 
																			२ भदौ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् ।
पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका थिए, जुन आइतबार स्वीकृत भयो ।
कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीसँग मतभेद बढ्दै जाँदा कुलपति (प्रधानमन्त्री) को दबाबमा लामिछानेले राजीनामा दिएको केही प्राध्यापक बताउँछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २०७७ मा आफू निकट लामिछानेलाई उपकुलपति र पार्टी महासचिव शंकर पोखरेलका नातोदार (भान्जा) अधिकारीलाई रजिष्ट्रारमा नियुक्त गरेका थिए ।
एक प्राध्यापकका अनुसार नियुक्ति भएदेखि नै दुई जनाबीच मतभेद थियो, एमाले भित्रको गुटगत राजनीतिले थप मलजल गर्यो । ती प्राध्यापक भन्छन्, ‘उनीहरुको व्यक्तिगत मतभेद देखिन्थ्यो नै, पछि पार्टीगत राजनीतिले थप बढायो भन्ने लाग्छ ।’
उपकुलपति लामिछानेले २६ असारमा कुलसचिव माधव अधिकारीलाई निलम्बन गरेका थिए ।
विश्वविद्यालयको ऐन, नियमद्वारा प्राप्त आर्थिक तथा प्रशासनिक कार्य गर्दा नेपाल संस्कृत विश्वविद्यालयको ऐन, नियम उल्लंघन गरेको भन्दै अधिकारीलाई निलम्बन गरिएको थियो । तर प्रधानमन्त्री एवं कुलपति ओलीले कुलसचिवलाई काम गर्ने वातावरण बनाइदिनू भनेपछि निलम्बन फुकुवा गरे ।
‘कुलपतिज्यूले काम गर्ने वातावरण बनाइदिनू भन्नुभएकाले १६ साउनबाट लागू हुने गरी निलम्बन फुकुवा गरेको थिए’ उपकुलपति लामिछानेले अनलाइनखबरसँग भने ।
निलम्बन फुकुवापछि पनि कुलसचिव अधिकारी कार्यालयमा उपस्थित भएनन् ।
बरु आफूलाई निलम्बन गर्नुको कारण मागे । ‘मलाई २० दिनको लागि निलम्बन गरिएको भन्ने समयसिमा राखिएको छ, म किन २० दिनसम्म निलम्बनमा पर्नुपर्ने ? मेरो के कमजोरी रह्यो भन्ने पुष्ट्याईं खोज्याछु’ उनी भन्छन्, ‘होइन भने पहिलेदेखि फिर्ता हुनुपर्यो दोषी हो भने के भन्ने प्रष्ट हुनुपर्यो ।’
उपकुलपतिबाट लामिछानेको राजीनामा भने नियम विपरित भएका नियुक्ति तथा बढुवा फिर्ता लिन दबाब दिएपछि आएको हुनसक्ने उनको आशंका छ । ‘उहाँले गर्नुभएको केही नयाँ नियुक्ति र बढुवा नियम संगत नभएकाले फिर्ता लिन सबैले अनुरोध गर्नुभएको थियो । सायद उहाँले त्यसोगर्नुभन्दा मार्ग प्रशस्त गर्दा राम्रो देख्नुभयो होला’, कुलसचिव अधिकारीले अनलाइनखबरसँग भने ।
संस्कृत विश्वविद्यालय प्राध्यापक संघका उपसभापति विष्णु पन्थी पनि उपकुलपतिले राजीनामा दिएर आफ्नो गल्ती स्वीकार गरेको बताउँछन् । उनले अगाडि भने, ‘हामीले छानबिन हुनुपर्छ भनिरहेको बेला आफूले गरेको काममा अडान नलिएर राजीनामा दिएर गलत गरें भन्ने पुष्टि गर्नुभएको छ ।’
लामिछानेले भने आफ्नो नियमित डाक्टरको निगरानीमा बस्नुपर्ने भएकाले राजीनामा दिएको बताउँछन् । ‘मेरो नितान्त स्वास्थ्य अवस्थाको कारण मैले राजीनामा दिएको हुँ’, उनले अनलाइनखबरसँग भने, ‘त्यहाँ गएर काम गर्न सक्ने स्थिति भएन र नियमित डाक्टरको निगरानीमा बस्नुपर्ने भएपछि राजीनामा दिएको हुँ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4