१४ भदौ, काठमाडौं । पाँचथर फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा बिहीबार माओवादी नेता आइतराज केरुङको घर नजिकै बारीमा बच्चा खेल्दै थिए । विस्फोटको आवाज आयो ।
गाउँलेहरु दौडिएर बारीमा पुग्दा चार बालबालिका विभत्स हालतमा लडिरहेका थिए । घाइते बालबालिकालाई अस्पताल पुर्याए पनि स्थानीय दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा साँवा र ११ वर्षे छोरा दिप्सनको ज्यान गयो । अर्का दुई बालक उपचार क्रममा छन् ।
गाउँलेहरुलाई यो सबै कसरी भयो भने सुरुमा कुनै हेक्का भएन । प्रहरीले घटनास्थलमा पुगेपछि थाहा पायो, माओवादी युद्धकालमा केरुङको घर नजिकै अम्लिसो बारीमा खिया लागिराखेको वस्तु छुटेको थियो । बच्चाहरुले त्यही चिज खेलाउन थाल्दा विस्फोट हुन पुगेको प्रहरी निष्कर्ष छ ।
‘त्यति बेला कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्छ’ प्रहरी स्रोत भन्छ, ‘पहिले (द्वन्द्वकालमा) त्यो माओवादीको चहलपहल हुने क्षेत्र पनि हो । त्यही चिज अहिलेसम्म राखिराख्दाको असर हो यो ।’
पाँचथरमा बिहीबार जे भयो, यो द्वन्द्वकालपछिको पहिलो घटना भने होइन । अरु जिल्लाहरुमा पनि बेलाबखत यस्ता त्रासदीपूर्ण खबर आइरहन्छन्, जसले अझै पनि युद्धकालका अवशेषहरु बाँकी नै रहेको, अनि निहत्था सर्वसाधारण त्यसको मारमा परेको जनाउ दिन्छन् ।
११ कात्तिक २०७९ मा कालिकोटको तिलागुफा नगरपालिका–१ रानाबडा गाउँमा यस्तै एउटा घटना घट्यो । कोदो बारीमा तीन जना बालबालिकाहरु खेलिरहेका बेला बम बिष्फोट भएको थियो । विस्फोटमा परेर ५ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती रानाको ज्यान गयो ।
प्रहरी र स्थानीय स्थानीयका अनुसार मृतक बालिकाको घर नजिकैको कोदो बारीमा खेलिरहेका बेल सकेट बम भेट्टाएका थिए । खेलौना भनेर खेलाउदा बम पड्किन पुगेको थियो । प्रहरीले अनुसन्धान गर्दै जाँदा घटना स्थलमा भेटिएको त्यो बम पनि सशस्त्र द्वन्द्वकालमा राखिएको खुलेको थियो ।
दशक लामो युद्धमा त्रासपूर्ण जीवन विताएका रोल्पा गैरीगाउँका स्थानीयलाई द्वन्द्वकालकै पीडा सम्झाउने गरी ठूलो घटना घट्योे । ०७७ वैशाख १७ गते मध्याह्नमा त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँका चार जना बालबालिका बाख्रा चराउन नजिकैको जंगल गएका थिए ।
अचानक विस्फोटको आवाज आएपछि गाउँलेहरु जंगल छेउ पुगेका थिए । त्यहाँ चार बालबालिका क्षतविक्षत फेला परे । शवसँगै पड्केको ग्रिनेड बम र टु इन्च मोर्टारका गोली पनि त्यहाँ थिए ।
प्रहरी र सेनाका सुरक्षाकर्मी पुगेर घटनाको विश्लेषण गर्दा द्वन्द्वकालमा प्रयोग भएको बम भएको भनेर खुल्यो । द्वन्द्वरत पक्षले प्रयोग गर्ने क्रममा ओसारपसार गर्दा छाडेका वा लुकाएर राखेका बम र बारुद बालबालिकाले ती वस्तु भेट्टाएर खेलाउँदा पड्किएर उक्त दुखद घटना हुन पुगेको थियो ।
गैरीगाउँमा सशस्त्र द्वन्द्वको अवधिमा तत्कालीन विद्रोही माओवादी र सुरक्षाकर्मीबीच पाँच दिनसम्म लगातार भएको दोहोरो भिडन्तमा भएको थियो । दुवै पक्षले ठूलो संख्यामा बम र बारुद प्रयोग गरेका थिए ।
त्यसबेलाका विद्रोही माओवादीले ०५२ देखि चलाएको सशस्त्र द्वन्द्व १० वर्ष चल्यो । त्यसपछि शान्ति प्रक्रिया सुरु भयो । यति बेला संक्रमणकालीन न्यायको प्रक्रियासमेत टुंगो लागेर अब पीडितलाई परिपुरण राहत इत्यादि चल्ने तयारी छ । तर अझै युद्धले छाडेका घाउहरु सकिएका छैनन् भन्ने दृष्टान्त यी केही घटनाबाट मिल्छ ।
यसरी द्वन्द्व सकिए पनि युद्धको जोखिम भने टरेको छैैन । द्वन्द्वकालका बेला राज्य र विद्रोही पक्षले एक अर्कालाई लक्षित गर्दै ठाउँ–ठाउँमा बम, बारुदी धराप, ठूलो स्केलको आक्रमणका लागि राखेका विष्फोटक धरापको जोखिमबाट मुक्त हुन सकेको छैन ।
