
News Summary
Generated by OK AI. Editorially reviewed.- तीज गीत नेपाली महिलाले हरितालिका तीज पर्वमा गाउने परम्परागत लोकगीत हो जसले महिला भावना, सामाजिक अवस्था र संघर्ष अभिव्यक्त गर्छ।
- लक्ष्मी न्यौपानेको तीज गीत 'म त मसक्कै'ले नेपाली महिलाको शृङ्गारप्रेम, सांस्कृतिक परम्परा र पतिपत्नी प्रेमिल सम्बन्ध प्रस्तुत गर्छ।
- गीतमा महिलाले तीज पर्वका लागि शृङ्गार सामग्री किनेर सजिएर श्रीमानको प्रशंसाले आत्मसन्तुष्टि अनुभव गर्ने भाव व्यक्त गरिएको छ।
‘तीज गीत’ नेपाली महिलाले हरितालिका तीज पर्वको अवसरमा गाउने परम्परागत लोकगीत हो । यी गीतले महिलाको भावना, सामाजिक अवस्था, भोगाइ, खुसी, दुःख, पीडा, आशा, प्रेम र संघर्षलाई अभिव्यक्त गर्छन् ।
तीज गीत सांस्कृतिक, सामाजिक र कहिलेकाहीँ राजनीतिक चेतनासमेत बोकेको हुन्छ । तीज गीत नाचगानसहित रमाइलो गर्ने माध्यम पनि हो । महिला रातभर जाग्राम बस्दै गीत गाएर उत्सव मनाउँछन् ।
तीज गीत सामान्यतया लोकधुनमा आधारित हुन्छन्, सरल लय र शब्द प्रयोग गरिन्छ, जसले सबैलाई सजिलै गाउन र बुझ्न सकिन्छ । तीज गीतमा विवाहिता महिलाले माइती घरको सम्झना, घरपरिवारप्रतिको माया, तथा श्रीमानसँगको सम्बन्धबारे भावना पोख्छन् ।
छुवाछुत, लैङ्गिक भेदभाव, घरेलु हिंसा, दाइजो प्रथा, महिला अधिकारजस्ता विषयमा आवाज उठाइन्छ । मौलिक तीज गीतमा नेपाली संस्कृति, समाज र महिलाहरूको जीवन भोगाइसँग गहिरो सम्बन्ध राख्ने, परम्परागत शैलीमा गाइने गीत पर्छन् । यी गीतमा नेपाली महिलाहरूको भावना, पीडा, संघर्ष, आशा, र संस्कार झल्किन्छन् ।
मौलिक तीज गीतमा माइतीको सम्झना, श्रीमानप्रतिको प्रेम, तीज व्रत र पूजाको महत्व, नारी धर्म र कर्तव्यजस्ता सांस्कृतिक र परम्परागत विषयवस्तु आएका हुन्छन् । यस्ता गीतमा महिलामाथिको हिंसा, दाइजो प्रथा, छुवाछुत र विभेद, चेलीको पीडा र मायाको कथा आदि समाजको यथार्थ चित्रण गरिएको हुन्छ ।
मौलिक गीत प्रायः धिमे लयमा हुन्छन्, स्वरमा पीडा र भावना प्रकट हुन्छ, धुनहरू लोक सङ्गीतमा आधारित हुन्छन् । गाउँघरमा सहजरूपमा गाइने स्थानीय भाषाशैली प्रयोग गरिन्छ । मौलिक तीज गीतले महिलालाई आत्मबल दिने काम गर्छ, सामाजिक बेथिति र अन्यायविरुद्ध बोल्ने माध्यम पनि बन्न सक्छ ।
विगतमा तीज गीत बढी भावनात्मक र परम्परागत हुन्थे, तर अहिलेका तीज गीतमा आधुनिक प्रभाव, सजावट र कहिलेकाहीँ व्यावसायिकता पनि देखिन्छ । कतिपय गीतमा मौलिकता हराउँदै गएका आलोचना पनि छन् । बजारमुखी र अत्यधिक सजावटयुक्त गीतले मौलिकता हराउँदै गएको छ । अश्लीलता, नाचगानको प्रदर्शन र चिल्ला शब्दहरूले पुराना भाव हराउँदै छन् ।
