
१६ साउन, काठमाडौं। ई-सेवाको नक्कली कर्मचारी बनेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका–२ घर भएका २१ वर्षीय शुभम सा र रौतहटकै परोहा नगरपालिका-९ घर भएका ३० वर्षीय सत्यम कुमार सहनी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले ई–सेवा र बैंकको कर्मचारी बताउँदै विभिन्न व्यक्तिसँग फोनसम्पर्क गरी बैंक खाता लिंकअप गर्न, केवाईसी अपडेट, सेक्युर ट्रान्सफर गर्न भन्दै झुक्याएर ओटिपी कोड पठाउन लगाएर रकम निकालेको आरोप छ ।
ओटिपी कोड, बैंक खाता नम्बरदेखि नागरिकताको समेत फोटोकपी पठाउन लगाएर त्यसको दुरुपयोग गरी अरुको खाताबाट रकम निकालेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
अहिलेसम्म २२ जना व्यक्ति पीडित भन्दै प्रहरीको सम्पर्कमा आएका छन् । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया 4