२३ साउन, काठमाडौं । बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५४ मिनेटमा उडेको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकप्टर काठमाडौं नजिकै दुर्घटनामा पर्यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको थियो । यो हेलिकप्टर रसुवाको स्याफ्रुबेसी उडेको थियो । जसको उडान दुरी काठमाडौंबाट १५ देखि २० मिनेट हाराहारी मात्र हो । तर, काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको झन्डै ४५ मिनेटपछि मात्र काठमाडौंबाट प्रभु एयरलाइन्सको अर्को हेलिकप्टर खोजीका लागि उडाएको पाइएको छ ।
सामान्यतया हेलिकप्टर वा जहाज हराएको खबर आउनासाथ त्यसको केही मिनेटमै खोजीका लागि हेलिकप्टर पठाउनु पर्नेमा यस पटक अस्वभाविक ढिलाइ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झा भने यसबीचमा कम्पनीसँग सोधपुछ गर्ने, जानकारी लिने लगायतका काम भएको बताए ।
‘ढिला भन्न मिल्दैन,’ उनले अनलाइनखबरसँग भने, ‘पहाडका खोँचहरूमा उड्दा कुनै बेला कम्युनिकेसनमा राम्रो सम्पर्क हुँदैन, त्यसकारण केही समय पर्खिने काम समेत हुन्छ ।’
आपतकालीन अवस्थामा हेलिकप्टरले अनुकूल स्थान पहिल्याएर अवतरण गराउन पनि सक्ने भएकाले तत्काल दुर्घटनाको निर्णयमा नपुगिएको उनको भनाइ छ ।
सामान्यतया जहाजहरू दुर्घटनामा परी जमिनमा ठोक्किएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खोज तथा उद्धार समन्वय केन्द्रमा स्वचालित संयन्त्रमा सूचना समेत आउनुपर्छ । जसलाई इमर्जेन्सी लोकेटर ट्रान्समिटर (ईएलटी) ले लोकेट समेत गर्छ । यसले जहाजको अन्तिम लोकेसन पत्ता लगाएर खोजी तथा उद्धारमा सहयोग पुग्छ ।
तर, केन्द्रलाई चुस्त बनाउन नसक्दा काठमाडौंको २० नटिकल माइलभित्र भएको दुर्घटनामा समेत प्राधिकरण र विमानस्थल लामो समयसम्म बेखरजस्तै देखिएको छ ।
दुई वर्ष अगाडि जोमसोम उडेको तारा एयरको जहाज दुर्घटना स्थल ईएलटीले देखाएकै स्थानमा भेटिएको थियो ।
विमानस्थल व्यवस्थापनको दाबी अनुसार जहाज सम्पर्कमा आउँछ कि भन्दै कुर्ने अवधिलाई ५ मिनेट वा १० मिनेट मात्र दिँदा पनि उद्धार र खोजीमा अर्को जहाज उडाउन किन ४५ मिनेटसम्म ढिलाइ भयो भन्ने विषयले नियामक निकाय तथा उद्धारमा खटिने संयन्त्रमाथि प्रश्न खडा गरेको छ ।
हवाई उडानमा जहाज सम्पर्कविहीन भएको ५ मिनेटसम्मको समयलाई अलर्ट फेज मानिन्छ । यस समयमा सबै उद्धार संयन्त्रलाई सूचना पठाएर सचेत बनाउने काम गरिन्छ । ५ मिनेटसम्म पनि जहाज सम्पर्कमा आएन भने खोजीमा खटिहाल्नु पर्छ ।
नुवाकोटको सूर्यचौर भन्ने स्थान काठमाडौं विमानस्थल नजिकै पर्छ । दुई साता अगाडि काठमाडौं विमानस्थलकै डिलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना र ठूलो मानवीय क्षतिपछि बुधबारको दुर्घटनाले आपतकालीन तत्परतामा नेपालको अक्षमता उजागर गरेको छ ।
नेपाली आकाशमा ४१औं हेलिकप्टर दुर्घटना
बुधबार भएको एयर डाइनेस्टीको जहाज दुर्घटना नेपाली आकाशमा भएको ४१औं ठूलो दुर्घटना हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो दुर्घटना २७ असोज २०८० का दिन मनाङ एयरको भएको थियो । सो दुर्घटना सोलुखुम्बुको लोबुचेमा दुर्घटनाग्रस्त भएको थियो ।
नेपालमा पहिलो हेलिकप्टर दुर्घटना २७ डिसेम्बर १९७९ मा भएको थियो । भीभीआईपी उडानको हेलिकप्टर लाङटाङमामा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको थियो ।
हेलिकप्टर दुर्घटनामा सबैभन्दा ठूलो मानवीय क्षति २३ सेप्टेम्बर २००६ मा ताप्लेजुङमा भएको थियो । सो दुर्घटनामा २४ जनाको ज्यान गएको थियो ।
पुनः कर्मकाण्डी आयोग
दुई साताको बीचमा भएको दुई ठूलो हवाई दुर्घटनापछि पनि सरकारले गम्भीरतापूर्वक एक्सन लिन सकेन । एकातर्फ अनाहकमा यात्रुले ज्यान गुमाउनु र अर्कोतर्फ कन्ट्रिइमेज धुमिल हुँदा समेत सरकारले कर्मकाण्डी आयोगमा अल्झिन पुग्यो ।
दुर्घटनापछि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ ।
जसमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य तोकिएका छन् । आयोगलाई ३० दिनको समय दिइएको छ ।
पटके आयोग गठन गरी यति छोटो समयमा दुर्घटनाको ठोस कारण पत्ता लगाउन दिने प्रवृत्तिको लामो समयदेखि आलोचना हुँदै आएको छ ।
तर, दुर्घटना छानबिनमा अविच्छिन्न रूपमा काम गर्ने गरी सरकारले स्थायी संयन्त्र बनाउने गरी कानुनी तत्परता लिन सकेको छैन ।
प्रतिक्रिया 4