 
																			१२ साउन, काठमाडौं । नेकपा एमालेका नेता विन्दा पाण्डेको पुस्तक ‘संसदीय राजनितिमा लैङ्गिक सहभागिता’ सार्वजनिक भएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक पाण्डे, कांग्रेस नेता तथा पूर्वउपसभामुख पुष्पा भुसाल, एमाले सांसद रघुजी पन्त, नेकपा माओवादी केन्द्रका सांसद रेणु चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुस्तक सार्वजनिक गरे ।
कांग्रेस नेतृ भुसालले हालको संवैधानिक व्यवस्था प्र्राप्तिका लागि आफूहरूले धेरै लडेको तर कार्यान्वयनमा नतिजा नदेखिएको बताइन् ।
‘संसदीय अभ्यास र संसदीय प्रक्रियामा अपनाउनुपर्ने सम्पूर्ण जानकारी, लैङ्गिताको सवाल र तथ्याङ्कहरूसमेत भएकाले यो पुस्तक एउटा ऐतिहासिक दस्ताबेज भएको छ’, उनले भनिन् ।
नेकपा एमालेका नेता रघुजी पन्तले लैङ्गिक सहभागिताको सवालमा नेपालको संसद् र यसका लागि बनेका कानुनहरू उदार रहेको तर कार्यान्वयनमा अझै दबाब दिनुपर्ने धारणा राखे ।
यसैगरी नेकपा माओवादी केन्द्रका सांसद रेणु चन्दले २०६४ को संविधानसभामा भन्दा अहिलेको संसदमा महिला सहभागिता झन् कमजोर देखिएको बताइन् । ‘महिलाहरू आफ्नो सहभागिताका लागि आफ्नै दलका नेताहरूसँग पनि लड्नुपर्ने स्थिति छ जुन दुःखद हो,’ उनले भनिन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जसलाई आवश्यक हो उसले नै आवाज नउठाएसम्म उपलब्धि नहुने धारणा राखे ।
लेखक पाण्डेले महिला आन्दोलनकै सिलसिला स्वरूप यो पुस्तक प्रकाशनमा ल्याएको बताइन् । आफू पहिलो संविधानसभामा रहेर महिला सहभागिताका लागि काम गर्दा आफ्नै पार्टी र पार्टीका सांसदहरूसँग संघर्ष गर्नुपरेको स्मरण गरिन् ।
पुस्तकमा नेपालको संसदीय राजनीति र महिला सहभागिता, संविधानसभा गठनदेखि संविधान घोषणासम्मका सम्पूर्ण प्रक्रिया र काम तथा संघीय लोकतान्त्रिक गणतन्त्र र निर्वाचनजस्ता विषय समावेश गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4