२२ साउन, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने भएको छ । अल्भारेजका लागि एट्लेटिकोले ८१.५ मिलयन पाउण्ड तिर्न सहमत भएको बीबीसीले जनाएको छ ।
एट्लेटिकोले सुरुमा ६४.४ मिलियन पाउण्ड तिर्ने र बाँकी १७.१ मिलियन पाउण्ड पछि तिर्नेगरी सहमति भएको हो ।
सिटीले कुनै पनि खेलाडीको बहिर्गमनबाट पार्ने यो कीर्तिमानी रकम हुनेछ । यसअघि चेल्सीले सिटीका रहिम स्टर्लिङका लागि ५० मिलियन पाउण्ड खर्च गरेको थियो ।
पेरिस ओलम्पिकमा अर्जेन्टिनाको यू २३ टिमबाट खेलेका अल्भारेजले ओलम्पिकपछि आफ्नो भविष्यको निर्णय गर्ने बताएका थिए ।
अर्जेन्टिना फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै पेरिस ओलम्पिकबाट बाहिरिएको थियो ।
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय अल्भारेजलाई क्लबमै राख्न चाहेका थिए र नयाँ सिजनका लागि अल्भारेजलाई पनि गणना गरेको बताएका थिए ।
तर सिटीले क्लब छाड्ने कुनै पनि खेलाडीलाई रोक्ने प्रयास गरेको छैन । यसअघि इक्ले गुन्डोगान, रियाद महारेज र एमरेक लापोर्टाको हकमा पनि यस्तै भएको थियो ।
एट्लेटिको मड्रिडले चेल्सीका मिडफिल्डर कोनोर गालेघरलाई पनि अनुबन्ध गर्नका लागि सहमति गरिसकेको छ ।
अर्जेन्टाइन फरवार्ड अल्भारेजले सन् २०२२ मा रिभर प्लेटबाट सिटीमा अनुबन्ध भएका थिए । जहाँ उनले १०६ खेल खेल्दै ३६ गोल गरेका थिए ।
अल्भारेजले सिटीमा पहिलो सिजनमै क्लब ट्रेबल जितेका थिए । यस्तै सन् २०२० मा अर्जेन्टिनाले फिफा विश्वकप जित्दा उनी टिमको सदस्य थिए ।
प्रतिक्रिया 4