१० वर्षे द्वन्द्वका क्रममा मुलुक बेवारिसे द्वन्द्वकालमा बेवारिसे ढंगले विभिन्न ठाउँमा राखिएका बम र विस्फोटक पदार्थको चपेटामा परेर आम सर्वसाधारणले ज्यान गुमाउनेक्रम आज पनि रोकिएको छैन ।
नेपालमा शान्ति प्रक्रियापछि घटनामा बारुदी धराप र विष्पोटक पर्दाथबाट कति मान्छे मारिए र घाइते भए भन्ने यकिन संख्या कतै छैन । राज्यले यसको कुनै ठोस रेकर्ड राखेको पनि भेटिँदैन । तर पछिल्ला तीन ठूला घटनालाई मात्र हेर्ने हो भने ९ जनाले ज्यान गुमाएका छन् । दुःखद संयोग, घटनामा मारिने सबै बालबालिका छन् ।
द्वन्द्वकालीन घटनाक्रमबारे सबै अभिलेखहरु राख्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको पोहोरसम्मको तथ्यांक अनुसार शान्ति सम्झौतापछि मुलुकभर बारुदी धराप र विस्फोटका थुप्रै घटना भएका छन् । यस्ता बारुदी धराप र विष्फोटक पदार्थमा परेर २१ जना मारिएका छन् । २७१ जना अंगभंग भएका छन् ।
मुुलुकमा द्वन्द्व सकिए पनि बारुदी त्रासको जोखिम न सकिएको मानवअधिकारकर्मी कृष्ण गौतम बताउँछन् । ‘द्वन्द्वकालमा प्रयोग भएका विस्फोटक पर्दाथ आज पनि पड्किरहेका छन्, ‘यसले आज पनि सर्वसाधारणको ज्यान लिन छोडेको छैन’ बिहीवार पाँचथरमा भएको घटना इंगित गर्दै उनले भने, ‘विडम्बना, द्वन्द्वकालीन घटनाहरु टुंग्याउन भनेर संक्रमणकालिन न्याय सम्बन्धी विधेयक पारित गरेकै दिन त्यस्तो घटना घट्यो ।’
०८१ गते जेठमा पनि कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा बम फेला पर्र्याे । बारीको दक्षिण भेगमा घरको जग खन्दा १२ थान भन्दा बढी सकेट बम फेला फेला परेको थियो ।
ठूलोमात्रमा फेला परेको त्यो बम, द्वन्द्वकालका बेलामा माओवादीहरुले राखेको हुन सक्ने प्रहरीले बताएका थिए । ०८० भदौमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरी नजिक शक्तिशाली विस्फोट भयो । त्यो विष्पोटक पर्दाथ माओवादी द्वन्द्वकालको थियो ।
विष्फोट भएको स्थान मानव बस्तीभन्दा टाढा जंगलमा भएकाले मानवीय क्षति भने भएन ।
घटना स्थलामा खिया लागेका तार लगायतका टुक्राहरू फेला परेका थिए । घटनास्थलको अवस्था हेर्दा सडक मुनि विछ्याइएको द्वन्द्वकालिन विष्फोटक पदार्थ विष्फोट भएको खुलेको थियो ।
तत्कालिन सशस्त्र द्वन्द्वको समयमा पूर्व–पश्चिम राजमार्गको कोहलपुर–लमही खण्डमा बिद्रोही माओवादीले थुप्रै ठाउँमा माइन विष्फोट गराएको थियो । उक्त सडक खण्डको खैरी खोला नजिक राजमार्गमा बम विष्फोट हुँदा गाडीमा सवार थुप्रै सशस्त्र प्रहरी मारिएका थिए । उक्त समयमा तत्कालीन सेनाले सडकको बिच भागमा बिछ्याइएका थुप्रै ठाउँका माइनहरू निष्क्रिय पारेको थियो ।
नेपालमा यस्ता बारुदी धराप विरुद्ध काम गर्दै आएको ‘बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालकी संयोजक पूर्णशोभा चित्रकार द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षले एक अर्कालाई लक्षित गर्दै थापेका विस्फोटक पदार्थहरू आज पनि रहेको बताउँछिन् ।
सेना समायोजन प्रक्रियासँगै क्यान्टोनमेन्टमा रहेका हातहतियार सरकार मातहत भए पनि द्वन्द्वका बेला जंगल, खेत, भिडन्त स्थल, लुकाएर राखिएका ठाउँ लगायतमा छरिएर र बेवारिसे अवस्थामा छोडिएको उनको भनाई छ ।
उनी भन्छिन्, ‘युद्धका दौरान लुकाएका विस्फोटक पदार्थ पूर्ण रूपमा नष्ट हुन सकेनन् । त्यसैले आज पनि यी घटना घटिरहेका छन् ।’ उनले अझै पनि यस्ता घातक पदार्थबाट जोखिम मुक्त हुने अवस्था नआइसकेको भन्दै चिन्तासमेत व्यक्त गरिन् ।
प्रतिक्रिया 4