लक्ष्मी न्यौपानेको जन्म पाल्पा जिल्लाको दर्पुक भन्ने ठाउँमा भएको हो भने उनको स्थायी घर बुटवल उपमहानगरपालिका वडा नं. १६ हो । अहिले उनी काठमाडौँमा बसोबास गर्दै आएकी छन् । २०५१ सालदेखि साङ्गीतिक यात्रा सुरु गरेकी न्यौपानेले लोकगीत, लोकदोहोरी, तीज गीत, दसैँ तिहार गीत, देउडा गीत, थारु भाषाका गीत लगायतका विभिन्न गीत गाएकी छन् ।
मौलिक तीज गीत नेपाली नारीको आत्मा हुन् । यी गीतले नारी जीवनको गहिरो कथा बोल्छन् । यस्ता गीत गाउने गायिका हुन् लक्ष्मी न्यौपाने । न छेउ न टुप्पा भएका, अर्थहीन, सारहीन, अश्लील भाव बोकेका गीत गाएर सस्तो लोकप्रियता कमाउन चाहने गायकगायिकाको खहरेको बाढी आएका बेला नेपाली तीज पर्वको मौलिकतालाई लिएर रचना गरिएको लक्ष्मी न्यौपानेको तीज गीत ‘म त मसक्कै’ समीक्षा प्रस्तुत गरिएको छ ।
लक्ष्मी न्यौपाने र शारदा बस्याल न्यौपानेको शब्द तथा लक्ष्मी न्यौपानेको स्वरमा प्रस्तुत गीतमा श्यामश्वेत रसाइलीको सङ्गीत संयोजन छ । नारीको शृङ्गारप्रतिको मोह, चाडपर्वको उल्लास, पतिको माया र स्वीकृतिको चाहना, नेपाली सांस्कृतिक परम्परामा नारी सौन्दर्यको स्थानलाई तलका हरफले प्रस्तुत गरेका छन् ।
बुटोल बजार गई
टिकिया किनी ल्याकी छु
बाटुलो निधारमा लाउँछु
टपक्कै कति राम्रो सुहायो
रातो टीका चिटिक्कै भन्नु भो स्वामीले
म त मसक्कै ।
यी हरफले महिला आकर्षक देखिन चाहने मनोविज्ञानलाई देखाउँछन् । तीजजस्ता चाडपर्वमा महिला बजारबाट शृङ्गारका सामग्रीहरू टीका, चुरा, पोते आदि किन्ने गर्दछन् । निधारमा रातो टीकाको सजावट नेपाली सौन्दर्य परम्परासँग जोडिएको छ ।
टपक्कै भन्ने शब्दले टीकाको सजावटको सान्दर्भिकता र महिलाको सन्तुष्टि झल्काउँछ । रातो टीका महिलाको वैवाहिक जीवनको प्रतीक हो । यसले नारीको सौन्दर्य मात्र होइन, उनको वैवाहिक स्थिति र आत्मगौरवलाई पनि देखाउँछ । सुहायो भन्नाले शृङ्गारले उनलाई आकर्षक बनाएको अनुभूति दिन्छ ।
यहाँ महिलाको मनमा पतिको एक मीठो टिप्पणीले आएको आत्मसन्तोष झल्काइएको छ । स्वामी (पति)ले तिमी कति राम्री देखियौ भन्ने भाव प्रकट गर्दा महिलाको मन मस्किएको छ ।
बुटोल बजार गई लाली किनी ल्याकी छु
पीपल पाते ओठमा लाउँछु लपक्कै
के के लाइछेऊ लगाऊ हेर्छु बसी थपक्कै
भन्नु भो स्वामीले म त मसक्कै
