२२ साउन, हेटौंडा । कुनै बेला चिनियाँ सञ्चारमाध्यममा त्यहाँका पहाडी भेगमा भइरहेका विकास निर्माण र त्यसमा प्रयोग भएका अत्याधुनिक उपकरण हेर्दा नेपाली अचम्म मान्थे ।
चीनले उसका पहाडी भेगमा गरेका विकास निर्माण र प्रयोग गरेका अत्याधुनिक उपकरण अहिले आफ्नै घर अगाडि देख्न पाउँदा नेपाली अचम्म मानिरहेका छैनन्, बरु गर्व महसुस गरिरहेका छन् ।
त्यसमाथि चार लेन फराकिलो पुल बनाउन ८० मिटर अग्लो खम्बाका लहरले ‘काठमाडौं–तराई फास्ट ट्र्याक’ मा भइरहेको पछिल्लो उपलब्धि प्रतिविम्बित गर्छ ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर धेद्रे र लेनडाँडा सुरुङमार्ग जोड्न ठड्याइएका ८० मिटरभन्दा अग्ला लहरै खम्बाले यो आयोजनाको भव्यता दर्शाउँछ ।
आयोजना निर्माण व्यवस्थापक नेपाली सेनाका अनुसार यति उचाइका सडक पुल नेपालमात्र होइन, भारतमा समेत बनेका छैनन् । यो आयोजनामा कुल ८९ वटा साना–ठूला पुल ठडिँदैछन् । जसले काठमाडौं र तराईलाई एक समथर द्रुतमार्गका रूपमा जोड्नेछन् ।
फास्ट ट्र्याकले नेपालको तराई भेगलाई संघीय राजधानी काठमाडौंसँगको दूरी एक घण्टामा झार्ने छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीका अनुसार यस आयोजनामा निर्माण हुने कुल ८९ पुलमध्ये ८५ को ठेक्का व्यवस्थापन भई काम भइरहेको छ । विवादित खोकना खण्डमा चार वटा पुल पर्छन् ।
एकातर्फ लामो दुरीका सुरुङ धमाधम ‘ब्रेक थ्रु’ (छिचोल्ने) काम भइरहेको छ भने अर्कातर्फ भीमकाय पुलका खम्बा ठडिरहेका छन् । अहिले विवादका कारण कामै सुरु नभएको प्रारम्भिक ६.५ किलोमिटर खण्डबाहेक फास्ट ट्र्याकका अन्य सबै स्थानमा कुनै न कुनै प्रकारको काम जारी छ ।
सबैजसो खण्डमा फाउन्डेसनको काम भइरहेका कारण आयोजनाको भौतिक प्रगति ३५.३८ प्रतिशतमात्र देखिएको नेपाली सेनाले जनाएको छ । मन्त्रिपरिषद्को २१ वैशाख २०७४ को निर्णय अनुसार यो आयोजना निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको थियो ।
कोभिड महामारी, वन, जग्गा प्राप्तिजस्ता अवरोधबीच अहिलेसम्मको प्रगति कम मान्न नसकिने प्रधानसेनापति प्रभुराम शर्मा बताउँछन् । फास्ट ट्र्याक बनाउन धेरै समय लाग्यो भन्ने हल्ला गरिए पनि सेनालाई काम गर्न दिएको धेरै नभएको उनी बताउँछन् । यो आयोजनालाई पछिल्लो समय दिइएको म्याद चैत २०८३ हो । उक्त अवधिभित्र आयोजना सम्पन्न हुने उनको दाबी छ ।
नेपाली सेना र सेनासँग जोडिएर काम गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिका अनुसार अहिले प्राविधिक रूपमा जटिल पुल, सुरुङ र सडकमा समेत जमिनमुनिको काम धेरै भइरहेको छ । यो काम सकिएपछि सडकको भागमा काम सुरु हुनेछ । जसको काम छिटो र सजिलो हुन्छ । जसले भौतिक प्रगति समेत माथि उठाउने छ ।
पुल र सुरुङको मात्र काम सम्पन्न हुँदा यो आयोजनाको २३.१९४ किलोमिटर सडकको काम सम्पन्न हुन्छ । मकवानपुर हुँदै बारा पुगेको बकैया नदी पार भइसकेपछि सुरु हुने तराई भेगमा सडक कालोपत्र मात्र गरे पुग्ने गरी तयारी अवस्थामा छ ।
बारा निजगढमा पर्ने तराईबाट द्रुतमार्ग प्रस्थान गर्ने बिन्दुमा इन्टरसेक्सन निर्माण हुनेछ । जसमार्फत पूर्वपश्चिम महेन्द्र राजमार्गबाट सवारीसाधन फास्ट ट्र्याक प्रवेश गर्न र द्रुतमार्गबाट गएका सवारीसाधन महेन्द्र राजमार्ग प्रवेश गर्न समेत सहज हुनेछ ।
फास्ट ट्र्याकसँग जोडिने महेन्द्र राजमार्गको ९ सय मिटर सडकसमेत यसै आयोजनाले चार लेनमा स्तरोन्नति गरिदिने नेपाली सेनाले जनाएको छ ।
सुरुङमा के भइरहेको छ काम ?
