काठमाडौं । आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर व्यापक आलोचना र विरोध भएपछि गायिका शान्तिश्री परियारले दर्शक-श्रोतासँग माफी मागेकी छन् ।
बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको उल्लेख छ ।
आगामी दिनमा शब्द छनोट गरी गाउने वाचा गर्दै उनले अब हिंड्दा ख्याल गरेर हिंड्ने बताएकी छन् । साउन ११ मा युट्युबमा रिलिज भएको तीज गीत ‘बिस्ताराले पोल्यो’मा शान्तिश्री र हरि गिरी ‘विमर्शी’को स्वर छ । गिरीकै संगीत रहेको गीत अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
शान्तिश्रीले वक्तव्यमा लेखेकी छन्, ‘कहिलेकाहीं सधैं हिँडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ । त्यहाँबाट लागेको थोरै चोट, जुन चोटले आफूसँगै आफ्ना र आफ्ना शुभचिन्तकलाई धेरै दुख्ने रहेछ । त्यसैले अब हिंड्दा अलि ख्याल गरेर हिंड्नेछु ।’
प्रतिक्रिया 4