महिला चाडबाडमा विशेषरुपमा सजिनको तयारी गर्छिन् भन्ने देखाउँछ । बुटोल बजारले स्थानीयता झल्काउँछ । ‘हरियो पीपलको पातजस्तो आकर्षक, ताजा र उज्यालो ओठमा लालीले दिएको सौन्दर्य दिएको कुराको वर्णन छ । महिलाले सिँगारिएपछि पतिको नजरमा आफूलाई कस्तो देखिन्छु भनेर उत्सुकतापूर्वक हेर्ने कल्पना गरिएको छ । श्रीमानको प्रेमिल प्रशंसाले महिलाको मन मस्किएको, सन्तुष्ट भएको र आत्मगौरवले भरिएको अवस्था गीतमा अभिव्यक्त भएको छ ।
बुटोल बजार गई गाजलु किनी ल्याकी छु
सरर ठूला ठूला लाउँछु आँखैमा
कस्तो भयो गाजलु यता हेर
खै खै भन्नु भो स्वामीले म मसक्कै
गाजल नेपाली महिलाहरूको पारम्परिक शृङ्गारको एक अङ्ग हो । गाजलले कोमल र आकर्षक आँखाको सौन्दर्यलाई वर्णन गरेको छ । यो आँखाको शक्ति र नारी सौन्दर्यप्रतिको सूक्ष्म दृष्टिकोण पनि हो । आफ्ना प्रियजनले आफूलाई हेरून्, त्यसमा प्रतिक्रिया दिऊन् भन्ने महिलाको स्वाभाविक इच्छा यहाँ प्रकट भएको छ ।
श्रीमानको सकारात्मक प्रतिक्रिया पाउँदा महिलाको मन फुल्यो, सन्तुष्ट भयो, आनन्दित भयो भन्ने भाव प्रस्तुत गरिएको छ । श्रीमान-श्रीमतीबीचको प्रेमिल संवाद र सम्बन्ध, नेपाली संस्कृतिमा शृङ्गारको सामाजिक र भावनात्मक अर्थ, आत्मप्रेम र आत्मसन्तुष्टिको साङ्गीतिक अभिव्यक्ति यहाँ पाइन्छ ।
बुटोल बजार गई चुडिया किनी ल्याकी छु
सरर लगाउँछु नाडी कलिलै कस्तो राम्रो चुडिया
नाडी राम्रो वैशकै भन्नु भो स्वामीले म मसक्कै
चुडी नेपाली महिलाको परम्परागत गहना हो । चुडियाले महिलाको सजिने चाहना र सांस्कृतिक शृङ्गारप्रतिको मोह देखाउँछ । यसमा चुडी लगाउँदाको मृदु भावनात्मक क्षणलाई व्यक्त गरिएको छ ।
नाडी कलिलैले महिला पात्रको उमङ्ग, ताजापन र नारी सौन्दर्यको सुन्दरता देखाउँछ । यहाँ नारी सौन्दर्यप्रतिको स्वाभाविक आकर्षण, शृङ्गार र चाडपर्वको परम्परागत भूमिका, पति–पत्नीबीचको प्रेम र प्रशंसा, सामान्य जीवनका कुरामै पाइने गहिरो खुसी अभिव्यक्त भएको छ ।
बुटोल बजार गई डोरी किनी ल्याकी छु
नागबेली चुल्ठोमा बाट्छु लरक्कै
माइतमा नाचे है कम्मर मर्काउँदै
भन्नु भो स्वामीले म मसक्कै
नेपाली नारी शृङ्गारमा ‘कपाल बाँध्ने डोरी स्त्री सौन्दर्य र सजिने चाहनाको प्रतीक हो । यसले कपालको सजावटको सौन्दर्यात्मक रूप झल्काउँछ । डोरीले चुल्ठो बाँधिएको कान्तिपूर्ण र आकर्षक स्वरूपको वर्णनले परम्परागत सौन्दर्यबोधलाई देखाएको छ ।
यहाँ माइतीप्रतिको भावनात्मक आत्मीयता र चाडबाडमा रमाउने स्वतन्त्रतालाई देखाएको छ । नृत्यको दृश्य, चञ्चलता, युवावस्थाको उमङ्गले नारीको उल्लासपूर्ण मनस्थितिलाई प्रकट गरेको छ । यसमा आत्मसन्तुष्टि, प्रेमको स्वीकारोक्ति र दाम्पत्य सुखको सङ्केत छ ।
लाली पाउडर चुरा चोली सारी लाएँ नि
