपीए ४ भएको छ र चार जनाको भने एनजी आएको विषयमा ए प्लस आएको देखिन्छ, ‘ बोर्डका अध्यक्ष शर्माले भने, ‘ए, बी प्लस ग्रेड आएका विद्यार्थीले नतिजामा चित्त नबुझी पुनर्योग गराउँदा ए प्लस आएको छ र समग्रमा ४ जीपीए नै ल्याएको हो।’
उनका अनुसार बुधबार (साउन ९गते)सम्म ११ हजार ४८६ विषयको नतिजा प्रकाशन हुँदा ६२१ विषयमा नतिजा परिवर्तन भएको छ । पुनर्योगका लागि १८ हजार ५०६ आवेदन परेको उनको भनाइ छ ।
उनले यसअघि सञ्चार माध्यामहरुमा आएको समाचारको खण्डन गर्दै भने, ‘पुनर्योगपछि चार जनाको ४ जीपीए भएको हो र बाँकीको विषयगत ग्रेड पोइन्ट बढेको हो तर सञ्चार माध्याममा फरक कुरा आउँदा बोर्डप्रति नकारात्मक प्रभाव परेको छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4