+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जनवादी गायक पाख्रिनलाई १ लाख रुपैयाँको जेबी टुहुरे स्मृति पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ८:३१

११ भदौ, काठमाडौं । जनगायक जेबी टुहुरे स्मृति सम्मान–२०८१ वरिष्ठ जनवादी गायक खुसिराम पाख्रिनलाई मरोणापरान्त प्रदान गरिएको छ ।

जेबी टुहुरे फाउण्डेसनले हरेक वर्ष गर्ने श्रष्टा सम्मान कार्यक्रम अन्तर्गत यस वर्ष स्वर्गीय पाख्रिनलाई सम्मान गरिएको हो ।

टुहुरेको तेस्रो स्मृति दिवसको सन्दर्भमा सोमबार काठमाडौंको इच्छुक प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय पाख्रिनकी श्रीमती सुकमाया पाख्रिनलाई १ लाख रुपैयाँ राशीको पुरस्कार तथा सम्मान प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री प्रचण्डले वरिष्ठ जनगायक जेबी टुहुरे र खुसिराम पाख्रिन दुवैले नेपाली समाजको रुपान्तरणमा अतुलनीय भूमिका निर्वाह गरेको स्मरण गरे ।

कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बरालले जेबी टुहुरे र खुसिराम पाख्रिन जनवादी गीत संगीतमा एकै सिक्काको दुई पाटा भएको बताए ।

२०३८ सालदेखि जनपक्षीय गीत गाउन थालेका पाख्रिनले आफ्नो जीवकालमा एक सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका छन् । सौन्दर्य चिन्तकका रुपमा समेत चिनिने पाख्रिनका ‘सगरमाथाको काखमा नेपाल देश छ’, ‘उठ जाग युवाहरू’, ‘लाल झुपडीका मान्छेहरु’ जस्ता गीतहरु चर्चित छन् ।

चितवनको भरतपुरमा २०७४ मंसिर ५ गते वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा गीत गाउँदागाउँदै अस्वस्थ भएका पाख्रिनको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

ईश्वरचन्द्र ज्ञवाली संयोजकत्वको गठित तीन सदस्यीय सिफारिस समितिले तयार पारेको अन्तिम सूचीमध्येबाट पाख्रिनलाई जनगायक जेबी टुहुरे स्मृति सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जेबी टुहुरे फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

जेबी टुहुरे प्रतिष्ठानले २०७९ सालदेखि गीतसंगीतका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विशिष्ट प्रतिभा, दीर्घ साधक र प्रगतिशील क्षेत्रका कलाकारहरुलाई जेबी टुहुरे स्मृति सम्मान प्रदान गर्दै आएको छ ।

२०७९ सालमा धरानमा आयोजित पहिलो जेबी टुहुरे स्मृति स्रष्टा सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई सम्मान गरिएको थियो । यसैगरी २०८० सालमा काठमाडौंको नाचघरमा आयोजित कार्यक्रममा कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई सम्मान गरिएको थियो ।

२००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)को २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो । उनले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्वपुर्ण योगदान गरेका थिए । उनको योगदानको कदर गर्दै २०८० भदौ ६ गतेको मन्त्रिपरिषद बैठकले जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?