२१ साउन, काठमाडौं । बंगलादेशमा विद्यार्थीले गरेको आन्दोलनको प्रभाव नेपालको आयात र निर्यात व्यापारमा परेको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेका अनुसार दुई देशबीचको आयात–निर्यातका सामान बोकेका गाडीहरू नाकामा अलपत्र परेका हुन् ।
बंगलादेशबाट भन्सार छुटेका ५ वटा गाडी र नेपालबाट छुटेका ११ वटा गाडी बाटोमै रोकिएको जानकारी उनले दिए ।
‘आन्दोलन सुरु भएको केही दिनसम्म आयात निर्यात रोकिएको थियो, तर बीचमा गाडी जाँदा खासै असर परेको थिएन, हिजोदेखि फेरि ३ दिन बन्द भनेर गाडीहरू रोकिएका छन्,’ पाण्डेले अनलाइनखबरसँग भने ।
उनका अनुसार नेपालबाट ११ वटा ट्यांकरमा लोड भएको उखुको खुदो (मोलासिस) निर्यात हुन रोकिएको छ । ‘नेपालबाट बंगलादेशमा धेरै निर्यात हुनेमध्येमा मोलासिस पर्छ, हप्तामा २–३ लट १०–११ वटा ट्यांकर जाने गर्छ, तर यो पटक रोकियो,’उनले भने ।
पाण्डेका अनुसार नेपालबाट बंगलादेशमा काँकडभिट्टा नाका हुँदै मुसुरोको दाल, चिराँइतो, चुत्रो, डाबर च्यवनप्रास लगायत पनि निर्यात हुने गरेको छ । तर, ती सामान यहाँबाट नछुटेका कारण रोकिनु नपरेको उनले बताए ।
यस्तै बंगलादेशबाट आउनुपर्ने थुप्रै सामग्रीहरू उद्योगमै रोकिएको पाण्डेले बताएका छन् ।
‘भन्सार नै छुटेका ५ वटा टिस्यु पेपर लोड भएका कन्टेनरहरू बंगलाबन्ध नाकामा आएर रोकिएका छन् । नेपालले आयात गर्ने अन्य वस्तुहरू उद्योगमै लोड भएर बसेका छन् भने केही गोदामै छन् भन्ने जानकारी आएको छ । भन्सार छुटेका ५ वटा कन्टेनर मात्रै आउन बाँकी छ,’ उनले भने ।
पाण्डेका अनुसार काँकडभिट्टा नाका हुँदै नेपालमा बंगलादेशबाट जुट, टिस्यु पेपर, मेडिसिन, धागो धेरै आयात हुने गरेको छ ।
नेपालले बंगलादेश निर्यात गर्दा नेपाली गाडीहरू बंगलाबन्ध–फुलबारी नाकामा पुगेर बंगालदेशको गाडीमा अनलोड गर्छन् भने त्यहीँबाट नेपाल आयात हुने सामग्रीहरू पनि लोड गरेर नेपाली गाडीले ल्याउने गर्छन् ।
काँकडभिट्टाबाट नेपालले साउनयता मात्रै २० करोड ६५ लाख रुपैयाँको आयात गरिसकेको छ भने १ करोड ३५ लाखको निर्यात गरेको छ ।
प्रतिक्रिया 4