
१३ भदौ, काठमाडौं । ज्यानु–बसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा फरक फरक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ । राजधानीमा बिहीबार फाउन्डेसनले पहिलो पटक पुरस्कार प्रदान गरेको हो ।
फाउन्डेसनले यस वर्ष पर्यटन पत्रकारितातर्फ पत्रकार सुरज कुँवर, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट एन्टी पोचिङ युनिट, चितवन राष्ट्रिय निकुञ्ज कसरा र दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई प्रदान गरेको हो । पुरस्कृत व्यक्ति तथा संस्थालाई जनही ३ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्तमान समयमा पर्यटन र वातावरण संरक्षण विश्वव्यापी मुद्दा बनेको र यसमा नेपालले सकारात्मक योगदान पुर्याएको बताए ।
विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाकै पहलमा नेपालले यस्तो सफलता प्राप्त गरेको भन्दै उनले त्यसमा समर्पित व्यक्तिको सम्मान हुनु असल कर्म भएको बताए ।
पूर्वप्रधानन्यायाधीश एवम् फाउन्डेसनका संरक्षक कल्याण श्रेष्ठले पवित्र उद्देश्यसहित स्थापित फाउन्डेसनले अत्यन्त पारदर्शीता सहित सम्बन्धित क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मानित गरेको बताए ।
फाउन्डेसन संस्थापक बसन्तराज मिश्रले नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेकोले पर्यटन पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बताए ।
फाउन्डेसनले भविष्यमा पनि पुरस्कारको रकम र विधा पनि बढाउने योजना बनाएको पनि उनले जानकारी दिए ।
फाउन्डेसनले प्रदान गरेको पर्यटन पत्रकारिता पुरस्कारका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले खुला आवेदनका आधारमा निर्णायक समितिले गरेको निर्णय अनुसार तीन जना सेजन सदस्यको नाम सिफारिस गरेको थियो ।
पाँच दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र नेपालको पर्यटन क्षेत्रको पहिलो पुस्ताका पर्यटन व्यवसायी मानिन्छन् । उनले सञ्चालन गरिरहेको टेम्पल टाइगर रिसोर्ट नेपालको पर्यटन जगतमा चर्चित छ ।
प्रतिक्रिया 4