भन्नूस न स्वामी राजै कस्ती भएँ नि
सिँगारपटार गरी चट्ट तिमी पर्यो नि भन्नु भो स्वामीले
मख्खै परेनी
नारीले चाडपर्वमा सिँगारपटार गर्न आवश्यक सामग्रीहरू लाली, पाउडर, चुरा, चोली, सारी किन्ने प्रचलन, महिलाले श्रीमानलाई सजिएको आप्नो सौन्दर्यप्रतिको प्रतिक्रिया माग्ने सन्दर्भ, सजिएपछि महिलाको रूप देखेर श्रीमान् एक्कासि मोहित भएको, पतिले पत्नीको सिँगारप्रति प्रशंसा गरेपछि उनी मख्ख परेकी भावमार्फत दाम्पत्य प्रेमको मिठास, सानो कुरामा आउने गहिरो खुसी र नारी हृदयको सन्तुष्टि प्रकट भएको छ ।
शिरैमा शिरफूल गलैमा पोते खुट्टामा
छमछमी बजे पाउजा
सिँगारपटार गरी माइत जान
म लाउँदा भन्नुभो स्वामीले कहिले आउँछेउ त ।
शिरफूल र पोतेले नेपाली महिलाको परम्परागत सौन्दर्यका साधन तथा वैवाहिक र सांस्कृतिक पहिचान, पाउजाले नारीको चञ्चलता, रमाइलो र उत्सवको लय, ‘छमछमीले महिला नाचिरहेको दृश्य, सिँगारपटारले सिँगारिएर माइत जाने तीजको परम्परालाई बुझाएका छन् । यसले माइतीको प्रेम, नारीको स्वतन्त्रता र भावनात्मक सम्बन्ध देखाउँछ । लक्ष्मी न्यौपानेको ‘म त मसक्कै’ गीत मौलिक नेपाली तिज गीतको सांस्कृतिक, भावनात्मक र सौन्दर्यात्मक आयामको उत्कृष्ट प्रतिनिधित्व हो । प्रस्तुत गीत नेपाली महिलाको शृङ्गारप्रेम, चाडपर्वमा रमाउने चाहना र पतिपत्नीबीचको प्रेमिल सम्बन्धको सहज, आत्मीय र सांस्कृतिक अभिव्यक्ति हो ।
गीतमा एक विवाहित महिलाले तीज पर्वका लागि बजारबाट लाली, टिकिया, गाजलु, चुडिया, डोरी आदि शृङ्गार सामग्री किनेर सिँगारिएकी छिन्, अनि आफ्नो सौन्दर्यमा श्रीमान् को प्रतिक्रिया सुनेर हर्षित हुँदै “म मसक्कै” वा “मख्खै परेनी” भनी आफूमा गर्व र आत्मसन्तुष्टि अनुभव गर्छिन् ।
यसमा नारीको सौन्दर्य चेतना मात्र होइन, श्रीमानको मायालु नजर र बोलाइ कति महत्वपूर्ण लाग्छ भन्ने कुरा पनि व्यक्त गरिएको छ । गीतमा माइतीघरको याद, रमाइलो नाचगान र पारिवारिक आत्मीयता पनि प्रकट भएको छ । समग्रमा यो तीज गीतले नेपाली नारी जीवनको सामाजिक, सांस्कृतिक र भावनात्मक पक्षलाई सरल, मीठो र मौलिक शैलीमा उजागर गरेको छ ।
यसमा कुनै विद्रोह, पीडा, वा विरोध होइन, बरु मायालु सम्बन्ध, सौन्दर्यको मूल्याङ्कन र सांस्कृतिक सौन्दर्यबोध देखिन्छ । तीज गीत नेपाली समाजको सांस्कृतिक सम्पदा हो । यसले महिलालाई आफ्ना भावना पोख्ने, सामाजिक चेतना फैलाउने र सामूहिकता प्रदर्शन गर्ने अवसर दिन्छ । तीज गीतको मौलिकता जोगाउँदै यसलाई समयअनुसार परिमार्जन गर्दै लैजानु आवश्यक छ ।
प्रतिक्रिया 4