 
																			१४ भदौ, विराटनगर। पाँचथरको फालेलुङ गाउँपालिका–५ डाडागाउँका ज्ञानबहादुर राई सदरमुकाम फिदिममा बस्छन् ।
उनको परिवारका सदस्य गाउँमै आइतराज केरुङको घरमा बस्छ। बिहीबार दिउँसो उनकी श्रीमती घरमा चाबी लगाएर मेला(खेतीको काम)मा गएकी थिइन् । उनका छोराछोरी र छिमेकी बालबालिका भेला भएर घरमा खेल्दै थिए ।
खेल्ने क्रममा बालबालिकाहरुले घर नजिकैको अम्रिसो बारीमा एउटा खिया लागेको बस्तु भेटे । बट्टा जस्तो बस्तु देखेपछि घरमा ल्याएर खोल्ने प्रयास गरे, तर सकेनन् । त्यसपछि हम्मरले (गाउँले भाषामा टकटके) हानेर खोल्ने प्रयास गरे । हम्मरले हान्दा विस्फोट भयो ।
दिउँसो साढे ३ बजेतिर विष्फोटको आवाज सुनेपछि गाउँलेहरु भेला भए । घटनास्थलको दृष्य हृदयविदारक थियो । चार बालबालिका चारतिर छटपटाइरहेका थिए । अढाइ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन गम्भीर घाइते थिए ।
गाउँलेहरुले उपचारका लागि लगे । दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको उपचारको क्रममा मृत्यु भयो । एक जना घाइते बालकको सदरमुकाममा फिदिममै उपचार भइरहेको छ । अर्का एक बालक उपचारपछि घर फर्किएका छन् ।
फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र हाङ जबेगु बारीमा भेटेको बस्तु खोल्न खोज्दा घटना भएको बताउँछन् । ‘घटनापछि कहाँबाट ल्यायौ भनेर सोधीखोजी गर्दा नजिकै अम्रिसो बारीमा भेटेको भनेका छन्, त्यहाँ गएर खोज्दा अर्काे बम पनि भेटियो,’ माओवादी केन्द्रका नेतासमेत रहेका जबेगुले भने, ‘यो बम द्वन्द्वकालकै जस्तो देखिन्छ ।’
उनका अनुसार त्यही ठाउँमा अर्को एउटा नपड्किएको बम भेटियो । नपड्किएको बम घरेलु हो । तर हिँजो पड्किएको बम कस्तो खालको हो भन्ने खुलेको छैन । घटनास्थल आसपास अरु पनि बम छन् कि भनेर खाजी भइरहेको छ ।
पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार बारीमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । डिस्पोजका क्रममा बम ह्याण्डमेड सकेट रहेको खुलेको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा हिजो बिस्फोट भएको पनि ह्याण्डमेड सकेट नै रहेको देखिएको उनले बताए । ‘डिस्पोज गरेको बम ह्याण्डमेड सकेट हो, बिस्फोट भएको पनि ह्याण्डमेड सकेट हो भन्नेछ,’ उनले भने, ‘कति वर्ष पुरानो हो भन्ने फरेन्सिक जाँच पछि खुल्छ ।’
बम विष्फोट भएको घर आइतराज केरुङको हो, उनी माओवादी केन्द्र सशक्त संघर्षमा हुँदा पार्टी कार्यकर्ता थिए । ०६२ सालयता भने उनी सदरमुकाम फिदिममा व्यवसाय गरेर बस्छन् । उनको खाली रहेको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्छ, उनी भन्दा अगाडि दिलिप सावाको परिवार बस्थ्यो ।
माओवादी कार्यकर्ताको घर नजिकै खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै रहेको प्रहरी स्रोत बताउँछ । ‘त्यति बेला कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘पहिले (द्वन्द्वकालमा) त्यो माओवादीको चहलपहल हुने क्षेत्र पनि हो ।’
प्रहरी नायव उपरीक्षक भण्डारीले पुरानो र खिया लागेका कारण बम द्वन्द्वकालकै हुनसक्ने बताए । कति वर्ष पुरानो हो भन्ने चाहिँ नेपाली सेनाले फरेन्सिक जाँच गरेपछि मात्रै थाहा हुने उनले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4