+
+

गोसाईँकुण्डमा पहिलो पटक बल्यो बिजुली

अन्नपूर्ण आधार शिविरमा बाल्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २ गते १३:३१

२ भदौ, काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईँकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको हो । बत्ती पुगेसँगै गोसाईँकुण्ड क्षेत्र झिलिमिली भएको हो ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियान अन्तर्गत गोसाईँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणमा जागिर सुरु गर्नासाथ प्युठानस्थिति धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारीमा विद्युत् पुर्‍याएको समेत स्मरण गरेका छन् ।

अहिले देशलाई पूर्णरूपमा उज्यालो बनाउने अभियान अन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिरजस्ता धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्‍याउने तयारी भइरहेको उनले जानकारी दिए ।

रसुवा सदरमुकामबाट गोसाईँकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईँकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मर लगायत उपकरण मानिस र खच्चडले ढुवानी गरिएको थियो ।

गोसाईँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । बर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ ।

बर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाईँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जीव भट्टराईले बताए ।

भट्टराईले गोसाईँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । जोलाङपाटी र लौरीबिनामा केही होटल सञ्चालित छन् ।

मेलाका यात्रु लक्षित गरी त्यस क्षेत्रमा छाप्रा बन्ने गरेका छन् । गोसाईँकुण्डमा विद्युत् पु¥याउन गत वर्ष असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?