१५ साउन, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसकेको प्रतिक्रिया दिएका छन् ।
केन्द्रमा सत्तासमीकरण परिवर्तन हुनेबित्तिकै प्रदेश प्रमुखलाई विना जानकारी पदमुक्त गर्ने परिपाटी गलत भएको उनले बताए ।
सोमबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ । बैठकले लुम्बिनीको प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सरकारको उक्त निर्णयपछि आज, मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुखको सम्मान नभएको भन्दै गुनासो गरेका हुन् ।
शेरचनले कुनै कारण विना प्रदेश प्रमुख पदमुक्त गर्ने कुरा गलत भएको बताए । ‘अहिले मात्रै होइन, विगतदेखि नै गलत अभ्यास भइरहेको छ । संविधानको उल्लंघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने हो’ शेरचनले भने, ‘विना कारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ ।’ उनले केन्द्र सरकारले राजीनामाको मौकासमेत नदिएको बताए ।
प्रदेश प्रमुखबाट बाहिरिंदै गर्दा शेरचनले राजनीतिक टिप्पणी समेत गरेका छन् ।
उनले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्ने भनाइ राखे । ‘केन्द्रमा समीकरण फेरिने कुरा एउटा हो । तर प्रदेशको आफ्नै छुट्टै अस्तित्व र परिवेश हुन्छ,’ उनले भने ।
शेरचनले प्रदेशको मन्त्री पनि केन्द्रले टुङ्ग्याउने परिपाटी गलत भएको प्रतिक्रिया दिएका छन् ।
उनले कांग्रेस र एमालेमा समानुपातिक व्यवस्थाप्रति गलत धारणा रहेको समेत बताएका छन् । पञ्चायतकालदेखि २०४८ को आमनिर्वाचन पछिका सरकार पनि स्थिर नभएको उदाहरण दिंदै समानुपातिक प्रणालीका विषयमा हचुवाका भरमा अपव्याख्या नगर्न शेरचनले आग्रह गरे ।
‘२०५१ सालमा नेपाली कांग्रेसको बहुमतको सरकारको पालामा पनि अस्थिरता थियो । त्यतिबेला समानुपातिक व्यवस्था थिएन । त्यसैले समानुपातिक व्यवस्थाका विषयमा गम्भीर भएर सोच्नुपर्छ,’ शेरचनले भने ।
शेरचनले आफ्नो तीनवर्षे लुम्बिनी बसाइ निकै सौहार्दपूर्ण रहेको बताए । उनले आफूले प्रदेश प्रमुखका रुपमा रहँदा कार्यालयलाई व्यवस्थित बनाउने काम गरेको दाबी गरे ।
३ वर्षको अवधिमा १५ वटा विधेयक प्रमाणीकरण गरेको उनले बताए । निजामती र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण रहेको उनले बताए ।
प्रतिक्रिया 4