सोमबार मात्र यस आयोजनामा मकवानपुर बकैया गाउँपालिकामा पर्ने धेद्रे सुरुङ ब्रेक थ्रु भयो । योसहित लेनडाँडा सुरुङ निर्माण जिम्मा चिनियाँ कम्पनी पोली छङ्गदा कम्पनीले लिएको छ । उसले आफूले जिम्मा लिएका दुइटै सुरुङको दुईतर्फी ब्रेक थ्रु गरेसँगै सोमबार ‘सेलिबे्रसन’ गरेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्च अधिकारीहरू सहभागी भए । धेद्रे सुरुङको लम्बाइ १ हजार ६ सय ९१ मिटर छ ।
यसअघि नै ब्रेक थ्रु भएको लेनडाँडा सुरुङ १ हजार ६ सय २३ मिटर छ । यो आयोजनाको सबैभन्दा लामो सुरुङ महादेवडाँडा सुरुङ हो । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ । यसबाहेक देवीचौर सुरुङ एक किलोमिटर, सिसौटार सुरुङ ०.३९ किलोमिटर र चन्द्राम भीर सुरुङ २.२५ किलोमिटर बन्दैछ ।
सुरुङ र पुलबाहेक यो आयोजनामा भइरहेको अर्को महत्त्वपूर्ण काम हो पहिरो रोक्ने प्रविधि । खासगरी लेदो बगिरहने र पहिरो जोखिम हुने क्षेत्रको दीर्घकालीन समाधानका लागि आयोजनासँगै विशेष प्रकारको घाँस रोप्ने काम समेत जारी छ । अग्ला–अग्ला पहाड खनेर बनाइने फास्ट ट्र्याकमा पहिरोले दुःख नदेओस् भनेर ‘स्लोप प्रोटेक्सन’ को काम समेत जारी राखिएको सेनाले जनाएको छ ।
पर्खाइ खोकना विवाद समाधान
१४ जेठ २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको यो आयोजना शिलान्यास गरेका थिए । त्यसपछि अन्य खण्डमा विभिन्न चरणमा ठेक्का व्यवस्थापन भई काम जारी रहेपछि ललितपुर खोकना खण्डमा भने विवाद जारी छ । यो विवाद राजनीतिले सिर्जना गरेको भन्दै प्रधानसेनापति शर्मा राजनीतिबाटै यसको समाधान खोज्नुपर्ने बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो खण्डको विवाद कुनै पनि हालतमा मिलाइने आश्वासन नेपाली सेनालाई दिएका छन् ।
सोमबार धेद्रे सुरुङ ब्रेक थ्रुका लागि मन्त्रिपरिषद् जम्बो टोली लिएर मकवानपुर पुगेका प्रधानमन्त्री ओलीले अगाडि बढेको आयोजना कुनै पनि सर्तमा तोकिएकै समयमा निर्माण पूरा हुने बताए ।
उनले सडक विभागलाई समेत अब नयाँ आयोजनाभन्दा पुराना आयोजना सम्पन्न गर्न निर्देशन दिएको जानकारी दिए । ‘अगाडि बढेका आयोजना मात्र सम्पन्न गरौं, मुलुकले ठूलो फड्को मार्छ,’ ओलीले भने ।
प्रतिक्रिया 4